Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन जुवा र सट्टेबाजीमा संलग्न हुनेलाई राष्ट्र बैंककाे कडा चेतावनी, सुनको मूल्य "अल टाइम हाई"

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, २३ : ०२ मा प्रकाशित

आज (मंसिर २८ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२१०५२६ प्रतिशत नगद गरी कुल ४.२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि 'एनआईबिएल ग्रोथ फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे हालसम्मकै ठूलो म्युचुअल फण्ड हो । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १६ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । याे फण्डमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

३. नेपाली बजारमा सुन चाँदीको मूल्य बढेर यस वर्षकै उच्च भएको छ । बुधबार एकैदिन सुनकाे मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतिताेला १ लाख १ हजार रुपैयाँ पुगेको छ ।याे मूल्य वर्षकै उच्च हाे । चाँदी मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला १४ सय रुपैयाँ पुगेको छ।

४.  गरिमा विकास बैंकले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे १६औँ वार्षिक साधारण सभा पाैष २२ गते, शुक्रबार होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुनेछ  । सभामा बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा पाैष २४ गते, आइतबार अग्रवाल भवन, कमलपाेखरी, काठमाडाैँमा दिउँसाे २ बजेबाट सुरु हुनेछ  । सभामा कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

६. बुधबार सेयर बजारमा झिनाे अंकले घट्दा काराेबार रकम एक अर्ब पनि पुग्न सकेन ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा झरेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३७०.१९ विन्दुमा झरेको छ । कूल २४६ वटा कम्पनीकाे २० लाख ८७ हजार ८ सय ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ७२ करोड ७८ लाख ७७ हजार ८ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

७. नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य कार्यहरूमा संलग्न नहुन सर्वसाधारणलाइ आग्रह गरेको छ । राष्ट्र बैंकले यस्ता काम गैरकानुनी भएकाले त्यस्ता कार्यमा संलग्न भएको पाइएमा कानुनी कारबाही हुने र कारोबार समेत रोक्का हुने जनाएकाे छ ।

८. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । याेसँगै अब भाेलि (बिहीबार) बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ ।  

९. इक्रा नेपाल लिमिटेडले दशाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा पाैष २२ गते, शुक्रबार, एलोफ्ट ठमेल, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र  ५२.१७ प्रतिशत नगद गरि कुल ७२.१७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

१०. नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नेपाल बंगलादेश क्यापिटल लिमिटेडलाई गाभेपछि पाैष १ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएकाे छ । प्राप्ति पश्चात् कम्पनीकाे नाम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहनेछ ।

११.  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (बुधबार) राधी विद्युतकाे हकप्रद सेयर सूचिकृत भएको छ । स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडकाे १४७.५२ प्रतिशत हकप्रद बापतकाे ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको