Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर अधिकारीले भने- ‘नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ’

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १३ : २० मा प्रकाशित

गभर्नर अधिकारीले भने- ‘नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने देशमा पर्ने बताएका छन् । आज (सोमबार) नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले विश्वका अन्य देशहरूमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताए  । उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने उल्लेख गरे । 

उनले भने, ‘नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने हामी सबैभन्दा बढी खर्च गर्छाैँ । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको दर एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो । आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ । विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रूपमा अगाडि बढाउन गइरहेको छ । एक हप्ता थप सिक्ने र मुद्रालाई सही सदुपयोग गर्ने, जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्‍याउनेछ ।’ गभर्नर अधिकारीले सेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै सेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताए । उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताए  ।

'आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस्' भन्ने नारासहित सोमवारदेखि ग्लोबल मनी विक–२०२३ सुरु भएको छ । ग्लोबल मनी विकको यो ११ औँ संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकामा रहेका विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा याे कार्यक्रम आयोजना गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको