सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ। सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरेका हुन्।
प्रणालीको शुभारम्भ गर्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरू हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरू पाउन सकिने अवस्था आएको बताएकी छन् ।
उनले भनिन्, ‘हाम्रा सबै सरकारी वेबसाइटहरू हेर्दा खेरी विभिन्न थरी, विभिन्न डिजाइन, त्यहाँभित्र पस्दा कसको सूचना कतातिर कुनमा छ ? के छ ? भनेर सर्वसाधारणले पनि खोज्न धेरै अप्ठ्यारो हुने । विभिन्न मन्त्रालयको छुट्टाछुट्टै खोज्नुपर्ने जुन स्थिति छ, त्यो स्थितिको अन्त्य हाम्रो यो प्रणालीको विकासले गर्नेछ भन्ने लागेको छ । कार्यविधि नै पास भइसकेको हुनाले हामीलाई यसमा फलोअपको कुरा मात्रै हो । स्वाभाविक ढङ्गले सम्बन्धित मन्त्रालयले गर्ने नै छन् । आवश्यक परे हामी यहाँबाट फलोअप पनि गर्नेछौँ । सुरक्षित ढङ्गले, सरल र सहज ढङ्गले हामीले हाम्रा प्रणालीहरू चलाउन सक्नेछौँ । यसले राम्रो खर्च कटौती गर्नेछ । स्थानीय तहसम्म जाँदा खेरी सबैले आ–आफ्नो डिजाइन, सफ्टवेयर बनाउने, आ–आफ्नै तरिकाले अगाडी बढ्ने र राज्यको व्ययभार पनि धेरै हुने । सुरक्षाको पनि प्रत्याभूत नहुने जुन अवस्था बनिराखेको छ, ती कुराको अन्त्य हुने । सेवाग्राहीको सरल र सहज पहुँच हुने स्थितिको विकास भएको छ ।’
सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ। कार्यक्रममा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस