Like us!
Follow us!
Connect us!
Watch us!

‘नेप्से ५/६ हजार पुग्छ भन्ने विश्लेषकहरुले नयाँ लगानीकर्ताहरुलाई डुबाए’

डा. बिजन भट्टराई

अर्थ संसार

सोमबार, ०६ असार २०७९, १८ : ११ मा प्रकाशित

‘नेप्से ५/६ हजार पुग्छ भन्ने विश्लेषकहरुले नयाँ लगानीकर्ताहरुलाई डुबाए’

सेयर लगानीकर्ताहरु आन्दोलनमा हुनुहुन्छ । सेयर बजार सुहाउँदो नीति ल्याउनुपर्यो भन्ने लगानीकर्ताहरुको माग आफ्नो ठाउँमा जायज छ। तर सरकार र राष्ट्र बैंकले पोलिसी बनाउँदा सेयर बजारलाई मात्रै भन्दा पनि समग्र अर्थतन्त्रको अवस्था र आवश्यकतालाई केन्द्रमा राख्नुपर्ने हुन्छ। अहिले सेयर बजार यसरी घट्नुमा लगानीकर्ताहरु पनि उत्तिकै जिम्मेवार छन्। घाटामा चलिरहेका र लगानीकर्ताहरुलाई प्रतिफल दिन नसकेका कम्पनीहरुको मूल्य निकै माथि पुग्यो। मुलुकको अर्थतन्त्र र कम्पनीको आम्दानी, कम्पनीले दिने प्रतिफलको विश्लेषण नगरी अरुको लहै लहैमा यो कम्पनीलाई त यति पुर्याउने रे भनी गरिएको लगानीले एक न एक दिन घाटा त गराउनु नै थियो।  

सेयर विश्लेषकहरु पनि त्यत्तिकै दोषी छन्। नाम त नलिऊँ, बजार ५०००/६००० पुग्छ; भारतको बजार ५० हजार भन्दा माथि छ, हाम्रो बजार पनि कम्तिमा ५००० माथि पुग्छ भन्ने विश्लेषणले लगानीकर्ताहरुमा एक किसिमको आश र लोभ पैदा गरायो। जे भए पनि बजार ५००० माथि नै जाने हो भन्ने मनोभावना विकास गरायो। बजार ३२०० को लेभलमा पुग्नुपर्ने हाम्रो फ़ण्डामेण्टल्स पनि छैन। हाम्रा प्राय: कम्पनीहरुको त्यत्रो ठुलो छलाङ्ग मारेर त्यत्रो ठूलो रिटर्न दिनसक्ने क्यापासिटी पनि छैन। त्यसैले अहिलेको घटाईलाई मैले स्वाभाविक रुपमै लिएको छु।  लकडाउनको अवधिमा पैसाको उपलब्धता सहज रुपमा हुँदा त्यसले बजारलाई निकै उचाईमा पुर्यायो। सबैतिरको पैसा सेयर बजारमा केन्द्रित हुँदा बढेको बजार लामो समय टिक्न सकेन।  

विश्वभरी नै मुद्रास्फीति बढेको छ। मुद्रास्फीतिलाई नियन्त्रणमा लिन केन्द्रिय बैंकहरुले ब्याजदर बढाईरहेका छन्। अमेरिकाकै उदाहरण दिनुपर्दा पछिल्लो 40 बर्षपछिकै सर्वाधिक मूल्यवृद्धि भएको छ। मुद्रास्फीति नियन्त्रण गर्न फेडेरल रिजर्भ बैंकले ब्याजदर बढाएको छ। रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थ तथा अन्नपातको मूल्य आकाशिएको छ। नेपालमा पनि महंगी निकै नै बढेको छ। भर्खरै मात्र पेट्रोलियमको मूल्य झन् बढेको छ। यसले पक्कै राम्रो गर्दैन। 

आर्थिक वर्ष २०७९/८० को बजेटमा गाउँ गाउँमा कृषि तथा साना उद्यमको लागि आवश्यक कर्जाको सहज उपलब्धता होस भन्ने उद्धेश्यले बजेटमा ५०० अर्बको लघुबित्त कोषको कुरा ल्याईएको छ तर त्यत्रो फण्ड कहाँबाट कसरी म्यानेज हुन्छ भन्ने कुराको चाहिँ प्लान गरेको देखिएको छैन। अर्को कुरा कृषि क्षेत्रमै लगानी गर्नको कृषि विकास बैंकको स्थापना गरिएको छ तर त्यसैलाई पनि राम्ररी व्यवस्थित गर्न सकिएको छैन। कृषि विकास बैंकको पोर्टफोलियो जम्मा २०० अर्बको छ। ५०० अर्बको लघुवित्त कोष निकै महत्वाकांक्षी कार्यक्रम जस्तो देखिन्छ। हाम्रो योजनाहरुको कार्यान्वन पक्ष निकै फितलो छ। बजेटमा उल्लेख भएको यो बुँदा कार्यान्वयनमा गयो भने त्यसको परिणाम पक्कै पनि राम्रै हुनेछ। विशेषगरी बैंक/वित्तिय संस्थाहरुबाट प्रवाह हुने कृषि कर्जाको सदुपयोग हुन सकेको छैन। विगत १० वर्षको डेटा हेर्ने हो भने कृषि ऋण व्यापक रुपमा बढेको छ। ऋण जुन रुपमा बढेको छ खोई त त्यो किसिमको उत्पादन ? खासमा के भयो भने कृषि कर्जाको सदुपयोग हुन सकेन। कृषिको नाममा लिईएको कर्जाको व्यापक दुरुपयोग भएको छ। कृषि गर्न भन्दै बैंकबाट ऋण लिने अनि काठमान्डौ वरिपरीका सहरमा टन्न जग्गा किन्ने , तराईमा कृषिकार्य गर्न भनेर जग्गा किन्ने तर कृषि नगर्ने बरु केहि समय होल्ड गरेर जग्गाको भाऊ मज्जाले बढिसकेपछि जग्गा बेच्ने अनि टन्न कमाउने प्रवित्ति देखिन्छ।  

अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि महंगी पनि घट्दै जानेछ। विस्तारै राम्रो माहोल बन्दै जानेछ। नेपालको अर्थतन्त्र पनि बलियो बन्दै जाने क्रममा सेयर बजार पनि उक्लिदै जान्छ। निष्कर्षमा भन्नुपर्दा अर्थतन्त्र राम्रो हुँदा सेयर बजार पनि बढ्छ। अर्थतन्त्र बलियो हुँदा बढेको बजार दिर्घकालिन पनि हुन्छ। 

(अर्थशास्त्री डा. बिजन भट्टराईसँग अर्थसंसारकर्मी बसन्त पाण्डेले गरेको कुराकानीमा आधारित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको