संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा अवलोकनकर्ताको घुइँचो लागेको छ । गएको फागुन १७ गतेबाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले अन्तर्गत भिन्न भिन्न विषयवस्तु समेटेर क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् ।
२०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु भएको थियो । फागुन १७ बाट प्रत्यक्ष सहभागिता सुरु भएको ट्रिएनाले चैत १७ सम्म चल्नेछ । काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकको भनाइ छ ।
काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले उक्त साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुआत भनेको छ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको थियो । ‘अकल्पनीय विश्वव्यापी चुनौतीको सामना गर्नुपरेको यस अवस्थामा यो साझेदारी हाम्रो विविधतापूर्ण समाजको उत्थानका लागि संस्कृतिले खेलेको भूमिकाप्रतिको आभारोक्ति हो । यसका साथै, यो साझेदारी अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति विस्तार गर्ने सम्भावनाको प्रमाण पनि हो,’ फाउन्डेसनले भनेको छ ।
उक्त सहकार्यका बारे निर्देशक संगीता थापा भन्छिन्, ‘नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरु प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न यस सम्झौताले थप अवसर प्रदान गर्नेछ । वस्तुगत, सुरक्षित र समावेशी ट्रिएनालेले नेपालको कला क्षेत्रमा दिगो तथा सकारात्मक प्रभाव पार्न सक्छ । यस्तो कार्यक्रम प्रस्तुत गर्नका लागि हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग फलदायी सहकारिताको अपेक्षा गर्दछौँ ।’
ट्रिएनालेको चौथौं संस्करणको क्यरुेटोरियल टिममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक तथा क्युरेटर रहेका कस्मिन कोस्टिनास र सह–क्युरेटरद्वय हितमान गुरूङ र शीलाशा राजभण्डारी छन् । संस्थापक अध्यक्षका रुपमा संगीता थापा र कार्यक्रम निर्देशक शरारे बज्राचार्यले दिशानिर्देश गर्ने ट्रिएनाले उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र युरोकेन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही हुने विमर्शले निर्देशित हुने बताइएको छ । ‘अनगिन्ती कलात्मक, सामाजिक तथा सामुहिक कथा र संकथनको मिलनबिन्दुका रुपमा रहेको यो गौरवपूर्ण कार्यक्रम नेपाल मात्र नभई विश्वका ४० भन्दा बढी देशका स्थानीय र सिमान्तकृत कलापरम्पराका कलाकृति प्रदर्शनको थलो समेत हो,’ विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना भएको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२० मा गार्डेन अफ सिजनस नामक प्रदर्शनी हङकङमा सञ्चालन भइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस