Like us!
Follow us!
Connect us!
Watch us!

नेविसंघले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको लागि घोषणापत्र, यस्ता छन् प्रतिबद्धता (पूर्णपाठसहित)

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १६ : ३१ मा प्रकाशित

नेविसंघले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको लागि घोषणापत्र, यस्ता छन् प्रतिबद्धता (पूर्णपाठसहित)

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेविसंघ केन्द्रीय समितिले आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । जारी घोषणापत्रको ‘नेविसंघको अबको शिक्षा नीति’ खण्डमा उल्लेख गरिएको छ–‘लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरि ज्ञानवर्दक र जीवन उपयोगी शिक्षा लागु गर्नुपर्दछ । नेविसंघ शिक्षालाई चेतना, मस्तिष्क, प्रतिभा र सिर्जनशिलताको विकासको आधार ठान्दछ ।’ नेविसंघले सबै विद्यार्थीहरुको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गराउनदेखि विद्यार्थीहरुलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने संकल्पसमेत लिएको छ । 

नेविसंघले अपाङमैत्री शिक्षालय, छात्रावृत्तिको न्यायोचित वितरण, स्वच्छ पर्यावरण र सुन्दर वातावरण, स्वदेशमै शिक्षा अनि स्वदेशमै भविष्य, विद्यार्थी सहुलियतको विशेष प्याकेजलगायतका संकल्प लिएको छ । नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ । नेविसंघले बोकेक मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निशुल्क बनाउने अठोट लिएको छ । 

घोषणापत्रमा नेविसंघले ‘के गर्ने’ र के नगर्ने भन्दै नीतिगत घोषणापनि गरेको छ । जसअनुसार गर्ने कुरामा विश्वविद्यालय ऐन निर्माणको नेतृत्व गर्ने, सस्टेनेवल प्राक्टिसेस र वातावरण संरक्षण अभियानको नेतृत्व गर्ने, महँगी, कालोबजारी र भ्रष्टाचारको अन्त्य गर्ने, सबै शिक्षालयमा स्टुडेन्ट रिसर्च युनिटको स्थापना गर्ने कुरा छ । यस्तै, नगर्ने कुरामा भने विद्यार्थीको सामूहिक हितविपरित कुनैपनि र व्यक्तिगत स्वार्थका निमित्त सम्झौता नगर्ने, कुनैपनि दुव्र्यवहार, सामाजिक असंगतीलगायतको गतिविधिमा संलग्नता नगर्ने कुरा छन् । 

नेविसंघले स्ववियु निर्वाचन–२०७९ का नाराहरुसमेत तय गरेको छ । जसमा ‘ज्ञान, विज्ञान, विवेक र चेतनाको रंग, सम्पूर्ण विद्यार्थीको साथी नेविसंघ’, सबैको पहुँचमा शिक्षा, पूर्ण साक्षरता नेविसंघको इच्छालगायतका विषय छन् । 

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरुको आन्दोलनमार्फत देशको व्यवस्था परिवर्तन भएपनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन नसकेको बताए । अध्यक्ष शेर्पाले लामो समयसम्म स्ववियु निर्वाचन हुन नसक्दा विश्वविद्यालयमा विविध समस्या देखापरेको बताए । 

‘व्यवस्था परिवर्तन भएपछि पनि अझैपनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन सकेको छैन । आज सानो–सानो कुराहरु समयमा परीक्षा नहुने, समयमा नतिजा नआउने र लामो समयसम्म विद्यार्थीहरुले नतिजा कुर्नुपर्ने, नतिजा कुर्दाकुर्दै खाडी देशमा जानुपर्ने अवस्था हामीले देखिरहेका छौं,’–उनले भने । 

विद्यार्थीहरुका हातमा व्याच्लर र मास्टर्सका प्रमाणपत्र भएपनि उनीहरुले सामान्य इन्टर्नका लागिसमेत हारगुहार गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । हातमा विश्वविद्यालयको प्रमाणपत्र भएपनि मार्केटमा जागिर पाउने अवस्था नभएको उनले बताए । लामो समयसम्म स्ववियु निर्वाचन नहुनुको परिणाम देशमा अहिले दुई थरीको शैक्षिक संस्थाको स्थापना भएको उनले बताए । त्यसैगरी अहिले सरकारी र सामूदायिक क्याम्पसहरुमा ल्याव र लाइब्रेरी लगायतका समस्या जस्ताको तस्तै रहेको उनले बताए । विश्वविद्यालयको अवस्था सुधारको लागि पनि स्ववियु निर्वाचनमा नेविसंघको जित अपरिहार्य भएको शेर्पाको दाबी छ ।

 ‘आज विद्यार्थीको हातमा ब्याचलर र मास्टर्सको सर्टिफिकेट छ । तर, सामान्य इन्र्टन गर्नका लागि पनि हारगुहार गर्नुपर्ने, पावर लगाउनुपर्ने जस्ता कठिनाई विद्यार्थीहरुले भोगिरहनुभएको छ । हातमा सर्टिफिकेट छ, तर मार्केटमा जब छैन । आज देशमा दुई वर्गको पढाई भइरहेको छ । सरकारी र सामूदायिक क्याम्पसमा ल्याव र लाइब्रेरीको व्यवस्था भएको छैन । विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन नसक्नुको कारण यो अपस्था आयो,’–उनले भने । 

विश्वविद्यालयले आफ्नो विश्वसनियता कायम गर्न नसक्दा आज विश्वविद्यालयमा विद्यार्थी संख्या घटिरहेको उनको बुझाई छ । समयमा परीक्षा नहुने, समयमा नतीजा प्रकाशन नहुने, प्रश्नपत्र दोहोरिने लगायतका समस्याका कारण विश्वविद्यालयले आफ्नो विश्वसनीयता गुमाइरहेको उनको आरोप छ । साथै, अब नेतृत्वले पनि आफूले बोलेको कुरा पुरा गर्न नसक्दा आफ्नो विश्वसनीयता गुमाइरहेको उनले बताए । 

विद्यार्थी र विश्वविद्यालयका मुद्दामा गम्भीर भएर काम गन पनि उनले नेविसंघका नेता तथा विद्यार्थीलाई आग्रह गरे । निर्वाचन अघि घोषणापत्रमा उल्लेख भएका संकल्पहरु पुरा गर्नका लागि तयार रहन पनि उनले नेतृत्वलाई आग्रह गरे । स्ववियु निर्वाचनले देशैभरि शिक्षित नेतृत्वको विकास हुने पनि उनले विश्वास व्यक्त गरे । विद्यार्थीका समस्या, पुस्तकालय, ल्याब, लाईब्रेरी, विद्यार्थीको स्वास्थ्य लगायतका कुरालाई आफ्नो संगठनले विशेष महत्व दिएको उनको दाबी छ । 

अहिले नेविसंघभित्र रहेका असन्तुष्टी र समस्या स्ववियु निर्वाचनपछि बसेर टुंग्याउनपनि उनले असन्तुष्ट पक्षसँग आग्रह गरे । आगामी चैत्र पाँच गते हुँदै गरेको स्वविय्ु निर्वाचनमा सहयोग गर्न उनले नेविसंघका सबै विद्यार्थी तथा नेताहरुलाई आग्रह गरे ।

‘केही साथीहरुमा असन्तुष्टि छ भने सबै कुराहरु स्ववियु चुनावपछि हामी सबै जना बसेर बहस र छलफलबाट टुंग्याऔंँ । सबैजना एकीकृत भएर यसलाई सफल बनाऔं । यो चौध वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी संगठनको निर्वाचनलाई अझैपनि धेरै ठाउँबाट भाँड्ने काम हुँदैछ । यो स्ववियु निर्वाचन कुनैपनि हालतमा भाँडिनुहुँदैन । यदि त्यस्तो प्रपञ्च भयो भने त्यसको प्रतिकार नेविसंघले गर्छ । सबै साथीहरुलाई यसको प्रतिकार गर्न तम्तयार भएर बस्न आग्रह गर्छु,’–उनले भने ।

 घोषणापत्र सार्वजनिक समितिको सदस्य सचिव विकल राईले स्ववियु निर्वाचनले विद्यार्थीहरुमाँझ आलोचनात्मक चेतनाको निर्माण गर्ने बताए । स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने प्लाटफर्म भएको बताए । अहिले स्ववियु निर्वाच हुन नदिने विभिन्न प्रपञ्च भइरहेकोतर्फ लक्षित गर्दै त्यसप्रति सचेत हुन पनि उनले सबैलाई आग्रह गरे । समाजमा विचार शून्यता हुन नदिनका लागि स्ववियु निर्वाचन हुन आवश्यक रहेको उनको भनाई छ । 

‘स्ववियु निर्वाचन देशका लागि सक्षम र सचेत नागरिक उत्पादन गर्ने क्षेत्र पनि हो । स्ववियु निर्वाचनबाट टाढा राखेर विद्यार्थीहरुमा वैचारिक शून्यता प्लान्ट गर्न खोजिँदै छ । यसको विरुद्धमा नेपाल विद्यार्थी संघ प्रष्ट तरिकाले स्ट्यान्ट राख्छ । अब स्वतन्त्र विद्यार्थी युनियनको सान्दर्भिकतालाई सावित गर्न नेविसंघ अगाडि बढ्छ,’–उनले भने । वैज्ञानिक, व्यवहारिक र अनुसन्धनात्मक पाठ्यक्रम र शिक्षाको पक्षमा नेविसंघ रहेको उनले बताए । 

कार्यक्रममा सरस्वती बहुमुखी क्याम्पसमा नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार मुस्कानराज गौतम, नेपाल कमर्श क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार गणेश टण्डन, नेविसंघकी नेतृ मिरा कटुवाल, नेविसंघ स्ववियु निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा.सन्तोष उपाध्यलगायतले आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले देशव्यापी रुपमा स्ववियुको निर्वाचनमा नेविसंघका उम्मेदवारलाई विजयी गराउन लागिपर्न पनि नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको