Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रा उद्यमी : 'ग्यारेजबाट सुरू भएको सस्तो डिलको यात्रा आईपीओसम्म'

धिरज पौड्याल

शुक्रबार, ०८ पुस २०७९, १३ : ३२ मा प्रकाशित

हाम्रा उद्यमी : 'ग्यारेजबाट सुरू भएको सस्तो डिलको यात्रा आईपीओसम्म'

आज हामीलाई जुन प्रविधि र रूपान्तरणसँग लगाव छ ती प्रविधि र रूपान्तरण कोही एक व्यक्तिको परिकल्पनाबाट सुरु भएका हुन् । हामी उक्त परिकल्पनालाई आत्मसाथ गरिरहेका छौँ । अमुन थापाले सन् २०११ मा घर-घरमा सामान पुर्याउन सकिन्छ भनी गरेको परिकल्पना “सस्तोडिल” मार्फत आज हामी सहज सेवा लिइरहेका छौँ । 

युवाहरु नेपालमा केही गर्ने अवसर नै छैन भन्दै हरेक दिन विदेशिइरहेका बेला सन् २०११ मा २३ वर्षको उमेरमा अमेरिकामा बिबिए अध्ययन सकेर नेपाल फर्किएका उद्यमी अमुन थापासँग उनको उद्यमशीलताको यात्राको संवाद गर्न सस्तोडिलको कार्यालय पुग्यौँ ।

गोजीमा ५० हजार २ साथी र एउटा शटरबाट सुरु भएको कम्पनी आज करोडौंको कम्पनी बन्न पुगेकाे छ । 

हामीले हाम्रो संवादलाई उनको बाल्यकाल र उद्यमशिलताबाट सुरु गर्याैँ । “विद्यालय खेलकुदमा रुची राख्थेँ जसले कक्षा कोठा बाहिरको सिकाइमा मद्दत गर्यो। खेलकुदले लिडरशिप (नेतृत्त्व ) स्किलको विकास भयो।” अमुन बताउँछन् । 

स्नातक तहको अध्ययन गर्न अमेरिका पुगेका अमुन ब्याचलर इन् बिजिनेस एडमिनिस्ट्रेशन (BBA) ‘मार्केटिङ र कन्स्युमर साइकोलोजी’ मा अध्ययन पूरा गरेर ३ वर्ष बस्ने सोच बनाए अनि सन् २०११ मा नेपाल फर्किए। 

“सन् २०११ मा ३ वर्ष नेपाल बसेर पछि मास्टर गर्न अमेरिका फर्किन्छु भन्ने सोच बनाएर नेपाल फर्किएको थिँए, नेपालमा उद्यमी बन्छु वा उद्यम गर्छु भन्ने सोच बनाएर नेपाल आएको भने थिइन। यस्तै दशैँ तिरको समय, जुत्ता किन्नु पर्ने थियो। नेपाली बजारबारे त्यस्तो जानकारी थिएन, साथीहरुसँग कहाँबाट लिने भनेर सल्लाह लिनुको विकल्प थिएन। मलाई जुत्ता किन्न ७ घण्टासम्म बिताउनु पर्यो। यो समस्या त्यसबेला मेरो मात्र थिएन एक पटक भोग्नुपर्ने मात्र पनि थिएन, सबै नेपालीहरुको साझा समस्या थियो सधैं भोगिरहनु पर्ने समस्या थियो। यस समस्यालाई समाधान गर्ने अठोट लिएँ ।” उनी बताउँछन् ।

नेपालमा ई- कमर्स प्लाटफर्मको आवश्यकता थियो, त्यसबेला अन्य ई- कमर्सहरु थिएनन् । मुञ्चा, ठमेल.कम लगायतका ई- कमर्सले सेवा दिइ रहेका थिए, यी प्लाटफर्महरु विदेशबाट गिफ्टिङको लागि उपयोग हुने गर्दथे नेपालमा बस्ने नेपालीको लागि अनलाइन सर्भिस लिने प्लाटर्फम थिएन। अमुनले सुरु गरेको सस्तोडिल नेपालको पहिलो ई- कमर्स बन्यो। 

“नेपालमा रहेको ई- कमर्स प्लाटर्फमको आवश्यकता महसुस भएपछि नेपाल आउनुको उद्देश्य जे भएतापनि यो समस्या समाधान गरेर छाड्ने सोच बनाएँ। मैले ई- कमर्स गरेर यती पैसा कमाउँछु उति पैसा कमाउँछु इन्डस्ट्रिको साइज भन्दा पनि समस्यालाई कसरी समाधान गर्छु भन्ने धारणा थियो। समस्या सानो पनि थिएन, १० १५ जनाको समस्या भएको भए त्यसमा समय खर्च गर्नु मात्र हुन्थ्यो यो समस्या नेपाल भरीकै समस्या थियो र जीवनशैली सँग जोडिएको थियो जसले मलाई समाधान गर्ने ऊर्जा दियो।” उनी बताउँछन् । 

सन् २०११ मा नेपालमा कुल जनसंख्याको ९% व्यक्तिहरू मात्र इन्टरनेटको पहुँचमा थिए। नेपाल २०११ मा डिजिटलाइजेसन तर्फ उन्मुख भइरहेको थियो। इन्टरनेटको पहुँचमा पुग्ने व्यक्तिको संख्या बढ्दो थियो। 

“समस्या समाधान गर्न अर्को दिनबाट नै लागि परेँ। त्यसबेला ९% जनसंख्या मात्र इन्टरनेटको पहुँच गर्थे, धेरैले नेपालमा इन्टरनेटको पहुँचमा मान्छे नै छैनन के बिजनेस गर्छन भन्ने गर्दथे, मलाई अहिले ९% जनसंख्या इन्टरनेटको पहुँचमा छ, इन्टरनेटको प्रयोग त बढ्ने नै छ जसले ईन्टरनेट ई- कमर्सको पनि वृद्धि हुने निश्चित थियो। मैले यसलाइ अवसरको रूपमा लिँए, “ उनी बताउँछन्। 

त्यसबेला समस्या उपभोक्तालाई मात्र थिएन समस्या व्यवसाय सञ्चालकलाई पनि थियो। उनीहरू पसल अगाडि आउने ग्राहकलाई मात्र समान बेच्न सक्थे, राष्ट्रव्यापी गर्न सक्ने व्यवसायको अवसर सदुपयोग गर्न सकिरहेका थिएनन्। 

 उनले भने, “अमेरिकामा अध्ययन सकेर नेपाल फर्की उहाँहरुले सम्भावना नदेखेको क्षेत्रमा व्यवसाय गर्छु भन्दा परिवार,आफन्त साथीहरूले मूर्ख काम गरेको बताउँथे। अमेरिकामा स्नातकमा सकेर नेपाल फर्केर बैंकमा राम्रो इन्कम को जागिर खानुको सट्टा आफ्नो ब्यबसाय अझ कसैले नसुनेको अझ अनलाइन बाट समान बेच्छु भन्दा सबै हाँस्ने परिवेशको व्यवसाय गर्ने अठोट गरेको थिए। आफू भन्दा पहिलाको पुस्ताले नबुझ्नु स्वाभाविक थियो तर आफ्नै पुस्ताले पनि विश्वास नगर्दा यो झन् गर्नुनै थियो। आफूलाई भित्रबाट विश्वास थियो यो सफल हुन्छ भन्ने प्रमाणित गर्न अठोट सहितको सङ्घर्ष सुरु गरेँ ।”

 

अमेरिकाबाट बैंकमा ५०० डलर ( त्यसबेला लगभग ५० हजार रुपैयाँ ) लिएर नेपाल फर्किएका अमुन चुनौतीसहित लक्ष्यतर्फ अगाडि बढिरहेका थिए।  

“ई- कमर्स प्लाटर्फम बनाउन वेबसाईट चाइने थियो। आइडिया थियो तर वेबसाईट बिना सुरु हुने थिएन । व्यवस्थापन ब्याकग्राउन्डको मलाई वेबसाइट बनाउन आउने थिएन। त्यसबेला नेपालमा ई- कमर्स वेबसाइट बनाउने थिएनन् कम्पनीहरूले आउटसोर्स गर्ने गर्थे । ई- कमर्सको लागि वेबसाईट मुख्य थियो, वेबसाइट बनाउन ४-५ लाख रुपैयाँ लाग्ने थियो म सँग त्यो पैसा थिएन ऋण लिएर व्यवसाय गर्नु मन थिएन। मलाई पैसा चाहिएको वेबसाईट बनाउन हो अन्य कार्य आफै गर्न सक्छु, मैले वेबसाइट बनाउन सक्ने मान्छे टिममा ल्याएर कार्य गर्ने सोच बनाएँ।” उनी जोड्छन्। 

उनले भने, “मैले ३ महिनासम्म सहकार्य गर्ने पार्टनरको खोजीमा बिताए। तीन महिना पछि आईटीमा अब्बल रहेका सोहन मानन्धर सँग भेट भयो। मैले सोधनलाई मेरो आइडिया सेयर गरे । मैले मेरो भिजन सेयर गरे कम्पनीको आगामी दिन बारे बताए,मैले उनलाई मसँग स्यालरी दिनको लागि पैसा थिएन पछि कम्पनी नचल्न पनि सक्छ लगायतका सबै कुराहरू बताए। उनले सुरुवातमा त प्रस्ताव स्वीकार गरेका थिएनन्,मलाई उनी फिर्ता आउँछन् जस्तो लागेको थिएन महिनाको लाखौं स्यालरी  खाने गरेका शोधन मेरो प्रस्ताव बमोजिम फूल टाइम स्यालरी दिन नसक्ने अवस्थामा आउँछन् भन्ने लागेको थिएन तर करिब २ हप्ता पछि सोधनले आफू र आफ्नो साथी सृजित राज भण्डारी दुवै आवश्यक रहने हुँदा दुवै जना आउने निर्णय मलाई सुनाए म उत्साहित भए, हामी तिनै जना मिली कम्पनी सुरु गर्यौँ ।”

शोधन मानन्धर सस्तोडिलका को- फाउन्डर एवम् चिफ टेक्नोलोजी अफिसर हुन् । अनुम, शोधन र सृजित तीन जना मिली सस्तोडिलसँगै नेपालमा ई- कमर्सको यात्रा सुरु गरे। गैरीधारास्थित ग्यारेजबाट , मासिक २००० रुपैयाँ ले २ वर्ष लाई पुग्ने कोठा भाडा रु.५०,००० र तीन साथी मिली समस्या समाधानको सोचलाई सार्थकता दिने अठोट लिए। 

“हामीले एउटा पुरानो ग्यारेज लियौं, हामीसँग फर्नीचर पनि थिएन, एउटा एनजीओको प्रयोग नभएको कुर्ची र टेबल मर्मत गरेर अफिस तयार गर्यौँ। कुर्ची टेबल २ -२ हप्तामा मर्मत गर्नुपर्ने थियो। कम्पनी दर्ताको कानुनी प्रक्रियामा अधिकांश पैसा खर्च भयो, त्यसबेला मार्केटिङ प्याम्प्लेट छापेर वितरण गर्ने चलन थियो हामीले पनि सुरुवातमा त्यही गर्यौ। हामीसँग अफिस सुरुवात गरेसँगै पैसा सकिई सकेको थियो।हामीले कम्पनी शुन्यबाट सुरु गरेँ।,”  उनी बताउँछन्। 

अमुन थप्छन्, “म बिहान उठेदेखि बेलुकासम्म यसकै बारेमा सोचिरहेको हुन्थे। बिहान ६ बजे अफिस खोल्न जाँदा मैले पहिला देख्ने चीज छेपारो हुन्थ्यो। मैले आफै कुचो लगाउनेदेखि टेबल सफा गर्ने गर्थेँ । टेकको साथीहरु ९ बजे आइपुग्थे मैले त्यतिन्जेलसम्म व्यवस्थापन गर्ने गर्थेँ । साथीहरु आई पुगेपछि म बजारमा जाने गर्थेँ उनीहरू वेबसाइटको काम गर्थे। निरन्तर रूपमा ३०-४० वर्षदेखि व्यवसाय गर्दै आएकाहरुलाई कुरा सुनाउँदा हाँस्ने गर्थे तिमीसँग किन जाने मेरो आफ्नै व्यापार राम्रो चल्दै छ तिमीसँग किन सहकार्य गर्ने भन्ने गर्थे, कसै कसैले मात्र मलाई फुच्चेसम्झेर अवसर दिउँ भनेर अवसर दिएका थिए त्यसबेला म २३ मात्र वर्षको थिए ।”

“म व्यवसायीहरुलाई भेट्न जान्थेँ, उनीहरूलाई हाम्रो प्ल्याटफर्म मार्फत लिस्ट गरी बेच्न भन्थेँ, यो काम एक हिसाबले असम्भव थियो, अनलाइन बाट सामान बेच्न सकिने कुरा व्यापारीले सोचेका थिएनन्, त्यसबेला उनीहरू हाँस्दा रिस उठ्थ्यो तर अहिले सोच्दा उनीहरू हाँस्नु स्वभाविक थियो। मैले उनीहरूलाई सहकार्यका लागि मनएपछि म एउटा क्यामरा लिएर सामानको फोटो खिच्न जान्थे, वस्तुको डिटेल डायरीमा टिपेर ल्याउँथे जसलाई पछि कन्टेन्ट अनुसार वेबसाइटमा लिस्टिङ् गर्ने गर्थे। हामीलाई आउने अर्डर वेबसाइटमा भन्दा फोन बाट आउने गर्थ्यो, फोन उठाउने अर्को मान्छे थिएन, फोन आफै उठाउने र समान लिएर डेलिभरी गर्न जान्थे।”, उनले भने ।

सस्तोडिल स्थापना हुँदा संस्थापक अमुन् थापाले आफ्नो कम्पनीसँगै नेपालमा ई- कमर्श र डेलिभरी विकास गर्नुपरेको थियो। इन्टरनेटलाई नबुझेको समयमा इन्टरनेटबाट सामान खरिद बिक्री गर्ने र सामान घरमै पाउने कुरा आफैँमा अचम्मको थियो। 

“त्यसबेला हामीले ई कमर्ससँगै डेलिभरीको पनि बानी विकास गरिरहेका थिँयौ। डेलिभरी भन्ने त्यस्तो प्रचलन भन्ने थिएन, हामीले सामान पुर्याउँदा हामीलाई माया गरेर कोक किनेर खुवाउने गर्थे, डेलिभरी गर्नु चुनौती र रमाइलो दुवै थियो। एकपटक एकजनाले पाटनबाट सामान अर्डर गर्नुभएको थियो, ‘हामीलाई पाटन भित्र एउटा सिंहको मुर्ति छ त्यही सामान ल्याउन भन्नुभयो म सामान लिएर पाटन पुग्दा पाटन भित्र धेरै ओटा सिंहको मूर्तिहरू थिए’ हामीले उहाँहरुलाई भनेकै समयमा सकेसम्म छिटो सामानहरू पुर्याउथ्याैँ उहाँहरू अचम्मित र यस्तो पनि नेपालमा सम्भव छ र ? भन्नुहुन्थ्यो, हामीसँग मार्केटिङको लागि पैसा थिएन, माउथ टु माउथ मार्केटिङबाट हाम्रोमा ग्राहकको आकर्षण आइरहेको हुन्थ्यो। हामी एक वर्षको अवधिमा चर्चित बन्यौँ,” उनी जोड्छन्। 

“हाम्रो कम्पनीको आकार बिस्तारै बढ्दै गयो, हामीलाई आउने फोन बढ्न थाले अर्डर बढ्न थाले हामीले एकजना रिसेप्सन मा कर्मचारी थप्यौ, यो निर्णय लिन मलाई एकदमै गाह्रो भएको थियो। त्येशपश्चात हामीले डेलिभरीको लागि अर्को एक जनालाई रोजगारी दियौ। मार्केटमा हाम्राे डिमान्ड बढिरहेको थियो  । हामीले क्याटगोरी बनाएर विभिन्न वस्तुहरूलाई जाेड्न थाल्यौ। हामी अफिस सर्ने निर्णय लिग्यौँ, एउटा ग्यारेजदेखि अफिसमा सर्दै थियौ। थोरै भाँडा तिर्दा हुने अफिसबाट १ लाख + अपरेटिङ्ग खर्च लागिरहेको थियो हामी आफू बिना स्यालरी काम गरिरहेका थियौँ। अब केही सिरियस भएर लाग्नुपर्ने थियो।”

उनी भन्छन्, “हामीले त्यसबेला सस्तोडिल सँगसँगै अन्य समान रूपका सेवा पनि विस्तार गर्यौँ । सस्तो बुक पनि सुरु गर्यौ, सस्तो ट्राभल, सस्तो घर लगायतका विभिन्न सेवादिने सोच बनायौं तर पछि सबैलाई एकै ठाउँबाट गर्न सकिन्छ भने किन अन्य फरक फरक गर्ने भन्ने सोचेर सस्तोडिल बाट एकै ठाउँबाट सवै सेवा दिने निर्णय गर्यौ। त्येशबेला अन्य पनि चर्चित भएका थिए। म पहिला उद्यमी भने थिएन, फस्ट टाइम फाउन्डर थिए गल्ती गर्दै सिक्दै अगाडि बढिरहेका थियौ।”

“इन्टरनेटको विस्तार काठमाण्डौँमा मात्र नभई देशभर विस्तार हुने क्रममा थियो, काठमाण्डौँमा सामान खरिद गर्न त्यसबेला सहज थियो तर यो व्यवस्था भ्याली बाहिर थिएन। मलाई सोलुखुम्बु बाट लोकसेवाको किताबको लागि अर्डर आयो, सरकारी जागिरलाई मुख्य मानिने देशमा कुनै ठाउँमा लोकसेवाको किताबको पनि पहुँच रहेनछ यो कलले काठमाण्डौ बाहिरको अवस्थालाई स्पष्ट पर्दियो। हामी काठमाण्डौ केन्द्रीत व्यवसायलाई उपत्यका बाहिर विस्तार गर्ने तयारी गर्यौ। हाम्रो आज पनि सोच भ्याली बाहिर कसरी सेवा विस्तार गर्नमा केन्द्रित छ। हामीलाई जसरी पनि उपत्यका बाहिर सेवा पुर्याउनु पर्ने थियो।” उनी जोड्छन्। 

सस्तोडिलको व्यापार अहिले काठमाण्डौँभित्रबाट ६०% छ भने उपत्यका बाहिर ४०% भइरहेको छ। उपत्यका बाहिरको सेवा विस्तार गर्ने अमुनको योजना रहेको बताउँछन्। 

सन् २०१६ सम्म आइपुग्दा नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा राम्रो विस्तार भएको थियो। यस अवधिसम्म सस्तोडिल नेपाली बजारमा सफल रूपमा स्थापित भइसकेको थियो। नेपालमा रहेका विभिन्न ठूला कम्पनीहरु पनि ई- कमर्समा प्रवेश गरेका थिए,बजारमा राम्रो इमेज भएका कम्पनीहरु ई- कमर्समा प्रवेश गरेका थिए, व्यापारीहरु उनीहरूसँग सहकार्य गर्न उत्साहित रहन्थेँ तर प्रतिकूल परिस्थितीका बाबजुत सस्तोडिलले सबैसँग प्रतिस्पर्धा गर्यो र आफू स्थापित भयो। 

“हामीलाई सबैभन्दा ठूलो प्रतिस्पर्धा २०१६ मा अनुभूति भयो,  रकेट इन्टरनेशनल केमु नाममा नेपाली बजारमा प्रवेश गर्यो। अनुभवी कम्पनी अत्याधुनिक प्रविधि,  अब्बल मानव संसाधन सहित प्रवेश गर्यौ, हामी प्रतिस्पर्धा गर्न थप सशक्त रहनुपर्ने थियो। २०१६ मा Lucky Group ( Ramesh Corp) को स्ट्रयाटेगिक इन्भेस्टरको रूपमा भित्र्याएका थियौ, हामीले कम्पनीलाई ग्रोथ गर्न सहज हुँदै थियो। हामी कर्पोरेट तिरको यात्रा सुरु गर्यौ।” उनी बताउँछन्। 

उनी भन्छन्, “हामीले २०१८ मा पहिलो पटक नेपाली ई- कमर्समा प्रतक्ष्य वैदेशिक लगानी भित्र्याएका थियौँ। नेपालमा त्यसबेला जग्गामा लगानी गर्ने भन्ने मात्र थियो, यसमा लगानी गर्ने थिएनन्। हामीले वैदेशिक लगानी डोल्मा एमप्याक्ट फण्ड बाट भित्र्याएका थियौ। नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि कठिन थियो, हामी डोल्मा ईमप्याक्ट फण्डको वेबसाइटमा उनीहरूले लगानी गर्ने आधारहरू हेर्दा हामी ती ५ ओटा मापदण्डको नजीकमानै थिएनौं, हामीले मापदण्ड भन्दा बाहिर सोच्नुपर्ने थियो,मलाई विश्वास थियो मैले मेरो भिजन बुझाउन सकेमा लगानी भित्रयाउन सफल हुने थिए। फण्डका फाउन्डर सँग अधा घण्टाको मिटिङ्ग तय गरेर प्रजेन्टेशन दिए, प्रजेन्टेशनकै आधारमा फण्डले लगानी गर्न तयार भयो। उद्यमी बन्न अन्तिम सम्म प्रयास गर्नुपर्छ र जित्छु भन्ने मनोविज्ञान हुनुपर्छ।”

सन् २०१८ मा वर्षौदेखिको अन्तराष्ट्रिय अनुभव भएको ई- कमर्स कम्पनी अलिबाबा केमुलाई खरिद गरेर नेपाली बजारमा प्रवेश गर्यो। अलिबाबा जसको एकैदिनको सेल नेपालको जिडीपी भन्दा बढी भएको थियो। अलिबाबाको नेपाल प्रवेशले अमुनमाथि व्यवसायको विभिन्न प्रश्नहरू तेर्शिन थाले, अमुनलाई नेपालको अर्थतन्त्र भन्दा ठूलो कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो। अमुनको रणनीतिले सस्तोडिलले चुनौतीलाई अवसरमा रूपान्तरण गर्यो। 

अलिबाबा नेपाल भित्रिएपछि सबैले सस्तोडिललाई अब व्यवसाय गर्न गाह्राे हुन्छ भनेका थिए, इन्भेस्टर डराएका थिए, टिम डराएको थियो तर म आफू निर्धक्क थिए, उद्यमीले बजारले भन्दा फरक सोच्नुपर्छ।  त्यसबेला नेपालमा रिटेल मार्केटको तुलनामा ई- कमर्स १.५% मात्र व्यापार लिएको थियो, हाम्रो प्रतिस्पर्धा अनलाइन सँग थिएन हाम्रो मुख्य प्रतिस्पर्धा रिटेल सँग थियो। हाम्रोमा उपभोक्ताहरु अनलाइन लिने गरेका थिएनन्, अनलाइन बीचको प्रतिस्पर्धा दोश्रो चरणमा थियो। 

“म अलिबाबाको मार्केट प्रवेशपछि अलिबाबाले सबै अफलाइन व्यवसाय, उपभोक्तालाई अनलाइन रूपान्तरण गर्नेछ, जसले अनलाईन व्यवसायको मार्केट बढ्नेछ। उसले आफ्नो खर्चमा मार्केट बढाउँछ, भेन्डरलाई ट्रेनिङ दिन्छ, उपभोक्तालाई सुसूचित गराउँछ, मार्केटिङमा राम्राे बजेट खर्च गरेर नेपालमा ई- कमर्स स्थापित गराउँछ, हामीले अलिबाबालाई प्रतिस्पर्धा गर्न सक्ने थिएनौ तर नजिक बस्न सकेऊ भने राम्रो फाइदा लिन सक्थ्यौं, मैले सबैलाई यही बुझाउँथे। हामीले अलिबाबालाई मार्केट लीड गर्न दियौँ भने, हामी स्थापित हुन सक्थ्यौँ । हामीले चुनौतीलाई अवसरमा रूपान्तरण गर्यौँ, अहिले नेपालको बजार ठूलो भइसकेको छ, अघिल्लो ३-४ वर्ष हामीले उनीहरूलाई लीड गर्न दियौँ अब हाम्रो स्ट्ट्राटेजी फरक रहन्छ।” उनी बताउँछन्। 

“नेपाल भूपरिवेष्ठित राष्ट्र हो जसले व्यापारमा असहज गरिरहेको हुन्छ, तर डिजिटल युगमा भूपरिवेष्ठित भन्ने भन्ने हुँदैन। डिजिटल युगमा बोर्डर हुँदैन।नेपालमा बढ्दो प्रतिस्पर्धा थियो,  हामिलाइ प्रतिस्पर्धा गर्न अर्को कम्पनीको आवश्यकता थियो २०२१ मा भारतीय कम्पनी Flipkart संग साझेदारी गर्यौ। नेपाली बजारमा धेरै सामान उपलब्ध थिएनन्, नेपालमा भारतबाट समान आयात गरिरहेका हुन्थे हामीले त्यसलाई अवसरको रूपमा लियौं। सहज रुपमा हामीलाई Flipkart ले विश्वास गर्ने वा सहकार्य गर्ने अवस्था थिएन। हामी ३ जनाको समूह भारतीय बजारलाई बुझ्न एक हप्ताको भ्रमणमा गयौं। हामीले त्यहाँ Flipkart सँगको  मिटिङ्ग तय गर्यौ र अर्को भ्रमणमा Flipkart को टीम सँग मिटिङ्गमा बस्यौ। मलाई Flipkart ले सहकार्य गर्छ जस्तो लागेको थिएन तर Give Your Best सोचेर प्रजेन्टेशन दिए। प्रजेन्टेशन पश्चात Flipkart का संस्थापकले हामीसँग सहकार्य गर्न तयार भए उनले सस्तोडिललाई Flipkart को सुरुवाती दिनलाई तुलना गरे र हामीसँग सहकार्य गर्न तयार रहे। नेपाल फर्किए सँगै कोभिडको समयमा हामीले नेपाल सरकार सँग सहकार्य गर्यौ,यी थुप्रै सहकार्यमा हामीले असम्भव कुराहरुलाई सम्भव बनाउँदै गयौं, अबको हाम्रो ग्रोथ सस्तोडिललाई कसरी अन्तराष्ट्रिय रूपमा कसरी लैजाने, लगानीकर्तालाई राम्रो मुनाफा कसरी दिने र कम्पनीका पब्लिक सहभागिता ल्याउने मेरो इच्छा रहेको, आगामी २,३ वर्षमा हामी यो यात्रामा रहेका छौ।” अमुन बताउँछन्

अबको एक २ वर्षमा सस्तोडिलले आइपीओ जारी गर्ने लक्ष्य लिएकाे संस्थापक अमुन बताउँछन्। 

*If you want to get featured on Arthasansar.com mail us at [email protected] or [email protected]



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको