सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन् । हिजो (शनिबार) धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधरणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताए । उनले व्यवसायीहरूलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताए ।
उनले यस्तो अवस्थामा एकतर्फी रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए । उनले वर्तमान परिस्थितिलाई चाँडै अन्त्य गर्नका लागि सरकार, संसद, सांसद र निजी क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरूका अन्य समस्या समाधान गर्नका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।
सभामुख घिमिरेले व्यवसायीहरूको आन्दोलन भन्दा वार्ताका माध्यमबाट समस्या समाधानका लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे । उनले देशको अर्थतन्त्रमा गम्भीर स्थिति देखापरेको भन्दै त्यसको सामना गर्नका लागि सबैले आ– आफ्नो ठाउँबाट लाग्न जरुरी रहेको बताए ।
महासंघले साधरण सभामार्फत बैंकको ब्याजदर एकल अंकमा ल्याउन आवश्यक पहल गर्न माग गरेको छ । महासंघले समय उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न सरकार गम्भिर हुन माग गरेको छ । बैंक कर्जाको ब्याजदर सरकारले एकल अंकमा ल्याउनुपर्ने, सरकारले विदेसिने युवाहरूलाई देशभित्र नै रोजगारी दिनका लागि स्वरोजगार मुलक तालिमको व्यवस्था गर्ने, व्यवसायीले आयात गर्ने वस्तुहरूको भन्सारदर कम गर्नु पर्ने र व्यवसायीहरूलाई लगाइएको दोहोरो कर प्रणाली अन्त्य गर्नुपर्ने माग गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस