सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफलको छ । नियुक्तिबारे छलफल भए पनि कुनै निष्कर्षमा भने पुग्न सकिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र ‘एजेण्डा’ भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। सोबारे अर्को बैठकमा निर्णय गर्ने गरी बैठक सकिएको उनले बताए।
उपप्रधानमन्त्री तथा रक्षा एवं कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले परिषद्को बैठक बसेको उल्लेख गर्दै बैठकमा प्रधानन्यायाधीश नियुक्तिसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी दिए । “प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एजेन्डा थियो, त्यो एजेण्डामा छलफल भयो, बैठक स्थगित भयो”, उनले भने। अर्को बैठक कहिले बस्नेबारे समय नतोकिएको उनको भनाइ छ ।
बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री खड्का र मुख्यसचिव शङ्करदास वैरागी सहभागी थिए ।
नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद् रहने व्यवस्था छ । परिषद्को अध्यक्षमा प्रधानमन्त्री रहने र प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने व्यवस्था छ । नेपाल सरकारको मुख्यसचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्ने प्रावधान छ ।
प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताबीच आइतबार भएको भेटमा सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको थियो । दलहरूबीच सहमति भएपछि प्रधानमन्त्री दाहालले परिषद्को बैठक बोलाएका हुन् । लामो समेदेखि प्रधानन्यायाधीश पद रिक्त छ ।रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस