काठमाडौँ महानगरपालिका–३१, जागृतिनगर टोलस्थित बाग्मती नदी किनारमा बसोबास गर्दै आउनुभएकी ७० वर्षीया सूर्यमाया गुरुङलाई आफ्नो छानो जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ताले पिरोलेको छ ।
मङ्सिर २ गतेसम्म चुनावको माहोल, राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार मत माग्न आउँदा डेङ्गुले थलिएको ज्यान सम्हाल्दै उहाँ बाहिर निस्किनुहुन्थ्यो । चुनावको अन्तिम नतिजा आइनसक्दै थापाथलीमा डोजर चलेपछि उहाँलाई अब कहाँ सर्ने भन्ने विकल्पको चिन्ताले सताउन थालेको छ । उहाँ भन्नुहुन्छ, “सबैले यस पटक हामीलाई मत दिनुस्, तपाईंहरूलाई धनीपुर्जा हामी दिलाउँछौँ भनेर जानुभएको थियो । यस्तै कुरा २०६४ को चुनावदेखि चल्दै छ तर महानगरले डोजर चलाएपछि डर बढेको छ ।”
हातमा धनीपुर्जा आउने आशामा झन्डै २५ वर्षयता गुरुङले भोट हाल्दै आउनुभएको छ । उहाँले मत दिनुभएका राजनीतिक दलहरू पटक–पटक सत्तामा पुगेका छन् । हुँदा–हुँदा स्वतन्त्रलाई जिताउँदा पो आफूहरूले न्याय पाइन्छ कि ! भन्ने अपेक्षा साथ स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन शाहलाई मत दिएको उहाँले बताउनुभयो ।
गुरुङले भन्नुभयो, “सबैले बालेनजी राम्रा हुन्, भोट दिउँ भन्नुभयो । हामीले पनि होला नि भन्ने विचार गरेर मत दिएकै हो तर उहाँले जितेपछि हाम्रो बस्तीमा डोजर चलाउने सूचना निकाल्नुभएको छ रे ! हामीले नै जिताउने, हामीमाथि नै ज्यादति गर्ने यो कस्तो न्याय हो ?”जागृतिनगरको टहरा नं. ‘बी १५’ मा २०५६ देखि उहाँको बसोबास यहीँ छ । घरजग्गाको नाममा उहाँको सम्पूर्ण जायजेथा यही नै हो । बिहान–बेलुका हातमुख जोड्न ज्यालादारी श्रमिकको काम गर्ने गुरुङको शरीर बुढ्यौलीले थलिएको छ । उहाँ भन्नुहुन्छ, “अब त काम गर्न सक्दिनँ, भोट माग्न आउनेले पनि कुरा मात्रै गर्छन्, अरू केही परेन । हामीलाई बस्ने व्यवस्था र बिरामी हुँदा उपचारसम्म पाएदेखि हाम्रो मत खेर गयो भन्ने लाग्ने थिएन ।” गाेरखापत्र दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस