Like us!
Follow us!
Connect us!
Watch us!
सामान्य छलफलबाट मन्त्रालयको भागबण्डा मिल्ने विश्वास

रामचन्द्र पौडेल राष्ट्रपति पदमा सर्वसम्मत् निर्वाचित हुने दिपक खड्काको दाबी

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १४ : ५२ मा प्रकाशित

रामचन्द्र पौडेल राष्ट्रपति पदमा सर्वसम्मत् निर्वाचित हुने दिपक खड्काको दाबी

नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री दिपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत् रुपमा विजयी हुने दाबी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वमन्त्री खड्काले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘ राष्ट्रपतिजस्तो गरिमामय पदमा सर्वसम्मत् गरौं भन्ने हाम्रो प्रस्ताव हो । रामचन्द्र पौडेललाई हामीले अघि सारेका छौं । एमालेले सुवास नेम्वाङलाई अघि सारेको छ । सुवास दाई शालिन व्यक्तित्व हो । म उहाँ (नेम्वङ) मार्फत, अहिले यहाँ सँगै हुनुभएको ज्वाला साहमार्फत पनि के आग्रह गर्न चाहन्छु भने–एउटा खारिएको, प्रखर, योग्य र निष्ठापूर्वक राजनीति गरेको व्यक्तित्वलाई अघि सारिएको छ । सबैले सर्वसम्म्त गरेर राष्ट्रपति निर्वाचित गरौं भन्ने आग्रह गर्न चाहुन्छ । हाम्रो पार्टीले पनि आग्रह गरिसकेको छ । केही दिनमै यो निर्णय हुन्छ होला । सुवास नेम्वङले पनि रामचन्द्र पौडललाई समर्थन गर्नुहुन्छ होलाजस्तो लाग्छ ।’

नेता खड्काले कांग्रेसले संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउने हो कि भनेर बजारमा चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘यो कुरा विल्कुल गलत हो । कांग्रेस त्यसमा जाँदैन् । एक/दुई महिनामा सरकार गिर्ने कुराले मुलुकले असर भोग्नुपर्छ । त्यस्तो अवस्था नआओस भनेर हामीले पुष २६ गते नै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो ।’

उनले अहिलेपनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् पूनर्गठन हुने बताए । उनले भने,‘अब सरकारमा आलोपालोको कुरा गठबन्धनबीच निर्वाचनअघि नै सहमति भएका रहेछन् । सरकार पाँच वर्ष नै चल्छ । यही गठबन्धन भित्रैबाट यो सरकार चल्छ । यो गठबन्धनले नै अर्को संसद्को निर्वाचन गराउँछ । एमाले र कांग्रेस मिलेर सरकार चलाउने कुरा हुँदैन् । बलियो प्रतिपक्षको पनि संसद्मा आवश्यक पर्छ । एमालेले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’

उनले सरकार निर्माणमा अहिलेको घट्ना स्वभाविक रुपले अघि बढेको सुनाए । यसअघि पुष १० गते बनेको गठबन्धन र सरकार निर्माण प्रक्रिया अस्भाविक ढंगले भएको थियो भन्ने उनको भनाई छ । उनले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका दलहरु हिजो चुनावमा पनि सँगै गएको स्मरण गराउँदै अहिले उनीहरुबीचमै नयाँ गठबन्धन बन्नु प्राकृतिक भएको दाबी गरे । उनले भने–‘हिजो हाम्रो भोट त साझा थियो । जनताप्रति उत्तरदायी हुनुपर्ने दायित्व थियो । आ–आफ्नो दलको गणितको कारण घट्ना र परिघटना विकसित भयो । पूनः अहिले निर्वाचनमा गएका गठबन्धन र थप दलबीच सहमत भएर नयाँ सरकार गठन हुने क्रम हुँदैछ । प्रचण्डकै नेतृत्वमा सरकार गठन हुन्छ । त्यसमा आठ दल सहभागी हुँदैछ ।’

उनले रवि लामिछाने नेतृत्वको रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता नलिएकोले रास्वपा पनि सरकारमा आउनसक्ने विश्वास दिलाए । उनले भने,‘उहाँहरुले समर्थन फिर्ता लिनुभएको छैन्, त्यसैले उहाँहरु पनि आउनुहुन्छ ।’

उनले प्रमुख दल र नेताहरुले मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर गम्भीर भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रा अभिव्यक्ति र हामीले राख्ने विषयवस्तुुले कस्तो सन्देश दिने भन्ने कुरा गम्भीर छ । मुलुक आर्थिक हिसाबले बडो जर्जर छ । किसानका समस्या त्यस्तै छन् । संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न थुप्रै कुरा गर्नुपर्ने छ। आरोप–प्रत्यारोपमा उत्रिनु हुँदैन । अहिले त्यो कुराको कमिकमजोरी भएकोजस्तो लाग्छ । यसरी मुलुक निर्माण गर्न सहयोग पुग्दैन् । दलहरु एक ठाउँमा आउनुपर्छ । राष्ट्रिय स्वार्थको विषयमा एक ठाउँमा बस्नुपर्छ । सरकार निर्माण गर्ने र सुशासन कायम गर्ने कुरा ठूलो हो । यसमा हामी कति गम्भीर बन्ने भन्ने कुरा कुरा यक्षप्रश्न हो । हाम्रा नेतृत्वहरु हामी युवाहरुको विश्वविद्यालय बन्न सक्नुपर्छ । हामीजस्तो सिक्दै गरेका राजनीतिज्ञलाई हौसला प्रदान गर्नसक्नुपर्छ ।’

उनले राष्ट्रपतिमा रामचन्द्र पौडेले जित्नेमात्रै नभएर सर्वसम्मत् हुने विश्वास व्यक्त गरे । उनले भने,‘हामीले त सुवास नेम्वाङले पनि स्विकार गर्नसक्ने व्यक्तित्व अघि सारेका छौं । हाम्रो प्रस्ताव भनेको उहाँको नाममा सर्वसम्मत् गरौं । सायद त्यो सम्भावना अघि बढेको भन्ने लाग्छ । परिस्थिति निर्माण भएन भने एमालेबाहेकले रामचन्द्र पौडेलको पक्षमा मतदान गर्नुहुन्छ ।’ 

खड्काले अब मन्त्रिपरिषद् पूनर्गठनमा कसले कति वटा मन्त्रालय पाउने भन्ने कुरा सामान्य छलफलबाट टुँग्निे विश्वास दिलाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको