नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको टिप्पणी गरेका छन् । आज काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन्।
उनले व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण दबाब समूह बनाई कालोमोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न पनि आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाहरूले लगाएको ऋण बैंक तथा वित्तीय संस्थाहरूको रकम नभएर नागरिककाे पैसा भएको बताए ।
उनले भने, ‘पछिल्लो समय लघुवित्त, ब्याजका विषयमा धेरै विषयहरू बाहिर आइरहेका छन् । बैंकको ऋण र लघुवित्तको ऋण तिर्न नसकेर आत्महत्या गर्ने कुराहरू आएका छन् । यो विषयमा नेपाल राष्ट्र बैंक जानकार छ । बैंक तथा वित्तीय संस्थाहरूबाट जसले ऋण प्राप्त गर्नुभएको छ । उहाँहरूले ऋण तिर्नुपर्दैन, अब ऋण तिर्दिनँ भन्न मिल्दैन । ऋण नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन । यो गर्न नहुने काम हो । उद्योग, व्यापार व्यवसाय मन्दीमा जान सक्छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्न आग्रह छ ।’
डेपुटी गभर्नर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरूले ऋण दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरूले पैसा पाउन समस्या हुने बताए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरूलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन नदिन उनकाे आग्रह छ । उनले बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने बित्तिकै राष्ट्र बैंकमा गुनासो गरे तत्काल कारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।
डेपुटी गभर्न मिश्रले राष्ट्रिय,अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएका कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्ट्रल बैंकहरूले ब्याज बढाएका कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस