Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीको आगमनपछि सेयरबजारमा फर्कियो रौनक, दिनभर अरु के भयो ? (भिडियो )

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, २२ : ०९ मा प्रकाशित

मंगलबार दिनभरका आर्थिक समाचार तल उल्लेख गरिएकाे छ :

१. प्रचण्ड नेतृत्वमा बनेको नयाँ मन्त्री परिषदकाे पहिलाे बैठकले पूँजीबजारलाई महत्व दिएको छ । सोमबार साँझ बसेको नयाँ मन्त्रीपरिषदकाे पहिलाे बैठकले पूँजी बजारमा आएको गिरावटलाई सम्बाेधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरेको हो । बैठकमा अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूँजी बजारमा आएको गिरावटलाई सम्बाेधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउने निर्णय गरिएकाे छ ।

२. नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र सेयर लगानीकर्ताबीच भेटवार्ता भएकाे छ । मंगलबार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको नेतृत्वमा गएका लगानीकर्ताहरूसँग भेट्दै मन्त्री पाैडेलले पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको मनोबल बढाउन आवश्यक कदम चाल्ने बताएका छन् । लगानीकर्ताहरुलाई पौडेलले बजारमा के कस्ता समस्याहरु छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा आफुलाई फेरि पनि भेटेर सुझाव दिन लगानीकर्ताहरुलाई आग्रह समेत गरेका छन् । 

३. पूँजी बजार सरकारको प्राथमिकतामा परेसँगै नेप्सेमा उछाल देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेकाे छ । नेप्से ३.११ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.६० अंकले बढेर ३८६.०५ विन्दुमा पुगेकाे छ । कूल २६१ वटा कम्पनीकाे एक कराेड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

४. राष्ट्र बैंकको निर्देशनपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश संशोधन भएकाे छ । यसअघि फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.३७ प्रतशित नगद लाभांश वितरण गर्ने घोषणा गरेकोमा पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले संशोधन गरेर ६.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

५. नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा ४.२१ प्रतिशत नगद लाभांश जम्मा गरिएको बैंकले जनाएको छ । बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । साथै बैंक खातामा प्यान विवरण समेत अद्याअधिक गराउनुपर्नेछ ।

६. विभिन्न २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ लाख ३१ हजार २ सय ५० कित्ता र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा बराबरको २२ लाख ८०  हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

७. कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले पाैष १७ गते, आइतबारदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । कुमारी बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे । यी २ बैंक स्वाप रेसियाे १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् । 

८. मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच हिजाे (साेमबार) मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हाे ।

९. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । याेसँगै अब भाेलि (बुधबार) बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ ।  

१०. नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रमा समस्या रहेकाे तर समाधान भने गर्न सकिने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने क्रममा उनले यस्ताे बताएका हुन् ।

११. मंगलबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको छ ।  मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज पनि चाँदीको भाउ १३ सय ९० रुपैयाँ कायम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको