Like us!
Follow us!
Connect us!
Watch us!

'यो बुलमा ठूला नै फसेका छन; आफू उम्किनलाई एक चरण बजार राम्रै बढाउनेछ्न'

बसन्त पाण्डे

विहीबार, १५ बैशाख २०७९, ०७ : ३० मा प्रकाशित

'यो बुलमा ठूला नै फसेका छन; आफू उम्किनलाई एक चरण बजार राम्रै बढाउनेछ्न'

केशव  कोइराला 'काका' सेयर बजारका खरो विश्लेषकका रुपमा परिचित छन। नेपालका प्राय: विश्लेषकहरु आफू अनुकुल हुने विश्लेषण गर्छन र बजारमा सोहि किसिमको 'माइन्ड सेट' बनाउने प्रयास गर्छन भन्ने आरोप लाग्ने गर्दछ। तर काका विश्लेषकहरुको त्यो भिडभन्दा अलग रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन। बजारका ठूला भनिएका लगानीकर्ताहरुसँग पनि राम्रो सम्बन्ध रहेका काका साना लगानीकर्ताहरुसँग पनि उत्तिकै नजिक छन। ठूला र साना यी दुबै वर्गका लगानीकर्ताहरुको मनस्थितिलाई राम्ररी अध्ययन गरेका कारण उनको विश्लेषण यथार्थपरक हुने गरेको प्राय: लगानीकर्ताहरुको अनुभव छ। सेयर बजारमा दशकौँ लामो अनुभव बोकेका उनले बजारका धेरै आरोह अवरोहहरुलाई नजिकबाट नियालेका छन। वियरिस बजारको पिडा राम्रैसँग भोगेका उनी सोहि पिडाको भागिदार साना लगानीकर्ताहरु नबनुन भन्ने आफ्नो चाहना रहेको र सोहि कारण आफूले पटक पटक नयाँ तथा साना लगानीकर्ताहरुलाई सचेत गराउँदै आएको बताउँछन।

बजारको पछिल्लो अवस्था, खुम्चिएको कारोबार रकम र बजार अब कहिले बढ्ला भन्ने सन्दर्भमा हामीले काकासँग केहि प्रश्न गरेका छौं। 

कारोबार रकम १ अर्बमा खुम्चिसक्यो, बजारमा पैसै नभएर हो ?

बजारमा पैसा छैन म भन्दिन। ठूला लगानीकर्ताहरुसँग पैसा छ। यो पटकको बुलमा ठूला लगानीकर्ताहरु पनि धेरै फसेका छन। उनीहरुले बजार माथि माथि हुँदा बेच्न सकेनन। अहिलेको अवस्था के हो भने ठूलालाई यो बेला किनेर नाफामै बेच्न सकिन्छ भन्ने कन्फ़िडेन्स आएको छैन। प्राय: ठूला लगानीकर्ताको मनस्थिति अहिले कस्तो छ भने एक चरण बजार तल आउँदा एभ्रेजिङ्ग गर्ने अनि बजार माथि जाँदा सबै फाल्ने। तर बजार माथि लगिदिने कस्ले ? बजारलाइ डोहोर्याउनु पर्ने ठूला नै अरुले बजार बढाईदिए बेचौँला भन्ने ताकमा छन।  

अहिले बजारमा हुने गरेको १ अर्ब हाराहारीको कारोबार ट्रेडरहरुको हो। ट्रेडरहरुले किनेर बजार बढ्दैन। किनेको ७२ घण्टामा सेयर फाल्नेहरुले किनेर बजार माथि जाने भन्ने कुरा मलाई त्यत्ति सान्धर्भिक लाग्दैन। अहिलेको परिस्थिति कस्तो देखियो भने ठूला लगानीकर्ताहरुले किन्न पनि चाहेका छैनन, यो मूल्यमा उनीहरु बेच्न पनि चाहंदैनन। बजार बढ्न ठूलो पुँजी नै बजारमा आउनुपर्छ जुन अहिले आउन सकेको छैन।उनीहरुसँग पैसा  नभएको होइन, पैसा छ तर त्यो पैसा पनि बजारमा फस्ला कि भन्ने चिन्ता उनीहरुमा छ। त्यहि भएर उनीहरु अहिलेकै अवस्थामा बजारमा छिर्न चाहेका छैनन्। उनीहरु बजार छिर्ने उचित अवसर कुरेर बसेका छन।  

ठूला लगानीकर्ता कहिले छिर्लान त बजारमा ?

हेर्नुस, ठूलाले लाखौँ कित्ता किन्ने योजना बनाएका हुन्छन। किनेपछि बेच्नु त पर्यो ! अहिले १० हजार कित्ता पनि एकैपटक बेच्न गार्हो छ। हामी किनेर मूल्य त माथि लैजाउँला तर माथितिर किन्नेहरु आईदिएनन भने के गर्ने भन्ने चिन्ता अहिले उनीहरुमा देखिन्छ। जब बजारमा सबै कुरा राम्रो भयो, अब सबै ठिक हुन्छ अब चाहिँ बजार बढेर माथि नै जान्छ भन्ने माहोल सिर्जना गर्न सकिन्छ भन्ने कन्फ़िडेन्स आउँछ अनि ठूला लगानीकर्ताहरु बजारमा छिर्नेछन।  

त्यस्तो समय कहिले आउला ?

भाद्र महिनासम्ममा त्यस्तो वातावरण बन्ला भन्ने मेरो अनुमान छ। 

त्यसोभए भाद्रसम्ममा ३२०० ब्रेक होला त ?

३२०० नै ब्रेक होला जस्तो त मलाई लाग्दैन।  तर २८०० देखि ३००० को आसपास बजार पुग्न सक्ने सम्भावना मैले देखेको छु।

चुनावमा बजारमा पैसा आउँछ अनि तरलता सहज हुन्छ भन्ने अनुमान विपरित बैंकबाट पैसा बाहिरिन पो थाल्यो, किन यस्तो भयो ?

राजनीतिक दल तथा नेताहरुले लुकाएर राखेको कालो धन बाहिर आउँछ र सर्वसाधारणको हातमा आईसकेपछि त्यो पैसा फेरी बैंकिंग च्यानलमा गई  तरलतामा वृद्धि देखिनेछ भन्ने विश्लेषण हो।  त्यतो हुन्छ पनि। तर त्यो संघिय चुनावताका हुनेछ।  स्थानीय चुनावमा खासै कालोधनको प्रयोग नहोला। अहिले बैंकिंग प्रणालीबाट पैसा बाहिरिएको पनि त्यहि चुनावी खर्चकै लागि हो।  त्यो पैसा यहि महिनाभित्रै फेरी बैंकिंग च्यानलमा फर्किनेछ। यो महिनाको अन्त्यमा तरलतामा केहि सहजता आउन सक्ने सम्भावना छ। 

यतिखेर आफ्ना फलोवरहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?

क्यासमा हुने ट्रेडर साथीहरुले आफ्नो जोखिम क्षमता अनुसारको रणनिती बनाउनुहोला। जो सँग खातामा सेयर छ उहाँहरुलाई चाहिँ २५०० तल सेयर नबेच्न नै सुझाव दिन्छु।  बजार पटक पटक २५०० माथि जानेछ।  त्यो भनेको २६००/२७०० वा त्यो भन्दा पनि माथिको बिन्दु हुनेछ।  अहिले २२/२३ सयको लाइनमा सेयर बेचेर भाग्नुपर्ने अवस्था होइन। बजारमा ठूला लगानीकर्ताहरुको सप्लाई अहिले आउँदैन। मैले अघिनै भनिहाले, ठूला किन्ने ताकमा छन। एक चरण बजार राम्रै अंकले बढ्नेछ। अब २/३ महिना प्रतिक्षा गर्नुभयो भने राम्रो मूल्यमा सेयर बेच्ने अवसर प्राप्त हुने मैले देखेको छु।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको