मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गते, बिहीबारदेखि फागुन १० गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन १९ गते, शुक्रबार नै सम्पन्न भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ६० रूपैयाँ ६२ पैसादेखि अधिकतम एक सय ८१ रुपैयाँ ८६ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ६० रूपैयाँ ६२ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा एक सय ८१ रुपैयाँ ८६ पैसा हुन्छ ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेकाे थियाे ।
कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख २४ हजार ३ सय ५१ जना लगानीकर्ताहरूले १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ७ हजार ५ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका १४ लाख १७ हजार ३ सय ४६ जना आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा कुल २ लाख २६ हजार ४ सय ६५ जना लगानीकर्ताहरूले सेयर प्राप्त गरेका थिए । जसमध्ये, ५ जनाले ११ कित्ता सेयर पाएका हुन् भने बाँकी लगानीकर्ताले १० कित्ता सेयर पाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस