Like us!
Follow us!
Connect us!
Watch us!

आज २५५ औं ऐतिहासिक सिन्धुलीगढी विजय दिवस, अंग्रेजलाई परास्त गरेको सम्झनामा बिजयोत्सव मनाइँदै

अर्थ संसार

शनिबार, १५ असोज २०७९, १७ : १३ मा प्रकाशित

आज २५५ औं ऐतिहासिक सिन्धुलीगढी विजय दिवस, अंग्रेजलाई परास्त गरेको सम्झनामा बिजयोत्सव मनाइँदै

तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार (आज) सिन्धुलीगढीमा विजयोत्सव मनाइने भएको छ । यस अबसरमा समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र सिन्धुलीय श्रेष्ठ समाजले विजयोत्सव कार्यत्रमको आयोजना गर्ने भएका छन् ।
विजयोत्सवका अबसरमा प्रकाशन गरिएको सिन्धुलीगढी चित्रकथाको अंग्रेजी संस्करण सार्वजनिक गर्ने कार्यक्रम छ । उक्त चित्रकथा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले सार्वजनिक गर्ने छिन् ।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष असोज १५ गते विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला विक्रम संवत्को १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ ।

सिन्धुलीगढीको संरक्षण गर्ने जिम्मेवारी लिएको कमलामाई नगरपालिकाले भने गलत मितिमा विजयोत्सव मनाउने गरेको छ । उसले इतिहासलाई बंग्याउने काम गरेको इतिहासविद्हरुले बताउँदै आएका छन् । इतिहासकारहरुसँगको छलफलपछि समृद्ध सिन्धुली अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन थालेको हो ।  

इतिहासकार प्रा।दिनेशराज पन्तले भारतमा शासन गरिरहेको तत्कालीन इष्टइन्डिया कम्पनी (ब्रिटिस सेना) लाई सिन्धुलीगढीमा असोज १५ गते परास्त गरेको प्रामाणिक इतिहास रहेको बताउँछन् । 'अरु मितिमा विजयोत्सव मनाउनु इतिहासलाई बंग्याउनु हो,' उनी भन्छन् 'काम गर्दा मानवीय त्रुटि हुनसक्छ । त्यसलाई नसच्याउनु कमजोरी हुन्छ । बिजयोत्सव असोज १५ मा नै मनाउनुपर्छ ।

समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले मितिमा प्रष्टता नभएका बेला  स्थानीय स्तरमा अरु मितिमा विजयोत्सव मनाउन थालिएको बताउँदै अव सच्याउदै जानु पर्ने बताउँछन् । 'हामीले बिजय दिवस सुरुदेखि नै असोज १५ मै मनाउँदै आएका छौं । उक्त मिति इतिहासले प्रमाणित गरेको हो,' उनी भन्छन् ।

समृद्ध सिन्धुली अभियानले विभिन्न संघसंस्थासँग मिलेर सिन्धुलीगढीको प्रबर्धनमा काम गर्दै आएको छ । अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष गर्दै राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा गर्दै आएको थियो । ४ बर्ष निरंतर सफलतापूर्वक गरिएको साइकल यात्रा कोभिड महामारीका कारण स्थगित गरिएको थियो । यस बर्ष फागुनमा साइकल यात्रा गर्ने योजना अभियानले बनाएको छ । साइकल यात्रामाफर्त ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न अभियानले ब्यसाययिक यात्रा गराउन थालेको हो ।

अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न पर्यटन बोर्डसँग मिलेर काठमाडौंलगायत देशका विभिन्न स्थानमा तस्बिर प्रदर्शनी फोटो सिन्धुली आयोजना गरेको थियो ।

यसैगरी सिन्धुलीका दुई वटा ऐतिहासिक गढीहरु हरिहरपुर गढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माणको कामको पनि अभियानले थालनी गरेको थियो । अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि मरिण गाउँपालिकाको सीमाना सेपाहासम्म पदमार्ग निर्माण सम्पन्न गरेको छ। पृथ्वीनारायण साहकी पत्नी इन्द्रकुमारीले घन्ट चढाएको घण्टेस्थित महादेवको मन्दिरबाट पदमार्ग निर्माण गरिएको हो।
यस्तै काभ्रेको नमोबुद्धदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारतडाँडैडाँडा पदमार्गको पनि अभियानले अध्ययन गरेको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको