Like us!
Follow us!
Connect us!
Watch us!
आस्वा शुल्क कटौतीले सर्बसाधारण खुशी, पैसा बटुलेर कार्यालय चलाउने इमर्जिङ नेपाल जस्ता कम्पनीलाई मार

इमर्जिङ नेपालले चर्को आस्वा शुल्कबाट कार्यालय संचालन गर्ने रकम असुलेको खुलासा !!!

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १३ : ४० मा प्रकाशित

इमर्जिङ नेपालले चर्को आस्वा शुल्कबाट कार्यालय संचालन गर्ने रकम असुलेको खुलासा !!!

नेपाल धितोपत्र बोर्डले पब्लिक कम्पनीहरुले प्राथमिक सेयर निस्कासन (आइपिओ) गर्दा लिने चर्को शुल्क घटाएर प्रति आवेदन ५ रुपैयाँ मात्र लिन पाउने ब्यवस्था गरेको छ । यसले आइपिओ निस्कासन गरेर आस्वा शुल्क कुम्ल्याउने र त्यसैबाट कर्मचारी पाल्ने कम्पनीलाई भने समस्या पर्ने भएको छ । आइपिओ भर्ने लगानीकर्ताले पनि चर्को शुल्कबाट मुक्ति पाएका छन् । 

चर्को आस्वा शुल्कबाट कार्यालय संचालन गर्ने रकम असुल्ने यस्तै कम्पनी हो इमर्जिङ नेपाल । यस कम्पनीले माघ २६ देखि आइपिओ निस्कासन गरेको थियो । कम्पनीको आइपिओमा २३ लाख ३१ हजार २५८ जनाले आवेदन गरेका थिए । तीमध्ये कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य आवेदकमध्ये ५१ हजार ६७० जनाले न्यूनतम १० कित्ताको दरले र ८ जनाले ११ कित्ताका दरले शेयर पाएका थिए । 

इमर्जिङ नेपालले सेयर निस्कासन गर्दा बैंक तथा मर्चेन्ट बैंकरहरुले आस्वा शुल्कका नाममा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क असुल्न पाउँथे । बैंकहरुले बटुलेको रकममध्ये कम्तिमा १० रुपैयाँ निस्कासन तथा विक्री प्रबन्धकलाई बुझाउनु पथ्र्यो । त्यसबाट २ रुपैयाँ सिडिएस एण्ड क्लियरिंग लिमिटेडलाई बुझाउनु पर्छ । बाँकी भएको सबै रकम सेयर निस्कासन गर्ने कम्पनीले लिन्छ । यस हिसावले सेयर निस्कासन गर्ने इमर्जिङ नेपालले १ करोड ८६ लाख ५० हजार रुपैयाँ भन्दा बढी प्राप्त गरेको थियो । 

धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकले पाउने १० रुपैयाँबाट २ रुपैयाँ सिडिएस एण्ड क्लियरिंगलाई बुझाउने र बाँकी रहेको ८ रुपैयाँमा सेयर निष्काशन गर्ने कम्पनी र बिक्रि प्रबन्धकका बिचमा बार्गेनिङ हुने गरेको स्रोतको दावी छ । ‘आईपीओ निष्काशन गर्ने कम्पनीले पहिले नै बिक्रि प्रबन्धकलाई निष्चित रकम दिएको हुन्छ उसलाई सिआस्वा शूल्क बापत आउने पैसा फोकट जस्तै हुन्छ अति त्यहि पैसामा कम्पनी र बिक्रि प्रबन्धकमा बिचमा बार्गेनिङ हुन्छ’ उनले भने ‘कतिपय कम्पनीहरुले त बिक्रि प्रबन्धकले सिआस्वा शूल्क बापत पाउने रकमको ९० देखि ९५ प्रतिशत सम्म रकम बिक्रि प्रबन्धकबाट आईपिओ निष्काशनकर्ता कम्पनीले लिने गरेको पाईयो ।’  

अब धितोपत्र बोर्डले नियम परिवर्तन गरेसंगै धितोपत्र जारी गर्ने कम्पनीले यसरी कमाउने स्रोत समेत बन्द गरिदिएको छ । सेयर निस्कासन गर्दा लाखौं आवेदन पर्न थालेपछि राम्रो कमाइ हुने देखेर झल्लु कम्पनीले पनि सेयर निस्कासन गर्न थालेको एक सरकारी अधिकारी बताउँछन् । 

इमर्जिङ नेपालले आइपिओ निस्कासनका वेला सार्वजनिक गरेको विवरणपत्र अनुसार प्रमुख कार्यकारी अधिकृतलाई बार्षिक ६ लाख ७५  हजार रुपैयाँ र  कम्पनी सचिवलाई ३ लाख १६ हजार ७ सय ९२ रुपैयाँ तलव भत्ता दिने गरेको उल्लेख गरेको थियो । कम्पनीले आफ्नो वेवसाइटमा हेर्दा अहिले प्रमुख कार्यकारी अधिकृतसमेत नियुक्त भएको देखिँदैन । ब्यवस्थापन समुह भनेर दुई जनाको नाम छ । त्यसमा एक जना छन् प्रेम प्रसाद अर्याल । वेवसाइटमा उनको नाम बरिष्ठ अधिकृत, कम्पनी सचिव भनेर चिनाइएको छ । अर्का हुन् सहायक पदमा कार्यरत धिरज जोशी । अन्य कुनै पनि कर्मचारीको विवरण उल्लेख गरेको छैन । यसरी हेर्दा इमर्जिङ नेपालले आइपिओ निस्कासन गर्दा बटुलेको आस्वा शुल्कबाटै कर्मचारीको दशौं बर्षको तलव धान्ने देखिन्छ । 

फास्ट ट्रयाक, सुरङमार्ग, एयरपोर्ट, सडक, प्रविधि, जलविद्युत निर्माण, वितरण, पूर्वाधारसम्बन्धी वित्तीय संस्था, खानीलगायत व्यवसायका क्षेत्रहरूमा स्वदेशी तथा विदेशी संस्थाहरूसँग मिली अध्ययन अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, सञ्चालन गर्ने, सोसम्बन्धी परामर्शदाताको रूपमा इमर्जिङ नेपालले काम गर्ने उसको विवरणपत्र हेर्दा देखिन्छ । कम्पनीको बारेमा जानकारी दिने वेवसाइटमा भने उसको उद्देश्य अनुसार सेवा उपलब्ध गराउन सक्ने विज्ञहरुको कुनै विवरण देखिँदैन । 

इमर्जिङ नेपालको वेवसाइटका अनुसार कम्पनीको अध्यक्षमा पूर्वसचिव लालमणि जोशी छन् । कम्पनीको संचालकमा सरकारका तर्फबाट शोभाकान्त पौडेल, ब्यवसायिक घराना विशाल ग्रुपबाट अशोक कुरमा अग्रवाल, सिटी एक्स्प्रेसका चन्द्र टण्डन, विनेद आत्रेय र स्वतन्त्र संचालकमा लिमा आचार्य (अधिकारी) छन् ।

कम्पनीलाई रेटिङ प्रदान गर्ने निकाय इक्रा नेपालले सेयर निस्कासनका बेला डब्बल बी प्लस ग्रेडिङ दिएको थियो । यो कम्पनी लगानीका हिसाबमा मध्यम जोखिमयुक्त मानिन्छ । विकास निर्माणका क्षेत्रमा काम गर्दै आएको यो कम्पनीको शेयर पुँजी मात्रै ५० करोड रुपैयाँ थियो । प्राथमिक शेयर निष्कासनपछि कम्पनीको शेयर पुँजी ५५.५६ करोड हुनेछ । जगेडा तथा कोष पनि आर्थिक वर्ष २०७८/७९ मा प्रगति भएर ३.५३ करोड रहने कम्पनीको प्रक्षेपण छ । 

२०८०र८१ सम्मको प्रक्षेपित विवरणअनुसार कम्पनीले चुक्ता पुँजी यथावत् राख्ने  र शेयरधनी कोष बढेर ४.१८ करोड रुपैयाँ पुग्नेछ । 
पब्लिक कम्पनीले हरेक ३ महिनामा वित्तिय विवरण प्रकाशन गर्नु पर्छ । इमर्जिङ नेपालले न आफ्नो वेवसाइटमा त्यस्तो विवरण राखेको छ, न पत्रिकामा सार्वजनिक गरेको छ । धितोपत्र दर्ता तथा निस्कासन नियमावली, २०७३ को नियम २६ को उपनियम १ अनुसार त्रैमासिक रुपमा अवधि सकिएको तीन महिनाभित्र अनुसूची १४ बमोजिम यस्तो वित्तिय विवरण प्रकाशन गर्नु पर्छ । यस कम्पनीले अहिलेसम्म त्यस्तो विवरण प्रकाशन गरेको वेवसाइटबाट खुल्दैन ।

कम्पनीले कहाँ कति लगानी गरेको छ भनेर सेयर ५१ हजार ६७८ सर्वसाधारण सेयरधनीले थाहा पाउनुपर्छ । तर कम्पनीले आफ्नो कुनै कुरा पारदर्शि गराएको छैन । 

कम्पनीले आफ्नो पोर्टफोलियोमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, केयर रेटिंग नेपाल लिमिटेड, होटल एलिस द वण्डर इन लिमिटेड र बैंकिङ, फाइनान्स, एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल लिमिटेडलाइ र पिपुल्स इनर्जी उल्लेख गरेको छ । तर ती कुन कम्पनीमा इमर्जिङको कति लगानी भएको छ भनेर खुलाएको छैन । 

कम्पनीले आइपिओ निस्कासनका बेला प्रकाशन गरेको आह्वानपत्र हेर्दा कम्पनीको प्रतिशेयर आम्दानी पनि गत आवमा ६ रुपैयाँ ७७ पैसा थियो भने गत अघिल्ले अवमा २ रुपैयाँ ३२ पैसा थियो । चालु आवमा भने कम्पनीले ७ रुपैयाँ र आव २०८०/८१ सम्म ८ रुपैयाँ पुर्‍याउने उद्देश्य कम्पनीके छ ।

यसरी आम्दानी उल्लेख्य बढाउने अनुमानसमेन गर्न नसकेको कम्पनीको सेयर मूल्य भने बजारमा उचालिएर कारोबार भएको छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य ६९० रुपैयाँ छ । पछिल्लो ५२ साताको उच्चतम मूल्य हेर्दा यस कम्पनीको सेयर १४८१.९० मा कारोबार भएको देखिन्छ । ७ रुपैयाँ हाराहारिको सेयर मूल्य भएको कम्पनीको सेयर मूल्य यति धेरै हुनु थोरै कित्ता सेयर बजारमा रहेकाके भनेर चलखेल गरिएको बुझ्न सकिन्छ । नाफा कमाएर लगानीकर्तालाई लाभांश बाँड्न नसकेपनि इमर्जिङ नेपालका संस्थापकहरुले आइपिओ निस्कासन गरेर दुई चार बर्षलाई कार्यालय संचालन गर्न पुग्ने रकम भने बटुलेका छन् । 

कम्पनीको बारेमा जानकारी लिन वेवसाइटमा दिइको नम्बरमा पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको