Like us!
Follow us!
Connect us!
Watch us!

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १६ : ५० मा प्रकाशित

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति

यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । 

सुरुमा दुईओटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ बाट दैनिक रूपमा ६ ओटा जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गत १८ र ३० कात्तिकबाट क्रमश: चिलिमे र सोलुखोलाको विद्युत् निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतकाे स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ । 

खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट विद्युत् उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमश : घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उद्योगहरूले अहिले स्वीकृति लोड अनुसार विद्युत् नै लिएका छैनन् । यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युतकाे माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत् आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।  

आइएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ ओटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतकाे कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको विद्युतकाे औसत दर प्रतियुनिट ८ रुपैयाँ २३ पैसा छ । 

थप २३.५ मेगावाट निर्यात अनुमति 

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् निर्यातका लागि अनुमति पाएको छ ।

भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो । प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत् भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ । 

प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत् निर्यातका लागि अनुमति प्राप्त भएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको