Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १७ : ५३ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे मन्त्रिपरिषद्मा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि (बुधबार)देखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले भनिन्, “मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भोलिदेखि हुने भारत भ्रमणको तयारीलगायतका विषयमा सामान्य छलफल भएको छ ।”

भारत भ्रमणको सरकारी प्रतिनिधिमण्डलको टुङ्गो लागिसकेको पनि सञ्चारमन्त्री शर्माले बताइन् । भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको जहाजमार्फत भोलि त्यसतर्फ प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद् बैठकमा बजेटका सम्बन्धमा पनि छलफल भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै बजेटसम्बन्धी छलफल गर्ने विषयमा पनि कुराकानी भएको सञ्चारमन्त्री शर्माले बताइन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को दुवै सदनमा सोमबार आव २०८०-८१ को वार्षिक बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि संसद्का दुवै सदनमा छलफल भई पारित हुनेछ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकमा नागरिकताको विषयमा पनि सामान्य छलफल भएको छ । यद्यपि, नागरिकताको विषय अघिल्लो मन्त्रिपरिषद् बैठकले निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । “आजको बैठकमा नागरिकताको विषय पनि प्रवेश भएको छ । नागरिकताको विषयमा राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार पारित गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ”, सञ्चारमन्त्री शर्माले भनिन् ।-रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको