Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, आँधिखोला लघुवित्तको लाभांस घोषणा

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १६ : ४३ मा प्रकाशित

आज (पाैष ११ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. सेयर बजारका लागि 'बुलिस मन्त्री' काे उपनाम पाएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रालयकाे जिम्मेवारी प्राप्त गरेका छन् । संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाउने निर्णय गरेकाे हाे ।

२. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रविले आफ्नो दावी पेश गरेका थिए । लामिछानेको दल सरकारलाई समर्थन गर्ने एमाले र सरकारकाे नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो ।

३. सेयर बजारले प्रचण्ड सरकारलाई हरियो झण्डाले स्वागत गरेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेकाे छ । नेप्से ३.०५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३८ अंकले बढेर ३७५.४५ विन्दुमा पुगेकाे छ । कूल २५० वटा कम्पनीकाे ५६ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

४. घलेम्दी हाइड्रोले १: २ काे अनुपातमा २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी प्रस्ताव गरेको हो । उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि यस कम्पनीको साधारण सभामा लगिनेछ ।

५. आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

६. सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीकाे पाैष ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

७. इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार हाेटेल हार्दिक, बागबजार, काठमाडाैँमा बिहान ८ बजेदेखि सुरू हुनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष २० गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

८. मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा योयो ब्याक्वेट सूर्यविनायक भक्तपुरमा बिहान ११ बजे देखि सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट २३% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।  साधारण सभा प्रयोजनका लागि पुस २० गते एक दिनको लागि बुक क्लोज हुने भएको छ । तसर्थ, पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर र सधारण सभामा सहभागि हुन पाउनेछन् ।

९. बैंकहरुले स्थानीय तहको संचिति कोषको रकम  असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने भएका छन्। बैंकहरुले हाल स्थानीय तहको संचिति कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्दै आएका छन् । हाल कायम व्यवस्था अनुसार उक्त रकम यहि पुससम्म मात्र गणना गर्न पाउने थिए। तर अर्थमन्त्री रहेकै अवस्थामा जनार्दन शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै बैंकहरुले आगामी असारसम्म नै  स्थानीय तहको संचिति कोष ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेका हुन्।

१०. सोमबार सुन र चाँदी दुवैकाे भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको