Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई धुरुधुरु रुवाएर बिमा समितिका अध्यक्ष विदेश भ्रमणमा

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, १७ : ३२ मा प्रकाशित

लगानीकर्तालाई धुरुधुरु रुवाएर बिमा समितिका अध्यक्ष विदेश भ्रमणमा

बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल माल्दिभ्स पुगेका छन्। निर्जीवन बिमा कम्पनीहरुका सीईओहरु पनि माल्दिभ्स पुगेका छन्। नेपाल पुनर्बिमा कम्पनीको ब्रोकर जेबी बोदाले आयोजना गरेको पुनर्बिमा सम्बन्धि तालिममा भाग लिन भन्दै उनीहरु माल्दिभ्स पुगेका हुन्। मंगलबारबाट सुरु भएको तालिम कार्यक्रम शनिबारसम्म चल्ने बताईएको छ। तालिम भनिएतापनि रिफ्रेशमेन्टको लागि कार्यक्रमको आयोजना गरिएको स्रोतको दाबी छ। 

तालिम भन्दै ५ दिनको लागि बिमा समितिका अध्यक्ष मुलुक बाहिर गएको कुरालाई लिएर लगानीकर्ताहरुले भने असन्तुष्टि व्यक्त गरेका छन्। 'मर्जका नाममा बिमा कम्पनीहरुको सेयर कारोबार रोकिँदा लगानीकर्ताहरु मारमा परिरहेको बेला त्यो इस्युलाई पटक्कै ध्यान नदिई तालिमको नाममा बिमा समितिका कार्यकारीहरु बाहिरिनुले समितिको नेतृत्वमा जिम्मेवारीबोध नरहेको स्पष्ट हुन्छ' एक लगानीकर्ताले अर्थसंसारसंग गुनासो पोखे।  

बिमा समितिले जीवन र निर्जीवन दुवै सेक्टरका कम्पनीहरुको पुँजी एक बर्षको समयभित्रै २.५ गुणा बढाउन निर्देशन दिएपछि बिमा कम्पनीहरु एक आपसमा गाभिन थालेका छन्। अहिले निर्जीवनतर्फ २ वटा र जीवनतर्फका ३ वटा कम्पनीहरुले एक आपसमा गाभिने सम्झौतामा हस्ताक्षर गरेसंगै ति कम्पनीहरुको सेयर कारोबार रोक्का छ। बिमा समितिका कुनै पनि निर्देशिका तथा विनियमावलीहरुमा मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का राख्ने कुरा उल्लेख नगरिएको अवस्थामा मर्जरको नाममा बिमा कम्पनीहरुको सेयर कारोबार रोक्का हुनु गैरकानुनी रहेको भन्दै सो विषयमा बिमा समितिले भूमिका खेल्नुपर्ने माग लगानीकर्ताहरुले निरन्तर रुपमा राख्दै आएका छन्। अन्तराष्ट्रिय सेयर बजारहरुमा दशकौं पहिलेदेखि अभ्यासमा रहेका इन्ट्रा डे ट्रेडिङ्ग, शर्ट सेलिङ्ग, फ्युचर अप्सनजस्ता कुराहरुको अभ्यासमा ल्याउनु त कता हो कता विश्वमा कहिँकतै अभ्यासमा नरहेको मर्जर तथा एक्विजिसनमा लामो समय कारोबार रोक्का गर्ने नियम नेपाली पुँजीबजारमा अझै रहनुले नेपाली पुँजीबजार ढुंगे युगमै रहेको पुष्टि गर्दछ। 

खासमा यो विषय लगानीकर्ताहरुले उठाउनुपर्ने विषय नै होइन। नियामकहरुले यस्ता अव्यवहारिक नियम लागू गर्नुअघि यसले बजारमा कस्तो असर गर्छ भनेर सोच्नुपर्ने हो। यस्तो संबेदनशील विषयमा बिमा समितिबाट केहि पहल नहुँदा लगानीकर्ताहरु निराश भएका छन। धितोपत्र बोर्डले सम्बोधन गर्नुपर्ने कुरा भएपनि धितोपत्र ऐनमा यस्ता विषयहरुमा सम्बन्धित कम्पनीका नियामकहरुले निर्देशन गरेअनुसार हुने उल्लेख गरिएको छ। बिमा कम्पनीहरुको नियामक बिमा समिति भएको हुँदा बिमा समितिको एउटा पत्रले रोक्का रहेका कम्पनीहरुको कारोबार खुल्न सक्छ। यस्ता कुराहरुलाई अलिकति पनि सम्बोधन गर्न नचाहने बिमा समितिका कार्यकारीहरु खासै महत्वपूर्ण नरहेको एउटा सामान्य कार्यक्रममा भाग लिन साता दिनको लागि मुलुक बाहिर जानुले त्यति राम्रो संकेत चाहिँ गर्दैन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको