पाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई गाडी लगायत विलासी वस्तु आयातको लागि प्रतीतपत्र (एलसी) नखोल्न अनौपचारिक निर्देशन दिएको छ ।
केन्द्रीय बैंकका अधिकारीहरूले सोमवार २७ ओटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । विदेशी मुद्राको सञ्चिति दिनदिनै घटेपछि राष्ट्र बैंकले यो कदम चालेको हो । राष्ट्र बैंकसँग अब ६ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा पनि नभएको बताइन्छ ।
एक वाणिज्य बैंकका सीईओले राष्ट्र बैंकले गाडी लगायत विलासी वस्तु आयातको एलसी नखोल्न अनौपचारिक निर्देशन दिएको बताए । ‘अब हामी केन्द्रीय बैंकको निर्देशनअनुसार गर्छौं,’ उनले भने ।
राष्ट्र बैंकले एलसी नै रोक भनेर औपचारिक निर्देशन दिन मिल्दैन । सोही कारण सीईओलाई बोलाएर अनौपचारिक निर्देशन दिएको हो । सोमवारको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकाल, अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ र विदेशी विनिमय विभाग प्रमुख रामु पौडेल र बैंकका सीईओहरु सहभागी थिए ।
परिस्थिति सहज हुँदै गएपछि एलसी खोल्न सकिने पनि केन्द्रीय बैंकका अधिकारीहरुले बताए । बैंकहरूलाई सीडी रेसियो ९० प्रतिशतभन्दा तल ल्याउन पनि भनिएको छ । राष्ट्र बैंकले दर्जनौं वस्तुको एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था यसअघि नै गरेको छ ।
आर्थिक अभियान दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस