Like us!
Follow us!
Connect us!
Watch us!

६ वस्तुमा आयात प्रतिबन्ध हट्यो, अन्यमा असोज २८ सम्म प्रतिबन्ध कायमै

पत्रपत्रिका

बुधबार, १५ भदौ २०७९, ०६ : ५९ मा प्रकाशित

६ वस्तुमा आयात प्रतिबन्ध हट्यो, अन्यमा असोज २८ सम्म प्रतिबन्ध कायमै

सरकारले गत वैशाख १३ देखि आयातमा प्रतिबन्ध लगाउँदै आएको १० वस्तुमध्ये ६ ओटाको आयात खोलेको छ । बाँकी चार वस्तुमाथिको आयात प्रतिबन्ध भने असोज २८ गतेसम्म थप गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ को राजपत्रमा सूचना प्रकाशित गरी एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोनको आयातमा लागेको प्रतिबन्ध आगामी असोज २८ गतेसम्म थप गरेको हो ।

कुरकुरे लेजजस्ता खानेकुरा, ३२ इन्चभन्दा ठूलो आकारका रंगीन टेलिभिजन, खेल्ने तास, कच्चा पदार्थबाहेकको हीरा, कच्चा पदार्थबाहेकको चुरोट तथा सुर्तीजन्य वस्तु र सबै प्रकारका खेलौना भने आयात प्रतिबन्धको सूचीबाट हटेका छन् ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती वस्तु आयातमा वैशाख १३ देखि प्रतिबन्ध लगाउँदै आएको छ ।

मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी १० वस्तु आयातमा बन्देज लगाएको थियो । प्रतिबन्ध लगाउनुको उद्देश्य विदेशी मुद्राको मौज्दातमा हुन सक्ने गम्भीर ह्रासको अवस्थालाई हटाउने वा रोक्ने वा अत्यन्त न्यून अवस्थामा रहेको विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने गरी मुलुकको बाह्य वित्तीय स्थिति र भुक्तानी सन्तुलनको सुरक्षा गर्नु रहेको मन्त्रालयको भनाइ छ ।

विदेशी मुद्रा सञ्चितिमा परेको चाप केही कम भएपछि सरकारले आयातमा लगाएको बन्देज खोलेको हो । यस वर्ष साउनमा पोहोर साउनको तुलनामा मुलुकको वैदेशिक व्यापारघाटा पनि १० प्रतिशतले घटेको तथ्यांक भन्सार विभागले गत साता सार्वजनिक गरेको थियो ।

विदेशी मुद्रा सञ्चिति पनि गत चैतको तुलनामा असारमा बढेको छ । गत चैत मसान्तमा नेपालसँग ११६७ अर्ब ९२ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । यसले ६ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको भनाइ थियो ।

विदेशी मुद्रा सञ्चिति घटेर उक्त तहमा पुगेपछि नै सरकारले आयातमा प्रतिबन्ध लगाउने निर्णय लिएको हो । आयात निरुत्साहित गर्ने नीति भने सरकारले मंसिरदेखि नै लिएको थियो ।

गत असार मसान्तमा विदेशी मुद्रा सञ्चिति बढेर १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर पुगेको छ । यसले ६ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको भनाइ छ । कोरोना महामारी पनि मत्थर भएको, विदेशी मुद्रा आर्जन हुने समय पर्यटकीय याम शुरू हुन लागेको र विप्रेषण आप्रवाहमा देखिएको सुधारले सरकारलाई ६ वस्तुको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णयमा पुर्‍याएको देखिन्छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको