Like us!
Follow us!
Connect us!
Watch us!

दिनभरको केही आर्थिक समाचार छुट्यो कि ? (भिडियो )

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, २३ : ०५ मा प्रकाशित

आज (मंसिर २९ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेंट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड एचआईडिसिएलले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत  बोनस सेयर र कर प्रयोजनाका लागि ०.२६३ नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

२. शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १ं०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले लाभांश पारित गर्नका लागि पुस २९ गतेका लागि बार्षिक साधारण सभा पनि आह्वान गरेको छ । साे प्रयाेजनका लागि कम्पनीले पुस २० गते १ दिनका लागि बुक्लोज गर्नेछ । त्यसैले, पुस १९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजदेखि ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्कासन गरेकाे छ ।  बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये, सर्वसाधारणका लागि १९ लाख कित्ता छुट्याइएकाे छ । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको '७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६' नाममा ऋणपत्र निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा पुस ४ गतेदेखि ढिलोमा पुस १४ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

४.  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सम्पूर्ण सूचिकृत कम्पनीको सञ्चालक तथा कार्यकारी प्रमुखको काराेबार रोक्का राख्न निर्देशन दिएकाे छ । नेप्सेले सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई  कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख लगायतको सेयर कारोबार रोक्का राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।  सञ्चालक तथा व्यवस्थापन तहका व्यक्तिहरुले पदमै रहेका बेला आफ्नो नामको सेयर धमाधम बिक्री गरेको पाइएपछि नेप्सेले  कडाई गर्दै यस्ताे निर्देशन दिएकाे हाे । 

५. साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेकाे छ । नेप्से ०.७६ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ३६८.०४ विन्दुमा झरेको छ । कूल २५४ वटा कम्पनीकाे ४८ लाख ४ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । कम्पनीले कम्पनीका सञ्चालकबाट धितोपत्रको मूल्यमा प्रभावपार्ने कुनै दुराशय नभएको र सदाशयमा कार्य गर्दा गर्दै प्राविधिक रुपमा मानविय त्रुटिले फरक अवस्था सृजना हुन गएको भन्दै नेप्सेमा स्पष्टिकरण बुझाएपछि काराेबार फुकुवा गरिएकाे हाे । 

७. ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जरकाे अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरेका छन् । बुधबार ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् । यी २ बैंक १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुँदैछन् ।

८. युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा पुस २२ गते होटल सिद्धार्थ कटेज ललितपुरमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन । 

९. नेपाल भित्रिने रेमिटेन्स बढेको छ। चालु आर्थिक वर्ष ७८/७९ को ४ महिनाको अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३ सय ७८ अर्ब ४ करोड रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो ।

१०. अब उप्रान्त भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति बैंकको सीईओ हुन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय  संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यताबारे नयाँ निर्देशन जारी गर्दै यस्ताे व्यववस्था गरेकाे हाे । यस अघि बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको व्यक्ति सीइओ हुन नपाउने ब्यबस्था रहकोमा अब भने भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति पनि सीइओ हुन नपाउने ब्यबस्था गरिएको हो।

११. बिहीबार सुनकाे मूल्य तोलामा ७ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । अाज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको