Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले भन्यो- सडक, खानेपानी र ढल बनाउँदा नेटवर्कमा समस्या देखियो

अर्थ संसार

शुक्रबार, १९ फागुन २०७९, १६ : ०३ मा प्रकाशित

नेपाल टेलिकमले भन्यो- सडक, खानेपानी र ढल बनाउँदा नेटवर्कमा समस्या देखियो

नेपाल टेलिकमले उपत्यकामा सडक, खानेपानी, ढल र विद्युत मर्मतका क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेर मोवाइल र टेलिफोनका ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

टेलिकमले आज (शुक्रबार) एक विज्ञप्ति जारी काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुरलगायत स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेर ग्राहकले समस्या भोग्नुपरेको बताएको हो ।

‘सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भनेका छन्, ‘यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ ।’

टेलिकमले संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने भन्दै आफूहरु सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार तयार रहेको बताएको छ । संरचनामा क्षति पुगेर सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत गर्ने गरेको पनि टेलिकमका प्रवक्ता अधिकारीले बताए । 

यस्तो छ टेलिकमले जारी गरेको विज्ञप्ति:

नेपाल टेलिकमले ग्राहकवर्गलाई सेवा प्रदान गर्नको लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ । सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ । यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ । यही क्रममा काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको थियो । 

यस्तै अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको छ । कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर छ । दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिनुहुन हार्दिक अनुरोध गर्दछ । संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको छ । यस क्रममा क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्नसक्ने सम्भावना पनि रहन्छ । विविध कारणबाट ग्राहकवर्गले निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाप्रति कम्पनी क्षमाप्रार्थी हुनुका साथै कम्पनीका सेवा प्रयोगमा निरन्तरताको अपेक्षा व्यक्त गर्दछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको