Like us!
Follow us!
Connect us!
Watch us!

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?

पत्रपत्रिका

बुधबार, ११ जेठ २०७९, ०५ : ४० मा प्रकाशित

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?

प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।

निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाए पनि मतदाताले भने अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । श्रीमती सिर्जना सिंहलाई उनले पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि काठमाडौं महानगरका मतदाताले अस्वीकार गरेका छन् ।

काठमाडौं महानगरको मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । शाहले ५० हजार ३० मत ल्याउँदै गर्दा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेत्री सिर्जना श्रेष्ठ ३० हजार ७ सय ६७ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् । एमालेका नेता एवं काठमाडौंका पूर्वमेयरसमेत रहेका मेयरका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी थिइन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए ।

तिलोत्तमा नगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेस नेता रामकृष्ण खाँणले १७ हजार ५ सय ४३ मत ल्याएर अग्रता लिइरहेका छन् । खाँणलाई एमालेका उम्मेदवार मोहन चापागार्इंले १६ हजार ६ सय ५९ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, कांग्रेस नेता मोहन बस्नेतले आफ्ना भाइ बालकृष्ण बस्नेतलाई सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । बस्नेतले ७ हजार ७ सय २८ मत ल्याएर विजयी भइसकेका छन् । बाह्रविसेमा एमालेका उम्मेदवार निम फुन्जो शेर्पाले ५ हजार ४ सय ३३ मत ल्याएर दोस्रो भएका छन् ।

कांग्रेसले स्थानीय तहसम्बन्धी जारी गरेको घोषणापत्रमा स्थानीय तहका जनप्रतिनिधिले मनोनीत गर्दा आफ्नो परिवारका सदस्यलाई नराख्ने उल्लेख गरेको थियो । तैपनि केन्द्रमा राम्रो प्रभाव हुनेले पालिकामा उम्मेदवार बनाउनका साथै विजयी गराउनसमेत सफल भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । रेणु ५२ हजार ३० मत ल्याएर मेयरमा विजयी भइसकेकी छन् । गत निर्वाचनमा समेत मेयरमा विजयी रेणु सत्तारूढ पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेकी हुन् । रेणुका प्रतिस्पर्धी रहेका एमाले नेता विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याएर दोस्रो भएका छन् ।

उता सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा भाइ कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएका थिए । सापकोटा ११ हजार ७२ मत ल्याएर मेयरमा विजयी भइसकेका छन् । सापकोटाका प्रतिस्पर्धी रहेका एमाले नेता इन्द्रबहादुर नेपालले ६ हजार ७ सय ८५ मत ल्याएर दोस्रो भएका छन् । पाँच दलीय गठबन्धनबाट माओवादीको कोटामा सो नगरपालिका पारेर सभामुख सापकोटाले भाइलाई नै टिकट मिलाइदिए थिए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले समेत आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाए । तर, विराटनगरका मतदाताले उनलाई पत्याएनन् ।

विराटनगर महानगरपालिकाको पार्टी अध्यक्षसमेत रहेका अमरेन्द्रले सुरुमा मेयरको दाबी गर्दै आएका थिए । तर, पाँच दलीय गठबन्धनमा मेयर कांग्रेसको भागमा परेपछि उपेन्द्रले छोरा अमरेन्द्रलाई उपमेयरमा टिकट मिलाइदिए । मेयरमा दाबी गर्दै आएका अमरेन्द्र उपमेयरमा समेत विजयी हुन सकेनन् ।

अमरेन्द्रले १४ हजार २ सय १९ मत ल्याएर पराजित भएका छन् । अमरेन्द्रका प्रतिस्पर्धी एमाले नेत्री शिल्पा कार्कीले २५ हजार ६ सय ८० मत ल्याएर उपमेयरमा विजयी भएकी छन् । तर, विराटनगरमै पाँच दलीय गठबन्धनतर्फबाट मेयरका उम्मेदवार रहेका कांग्रेस नेता नागेश कोइराला विजयी भएका छन् ।

यसैगरी, जसपाबाट मधेस प्रदेशका मुख्यमन्त्री भएका लालबाबु राउतले श्रीमतीलाई गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनाए । तर, विजयी गराउन सकेनन् । पर्साको जगरनाथपुर गाउँपालिकाको उपप्रमुखमा लालबाबुले श्रीमती जलेखा खातुनलाई उम्मेदवार बनाए पनि उनले ३१ सय २३ मत ल्याएर तेस्रो स्थान बनाइएकी छन् । कांग्रेस नेत्री बबिता सिंहले ५५ सय ३१ मत ल्याएर उपप्रमुखमा विजयी भएकी छन् ।

राजधानी दैनिकमा समाचार छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको