Like us!
Follow us!
Connect us!
Watch us!

बढी भत्ताको प्रलोभनमा नेपाल लाइफका सञ्चालक कमलेश अग्रवालले गराए आफ्नै छोरालाई पदच्यूत

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १७ : १९ मा प्रकाशित

बढी भत्ताको प्रलोभनमा नेपाल लाइफका सञ्चालक कमलेश अग्रवालले गराए आफ्नै छोरालाई पदच्यूत

प्रायः जसो बीमा कम्पनीका सञ्चालकको मासिक तलब निकै उत्कृष्ट हुन्छ । साथै, बीमा कम्पनीका सञ्चालकहरुले सञ्चालक समितिको बैठकबाट पनि मनग्य भत्ता पाउने गर्दछन् । त्यही बढी भत्ताको लोभमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नै छोरालाई पदच्यूत गराएको पाइएको छ । हुनत बीमा कम्पनीहरुमा आफ्नो फाइदाको लागी सञ्चालकहरुले आफैँ नियम बनाउने र हटाउने जस्ता गतिविधीहरु प्रायः भइरहन्छ ।

नेपाल लाइफका सञ्चालकले पनि नियम मिची बारम्बार बलजफ्ती गरिरहेका पाइएको छ । कम्पनी कै भरमा सञ्चालकहरुले आफ्ना नातेदारलाई पोस्ने र कार्यकारी जस्तो गरिमामय पदमा नियम विपरित उच्च ओहदामा नियुक्त गर्ने गरेका पाइएको छ । उनीहरुले आफना नातेदार र छोराहरुलाई नियुक्त गरि तलब, भत्ता र कम्पनीबाट पाउने सुख–सुविधा लिन उत्तिकै अग्रसर हुने गरेको पाइएको छ । 

एकै घरमा दुई कम्पनीको पैसा आउन लोभमा नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले बिमा प्राधिकरणका नियम विपरित आफ्ना छोरा जयन्त कुमार अग्रवाललाई सूर्यज्योती लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त गरे । बुबा र छोरो दुवै जना दुई कम्पनीको सञ्चालक पदमा रही नियम विपरित रकम हिनामिना गरे । नेपाल लाइफका सञ्चालक अग्रवालले आफ्ना छोरालाई सूर्यज्योती लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा नियुक्त गरेसँगै बिमा प्राधिकरणको ध्यानाकर्षण भयो । र, उनीहरुको विरुद्धमा एक निर्देशन जारी गर्यो ।

उनीहरुकोविरुद्ध प्राधिकरणद्वारा जारी निर्देशनमा भनिएको थियो, ‘नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र उनका छोरा जयन्त कुमार अग्रवाल नियम विपरित दुबै जना जीवन बीमा कम्पनीको सञ्चालक बस्न नपाउने भन्दै कुनै एक जनाले तत्काल राजीनामा दिनुपर्छ ।’ नेपाल लाइफका सञ्चालक अग्रवालले बाबु–छोरा कार्यरत रहेका दुई कम्पनीको सञ्चालक पदको तलब भत्ता तुलना गरे । र, आफ्नो तलब र भत्ता बढी रहेको कारण उनले प्राधिकरणको नियमको आधारमा आफ्नै छोरा जयन्तलाई सूर्यज्योती लाइफको सञ्चालक पदबाट राजीनामा दिन लगाए ।

दुवै कम्पनीको प्रतिवेदन हेर्दा सूर्यज्योती लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षको बैठक भत्ता १५ हजार रहेको छ भने नेपाल लाइफको अध्यक्षको बैठक भत्ता २२ हजार रहेको छ । कमलेश अग्रवालले आफ्ना छोरालाई सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा मर्ज भएपछि बनेको सूर्यज्याति लाइफको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेका थिए । तर, आफ्ना बाबुका कारण उनले तुरुन्तै आफ्ना स्वतन्त्र सञ्चालकको पदबाट राजीनामा दिनु परेको थियो ।

संस्थागत सुशासनअनुसार बीमा कम्पनीका सञ्चालक दुई कार्यकाल भन्दा बढी सो पदमा बस्न नपाउने व्यवस्था रहेको छ । नियमको उलंघन गर्दै कमलेश अग्रवाल अहिले पनि उक्त पदमा कार्यरत छन् । नैतिकताको आधारमा कमलेश अग्रवालले राजीनामा दिनुपर्ने ठाउँमा बढी भत्ता पाउनका लागि उनले आफ्नै छोरोलाई स्वतन्त्र सञ्चालकबाट राजीनामा दिन लगाए । यसरी हेर्ने हो भने बीमा कम्पनीहरुको छवी निकै खराब हुँदै गएको देखिन्छ । मनलाग्दी र पहुँचको भरमा उनीहरुले नियम उलंघन गरिरहेका छन् । बीमा प्राधिकरणले कारबाही प्रक्रिया अगाडी बढाएपनि उनीहरुलाई कानुनको दायरामा ल्याउन सकेको छैन ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमाथि छानविन प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले करोडौं रुपैयाँ कर छली गरेको भन्दै आयोगले छानविन सुरु गरेको हो ।  त्यस्तै नेपाल लाइफ विगत केहि दिनयता देखि निकै विवादास्पद कार्यहरु गरिरहेको खुलेको छ । नियम विपरितको काममा लिप्त सञ्चालक कमलेशले अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा करिब १३८ वटा सञ्चालक समितिको बैठक बसाएका थिए । उक्त समितिको बैठकको नामबाट उनले २८ लाख भन्दा बढी रकम लिएको खुलेको छ ।

त्यस्तै उनले सिटी सेन्टरमा पनि अवैध गरेका छन् । लगानी गरेकै भवनमा नेपाल लाइफको कार्यालयलाई भाडामा सञ्चालन गर्दै आएका छन् । कम्पनीका सञ्चालक कमलेशले कम्पनीका नाममा मासिक भाडा असुली गरि स्वतः राख्ने गरेको पाइएको छ । आफूसँग भवन हँदा हुँदै पनि उनले यस्तो कार्य गर्दा प्रष्ट देखिन्छ कि उनी अवैध कार्यमा लिप्त छन् । त्यस्तै उनले आफूले बहाल गरेका व्यक्तिहरुलाई एक पटकमा तीन तहसम्म बिना योग्यता बढुवा समेत गरिरहेका छन् । पहुँचको भरमा उनीमाथि कारबाही प्रकृया अघि बढेपनि बिना निष्कर्ष नै टुङ्गिरहेको छ । 

सम्बन्धित समाचार:

नेपाल लाइफमा सञ्चालकको मनलाग्दी, बैठकबाटै २७ लाख बढी रकम झ्वाम

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको