Like us!
Follow us!
Connect us!
Watch us!

निकै तल्लो विन्दुमा नेपाल लाइफको मूल्य : किन्ने उत्तम बेला हो ? (कम्पनी विश्लेषण)

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, १६ : ५३ मा प्रकाशित

निकै तल्लो विन्दुमा नेपाल लाइफको मूल्य : किन्ने उत्तम बेला हो ?  (कम्पनी विश्लेषण)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड लगानीकर्ताहरूले रूचाएका कम्पनीमध्येकाे एक हाे । 

कम्पनीकाे परिचय

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालले अबलम्बन गरेको आर्थिक उदारीकरण नीति सँगै आमनेपाली जीवनको सुरक्षा र सम्बृद्धिको चाहनालाई परिपूर्ती गर्ने उद्देश्यले निजी क्षेत्रका ख्यातीप्राप्त औद्योगिक तथा व्यापारिक घरानाहरुको समूहबाट मिति २०५८/०१/२१ मा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएकाे कम्पनी हाे । 

कम्पनीले जर्मनीस्थित विश्वको ख्यातीप्राप्त, पुर्नबीमा कम्पनी ह्यानओभर रि–इन्स्योरेन्स कम्पनीसँग पुर्नबीमा गरेको छ ।  

कम्पनीकाे यात्रा

कम्पनीकाे वित्तीय अवस्था

गत आर्थिक वर्षको चौथो त्रैमाससमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले नोक्सानीको लागि व्यवस्था बापत ७७ करोड ८० लाख रुपैयाँ छुट्याएसँगै नोक्सानी व्यहोर्नु परेको हो । कम्पनीकाे जीवन बिमा कोषको आकार १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष भने घटेको छ ।

कम्पनीकाे चुक्ता पूँजी ८ अर्ब २० कराेड ७९ लाख ६६ हजार रूपैयाँ रहेकाे छ । कम्पनीकाे जगेडा काेषमा २८ कराेड ८३ लाख ७० हजार रूपैयाँ सञ्चित रहेकाे छ । समिक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३ पैसा नोक्सानमा रहेको छ । त्यस्तै, कम्पनीकाे प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ २९ पैसा रहेकाे छ । 

सेयर बजारमा नेपाल लाइफको स्थान

सेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८ कराेड २० लाख ७९ हजार ६ सय ६६ कित्ता सेयर सूचिकृत छ । हाल (असाेज २ गते, आइतबारका अनुसार) नेप्सेमा यस कम्पनीको सेयरमूल्य ६ सय ५ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम एक हजार ८ सय १० रूपैयाँ र न्युनतम ६ सय २ रूपैयाँमा कारोबार भएको छ ।

कम्पनीको पछिल्लो १८० दिनको औषत मूल्य ९ सय ७२ रूपैयाँ २४ पैसा रहेको छ । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल घटेको छ ।

कम्पनीकाे सेयर स्वामित्व

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम छ ।  

कम्पनीकाे लाभांश इतिहास

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले विगत देखिनै आफ्ना लगानीकर्ताहरुलाई मनग्य लाभांश वितरण गर्दै आईरहेको देखिन्छ । कम्पनीको विगत १० बर्षको लाभांश इतिहास हेर्दा यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले आकर्षश मुनाफा हासिल गरेको देखिन्छ । आजभन्दा १० बर्ष अघि कम्पनीको १०० कित्ता सेयर किन्ने लगानीकर्ताको सेयर संख्या अहिले वृद्धि भएर अहिले १८०३ कित्ता पुगेको छ । 

कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०६८/६९ मा १२६.३१ प्रतिशत लाभांश (७० प्रतिशत बाेनस र ५६.३१ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६७/६८ मा ७.३७ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

कम्पनीले यसै साता मात्र आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीकाे १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेकाे छ । कम्पनीले १५ प्रतिशत नगद र साे नगदमा कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रमण पराजुली छन् । बीमा समितिकाे श्रावण ३ गतेकाे पत्रमार्फत् प्रवीण रमण पराजुलीलाई कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षकाे करारमा नियुक्ती गर्न स्वीकृती प्रदान भए अनुसार कम्पनीकाे श्रावण ४ गते, बसेकाे सञ्चालक समितिकाे बैठककाे निर्णय अनुसार साउन ४ गतेबाट नै उनले प्रमुख कार्यकारी अधिकृतकाे रूपमा पद बहाली गरेका थिए ।

 आवद्ध हुनु अघि उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा ४ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेका थिए । पराजुलीले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट फाइनान्समा एमबीए गरेका छन्। नेपालबाट एसएलसी गरेपछि उनले डीएभी, चण्डीगढबाट सिनियर स्कूल सर्टिफिकेट परीक्षा र भारतको मंगलौर विश्वविद्यालयबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट पूरा गरेका थिए । उनीसँग नेपालको बीमा तथा वित्तीय क्षेत्रमा करिब २० वर्ष लामो अनुभव छ ।

त्यसैगरी, कम्पनीकाे अध्यक्षमा गोविन्द लाल संघाई छन् । कम्पनीकाे सञ्चालकमा कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल, विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने, पारूल ढकाल र शक्ति कुमार गाेल्यान रहेका छन् ।

प्राविधिक विश्लेषण

नेपाल लाईफ इन्स्योरेन्सको सेयर मूल्य निकै तल्लो विन्दुमा आईपुगेको छ। ६५० को बलियो सपोर्टको एरियालाई पनि ब्रेक गर्दै सेयर मूल्य ६०५ मा झरेको छ। सँधैजसो बोनस सेयर दिँदै आएको नेपाल लाइफले यसपाली क्यास डिभिडेण्ड दिएपछि लगानीकर्ताहरुले सेयर बिक्रि गर्न थालेका हुन्।  

हिजो आईतबार नेपाल लाईफको डेली चार्टमा वियरिस मारुबोजु क्यान्डल बनेको छ। वियरिस मारुबोजु क्यान्डल बन्दै गर्दा कारोबार रकम पनि बढ्नुलाई बजारमा सेलिङ्ग प्रेसर उच्च रहेको रुपमा विश्लेषण गर्न सकिन्छ। यसले सेयर मूल्य थप घट्न सक्ने सम्भावना तर्फ संकेत गर्दछ।  

एनएलआईसीको डेली चार्टमा हेर्दा आरएसआई २९ को लेभलमा आइसकेको छ।  ३० भन्दा तल्लो लेभलको आरएसआईलाई ओभरसोल्ड मानिन्छ। सेयरमूल्य ओभरसोल्ड जोनमा प्रवेश गरिसकेपछि बाउन्स ब्याक हुनसक्ने सम्भावना रहन्छ। पिभोट सपोर्टको एरिया पनि ५९० को बिन्दुमा रहेको हुँदा ५९० को आसपासबाट एकपटक सेयर मूल्य माथितिर लाग्न सक्ने सम्भावना देखिन्छ। 

कम्पनीमा लगानी कति सुरक्षित ?

समग्रमा नेपाल लाइफ इन्स्याेरेन्सलाई हेर्दा औषतमा कम्पनीले सेयरधीहरूलाई राम्राे प्रतिफल दिएकाे हुनाले लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् ।  हाल कम्पनीले प्राेभिजन अन्तर्गत लगभग ७० कराेड छुट्याउँदा कम्पनी नाेक्सानमा छ । साथै, कम्पनीकाे इपीएस पनि नाेक्सानमा नै छ । हामीले लगानी गर्दा एउटा पक्षकाे आधारमा मात्र गर्न हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । नेपाल लाइफकाे विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित नै हुने देखिन्छ । 

नोटः हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको