नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दाेष व्यक्तिलाई जबर्जस्ती फसाउने काम कतैबाट हुन नहुने कांग्रेसको भनाइ छ ।
कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ पत्रकार सम्मेलन गरी सो प्रकरणबारेमा पार्टीको धारणा स्पष्ट पार्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र यसमा पार्टीको सहयोग रहने स्पष्ट पारे ।
उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा ‘मिडिया ट्रायल’ पनि भइरहेको आफूले पाएको भन्दै निर्दाेष व्यक्तिलाई पनि दोषी देखाउने प्रयत्न भएकोप्रति खेद प्रकट गरे ।
कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हालसम्म सो प्रकरणमा कुनै पनि दोष नदेखिएको र प्रमाण समेत नपाइएको अवस्थामा पनि सामाजिक सञ्जालमा ‘फेक अडियो’ बनाएर केही व्यक्तिले उनको बदनाम गर्न खोजिरहेको तथा यस्तै प्रकृतिका समाचारहरु कतिपय सञ्चारमाध्यममा आएको प्रवक्ता डा महतको भनाइ थियो ।
सांसद डा राणाले आफ्नो बदनाम गर्न फेक अडियो बनाउनेलाई काराबाहीका लागि प्रहरीसमक्ष निवेदनसमेत दिइसकेको जानकारी गराउँदै प्रवक्ता डा महतले भने, “उनले फेक अडियो बनाउनेलाई कारबाही गर्न उजुरी गरेका छन् । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषीझैँ व्यवहार भइरहेको देखिएको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने हाम्रो पूर्ण विश्वास छ ।”
सोही प्रकरण अनुसन्धानका क्रममा प्रहरी हिरासतमा पर्नुभएका कांग्रेस नेता बालकृष्ण खाणले आफू निर्दोष छु, सावित गर्छु, भनेकाले पार्टीले निलम्बन नगरेको पनि उनले स्पष्ट गरे ।
यस प्रकरणमा पार्टी सभापति किन मौन भन्ने प्रश्नको जवाफमा उनले भने “पार्टी सभापति शेरबहादुर देउवाले पनि सो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताउँदै आउनुभएको छ, तपाईंहरुलाई थाहै छ उहाँकोे कम बोल्ने बानी छ, कांग्रेसको स्पष्ट धारणा पनि यही हो कि यस प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस