Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता वस्तुमा प्रतिबन्ध लाग्ने, के आयात रोक्दैमा अर्थतन्त्र लयमा फर्कन्छ ?

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १७ : १६ मा प्रकाशित

यस्ता वस्तुमा प्रतिबन्ध लाग्ने, के आयात रोक्दैमा अर्थतन्त्र लयमा फर्कन्छ ?

पछिल्लो समय नेपालको अर्थतन्त्रको विषयलाई लिएर चर्को बहस सुरु भएको छ । अर्थविद्हरु अर्थतन्त्र एकदमै खराब अवस्थामा रहेकाले समयमै सही कदम चाल्न नसके गम्भिर दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । 

त्यस्तै नेपाल राष्ट्र बैंक समेत अर्थतन्त्रको पछिल्लो अवस्थालाई लिएर तातिएको छ । अहिले देशको अर्थतन्त्र गम्भिर मोेडमा पुगेको निष्कर्ष निकाल्दै यसको समाधानका उपाय सहित राष्ट्र बैंकले अर्थमन्त्रालयलाई सुझाव समेत दिइसकेको छ । तर  पनि सरकार यो कुरामा जसरी जागरुकताका साथ लाग्नुपर्ने हो त्यसरी नलागेको अर्थशास्त्रीहरुको आरोप छ । अहिले सरकार अर्थतन्त्रमा देखिएको संकट समाधान तर्फ भन्दा पनि राजनितीक गतिविधिमा बढि लागेको भन्दै चर्को विरोध समेत हुने गरेको छ ।

नेपाली नागरिकका दैनिक आवश्यकताहरूको परिपूर्ति गर्न विदेशबाट वस्तु तथा सेवाको आयात गर्नु अपरिहार्य भइरहेको छ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ । यदि विदेशी मुद्राको अभाव हुन गएमा विदेशबाट वस्तु तथा सेवा किनेबापतको भुक्तानी गर्न कठिनाइ पर्दछ ।

यसरी विदेशी मुद्राको सञ्चिति घट्दै गएमा भविष्यमा अति आवश्यक सामाग्रीहरु समेत आयात गर्न नसकिने अवस्थाको र्सिजना हुनसक्छ जसरी अहिले श्रीलंकाले परिक्षाका लागि कागज आयात गर्न र अतिआवश्यक औषधीहरु समेत आयात गर्न सकिरहेको छैन भविश्यमा नेपालमा पनि यहि अवस्था आँउछ कि भन्ने डर आम जनतामा देखिन्छ तर अर्थविद्हरु भने श्रीलंका र नेपालको अर्थतन्त्रको प्रकृति नै भिन्न भएकोले त्यस्तो अवस्था नआउने दावी गर्छन् । 

स्वदेशी उत्पादनमा अपेक्षित रूपमा वृद्धि नहुनु, वैदेशिक रोजगारीमा जाने नेपालीको सख्ंया घट्दै जानु, सेवा क्षेत्रको भ्रमण व्ययमा उच्च वृद्धि हुनु, उच्च शिक्षाका लागि विदेश पलायन हुने प्रवृत्तिले बढावा पाउनु, आयातमा उच्च वृद्धि हुनु, निर्यात प्रर्वद्धन हुन नसक्नु र कोभिडका कारण विश्वव्यापी रुपमा अर्थतन्त्रमा समस्या आउँदा रेमिट्यान्स घट्नु जस्ता कारणहरुले अहिले हाम्रो देशमा विदेशी मुद्रा सञ्चिति दिन प्रतिदिन घट्दा अवस्थामा छ । कोभिड महामारीकाबीचमा नेपालसंग करिब १५ महिनासम्म लाई आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिती थियो तर अहिले त्यो घटेर ६ महिनको हारहारीमा पुगेको तथ्याङ्कले देखाँउछ । 

गत साउन महिना यता नेपालको आयात क्षेमता हरेक एक महिनामा १५ दिनका दरले घटिरहेको देखिन्छ । यदि अहिलेकै अवस्था रहिरहने हो भने आगामी असार महिना सम्ममा नेपालमा विदेशी मुद्रा सञ्चिति ४ महिनाको आयातलाई मात्र धान्ने छ । फागुन समान्तसम्ममा नेपालमा ९ खर्ब ४० अर्ब रुपैयाँ बराबरको बिदेशी मुद्रा सञ्चिति रहेको देखिन्छ । 

विदेशी मुद्रा बढाउन वा जोगाउन अहिले राष्ट्र बैंकले आयातलाई कडाई गर्ने निती लिएको छ । यसले केहि हदसम्म विदेशी मुद्राको सञ्चितिमा देखिएको समस्या त समाधान होला तर यसरी आयातलाई नियन्त्रण गर्दा सरकारको राजस्व आम्दानी घट्न गई कर्मचारीहरुले तलब समेत खुवाउन नसक्ने अवस्था आउन सक्छ भने अर्को तर्फ हाम्रोजस्तो आयातमा र्निभर देशमा दैनिक उपभोग्य सामाग्रिहरुको अभाव हुँदा महंगीले जनताहरु प्रताडित हुनेछन् । 

राष्ट्र बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका सिईओहरुलाई डाकेर बिलासीताका बस्तुहरु आयात गर्नका लागि प्रतितपत्र जारी नगर्न मौखिक निर्देशन नै दिइसकेको छ भने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्रीलाई २०७९ असार मसान्तसम्मका लागि गाडी र मोटरसाईकल जस्ता कुराहरुको आयातमा प्रतिबन्ध लगाउन पर्ने सहितकमा १५ बुँदे सुझाव नै दिइसकेका छन् । 

यसअघि पनि राष्ट्र बैंकले करिब १४०० हारहारीका बस्तुको आयातलाई निरुत्साहित गर्न आयातकर्ताले सामान्य अवस्थामा भन्दा बढि रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । पुस पहिलो सातादेखि नै आयातमा कडाई गर्ने निती लिइएको भएतापनि त्यसको प्रभाव अपेक्षाकृत ढंगले नभएपछि राष्ट्र बैंकले थप कडाईको निती लिएको हो । 

यी हुन् राष्ट्र बैंकले आयातमा थप कडाई गरेका वस्तुहरुः 

१) खाद्य सामाग्री: 

यसमा धान चामलदेखि चकलेटसम्म पर्दछन् । पछिल्लो समय मसिनो चामलको आयातमा बृद्धि भएपछि यसलाई नियन्त्रण गर्न खोजिएको हो । यससँगै माछा, मदिरा, चिप्स, दुग्धजन्य पदार्थ, अण्डा तरकारी तथा गेडागुडी, चिया, कफिजस्ता बस्तुहरुको आयातमा कडाइ गरिनेछ । 

२) लत्ताकपडाः
रेडिमेड कपडाको आयातमा बर्षेनि धेरै रकम बाहिरिएपछि राष्ट्र बैंकले लत्ताकपडाको आयातलाई रोक्ने निती लिएको हो । रेडिमेड कपडामात्र नभएर धागो, जुत्ता, चप्पल, छाता र तन्ना जस्ता कुराहरु पनि अब ल्याउन पाइने छैन । 

३) सवारी साधनः
गाडीको आयातमा यसअघि नै कडाइ गरेको थियो । आयातमा मार्जिनको व्यबस्था गर्दासमेत आयालाई नियन्त्रण गर्न नसकेपछि यसलाई रोक्ने निर्णयमा राष्ट्र बैंक पुगेको हो । चालु आर्थिक वर्षको आठ महिनासम्ममा ७५ अर्ब रुपैयाँ बराबरको सवारी साधान र तिनका पार्टसहरु आयात भएको देखिन्छ जुन गत बर्षको तुलनामा २१ प्रतिशतले बढी हो । 

कडाइ गर्दा समेत आयातमा २१ प्रतिशले बृद्धि भएपनि अहिले राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मका लागि गाडी र मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लगाउन सुझाव दिएको छ । 

४) गरगहनाः
राष्ट्र बैंकले गरगहनाको आयातमा पनि कडाई गर्न भनेको छ । सुन चाँदीको आयातलाई निरुत्साहित गर्ने उद्देश्यले पुस पहिलो सातादेखि नै यस्ता वस्तुको आयातमा १०० प्रतिशत मार्जिनको व्यवस्था गरिएको थियो यसरी पनि आयात नघटेपछि यसलाई रोक्ने निर्णयमा पुगिएको हो । यो आर्थिक बर्षको ८ महिनाको अवधिमा नेपालमा २८ अर्ब १७ करोडको सून र १२ अर्ब ८० करोड रुपैयाँ बराबरको चाँदी आयात भइसकेको छ । 

५) सौन्दर्यका सामाग्रीहरुः
राष्ट्र बैंकले परफ्युम, कस्मेटिक्स सामानहरु, दाँतमा लगाउने तार, लुगा धुने पाउडर, साबुन, मोती बहुमूल्य ढुंगा लगायतका विभिन्न सौन्दर्य साधानहरुको आयातलाई नियन्त्रण गरिनेछ । 

६) निर्माण सामाग्रीः 
फर्निचर लगायतका विभिन्न काठका बस्तुहरु, सजावटका सामाग्रिहरु, मार्बल, सिमेन्ट, सेरामिकका सामान, ढुंगाको सिमेन्ट लगायकतका निर्माण सामाग्रि पनि आयात गर्न पाइने छैन । 

७) अन्य वस्तुहरुः 
चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको तथ्याङ्कले देखाँउछ । अब मोबाइल, खेलौना, खेलकुदका सामाग्री, चुरोट, सुर्तीजन्य वस्तु, घडी, प्लाष्टिक र प्लाष्टिक जन्य अन्य बस्तुहरु पनि अब मनलाग्दी रुपमा आयात गर्न पाईने छैन ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको