Like us!
Follow us!
Connect us!
Watch us!

सुन्दर बन्दै ‘बालेनको सहर’ काठमाडौं

निकिता खनाल

शनिबार, १३ जेठ २०८०, १० : ०० मा प्रकाशित

सुन्दर बन्दै ‘बालेनको सहर’ काठमाडौं

‘यात्रा बालेनको सहर’सम्मको यो वाक्य कुनै क्षेत्रबाट काठमाडौँ आउँदै गरेका व्यक्तिहरुले आफ्नो सामजिक सञ्जालमा राखेको देख्नुभएकै होला । यसका लागि गत वर्षलाई फर्केर हेर्दा, काठमाडौँ फोहोरको सहर थियो । चोक चोकमा फोहोरका थुप्रा देखिन्थे । वर्षाको समयमा उपत्यकाको सडकभरि फोहोर जमेको हुन्थ्यो । सडकमा ढल बगिरहेको हुन्थ्यो । सडकपेटी फुटपाथ व्यापारीले ढाकिएको हुन्थ्यो ।

सडकमा राखेको पसलले बस स्टपमा एकछिन गाडी कुर्दासम्म बस्नै मुस्कील हुन्थ्यो । गर्मीको समयमा हैजा र डेंगुले आक्रान्त थियो काठमाडौँ । तर, आज यी समस्या निकै कम देखिन्छ । बाग्मती र विष्णुमती आफ्नै किनारको फोहोरले ढाकेर निरन्तर बग्दाबग्दै अस्तित्व नै हराएको र थाकेको थियो । आज महानगरको डोजर नदीमा आउँदा मुस्कुराउन थालेको छ ।

गत वर्ष बैशाख ३० मा भएको स्थानीय निर्वाचनमा काठमाडौँ महनगरपालिका मेयरमा निर्वाचित बालेनले जेठ १६ मा सपथ ग्रहण गरे । त्यसपछि उपत्यकामा छुट्टै तरंग छाँयो । एकवर्ष अघिको सम्झना गर्दा र आजसम्म आईपुग्दा काठमाडौं महानगरको मुहार नै फेरिएको छ । काठमाडौँ महानगरलाई ‘कान्तिपुरी बनाउँछौँ’ यो शब्द महानगरपालिकाकी उपमेयर सुनित डङ्गोलले पनि निर्वाचित हुनु अघि धेरै पटक दोहोर्याएकी थिईन् ।

बालेनले काठमाडौँलाई हेर्दा भक्तपुर जस्तो बनाउने बताए । यहि जेठ १६ मा बालेनको एकवर्षीय कार्यकाल पुरा हुँदैछ । केहीदिन अघिमात्र धनगढीको बिरामी काठमाडौँ आउँदा महानगरको एम्बुलेन्सले दिएको निशुल्क सेवा पाउँदा चर्चा पाएको थियो । बालेनले कर्णालीको पालीकाले आफुसँग साधन स्रोत नहुँदा एम्बुलेन्सको लागि ४ लाख माग्दा एम्बुलेन्स नै दिएर पठाए । 

एकवर्षलाई फर्केर हेर्दा 

चुनावी घोषणापत्र अनुसार काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष र अदक्ष जनशक्ति , विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने कार्य अगाडी बढेको छ । काठमाडौंका सडकमा थुप्रिएको फोहोर देखिन छाड्यो, सडक व्यापार बन्द भयो, सडक पेटीमा सर्वसाधारण हिड्न पाउने भए । अतिक्रमित सार्वजनिक स्तरका संरचनामा डोजर चल्यो, टुकुचा खोला उत्खननमा लागे । महानगरले खोलामाथि घर बनाउनेविरुद्धको मुद्धा जीतेको छ । 

चोक–चोकमा सीसीटीभी क्यामेरा जडान र सञ्चालनको प्रक्रिया लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराएको हो ।

विद्यालयमा शिक्षकसँगै सिपको थालनी गरे, शुक्रबारको किताब विहीन शिक्षाको अवधारणा सुरु भएको छ । उपत्यकामा अस्तव्यस्त रहेको तार हटाउने काम तिव्र गतिमा चलिरहेको छ, अनलाईनबाट काठमाडौं महनगरको सेवालिन सकिनेगरी ‘केएमसी’ एप सञ्चालनमा ल्याएको छ । यस एपबाट नक्शा पासलगायतका काम गर्न लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । काठमाडौँ भित्र एम्बुलेन्स सेवालाई पूर्ण रुपमा निशुल्क बनाए । काठमाडौँ महनगरको पैसा कस्तो बजेटको लागि उपयुक्त हुन्छ भनेर जनतासँग सुझाव मागेका थिए । विष्णुमती र बाग्मती खोला सफा गर्ने काम पनि भयो, केहि दिन अघिमात्र विद्युतीय सवारी साधन सञ्चालनमा ल्याइएको छ ।

मेयरमा सपथ खाएसँगै बालेनसामु चुनौतीका चाङ थिए । मुख्य एजेन्डाको प्राथमिकतामा नै फोहोर व्यवस्थापन गर्ने भनेका बालेनले अनेक बाधा अबरोध झेल्नुपर्याे । फोहोर व्यवस्थापन गर्दा उपत्यकादेखि सिसडोलसम्म पुग्नका लागि भएका अवरोधहरु स्मरणनै होला । महानगरले पहिलेका कमजोरी वा गल्तिहरु नगर्ने, फोहोरको दीर्घकालिन व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै आयो । यस्तै, महानगरले साउन १ गतेबाट कुहिने र नकुहिने अलग अलग प्रकृतिका फोहोरहरु उठाउनका लागि छुट्टछुट्टै फोहोर संकलन गर्न आह्वान गर्यो । कुहिने र नकुहिने फोहोर उठाउने फरकफरक गाडीहरु पठाइरहेको छ । दिर्घकालिन फोहोरको समस्याको समाधान गर्न फोहोरबाट प्राङ्गारिक मल बनाउने कार्यमा पनि महानगर लागिरहेको छ । 

भदौं तथा असोजमा काठमाडौँ महानगरपालिकाले नक्सा र मापदण्ड विपरित बनेका संरचनाहरु हटाउने अभियान चलायो । हरेक ठाउँमा रहेक व्यक्तिसँग लड्दै मेयर साहले उक्त विषयको स्पष्टिकरण दिँदै फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि भएको र सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुने बताए ।

महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस पनि गरेको जुन पुर्णरुपमा असफल भएको थियो । निश्चित ठाउँ भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देखिएको साहले स्पष्ट पारे । यदी संघीय सरकारले यस विषयमा कदम चाल्दा राष्ट्रियस्तरमा नै यसको समाधान गर्न सकिने देखिन्छ । महानगरले गरेको उक्त कामको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

मेयर साहले शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिएका छन् । उनले शिक्षासँगसँगै इस्पोर्टस्का लागि एक करोड बजेट नै छुट्याउने निर्णय गरे । ‘हिपहप’ र त्यसको नेपालीकरण ‘नेपहप’ संगीतमा नयाँ बिधा भएकाले यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम यमबुद्धको सालिक बनाउने निर्णय पनि बालेनको थियो । यस निर्णयले बालेन निकै आलोचित भए ।

नर्भिक अस्पताललगायतको अनधिकृत संरचना हटाउने लगायतका सन्दर्भमा बालेनले स्पष्टिकरण दिएर नै काम अगाडी बढाए । अदालतमा रिट हालेर बालेनको काम रोक्ने प्रयास भयो । काठमाडौँ भरी २४ घन्टा नै निःशुल्क एम्बुलेन्सको सेवा सुरु भएको छ । त्यसको लागि १०२ मा कल गरेर निशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ । काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको छ ।

योसँगै घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिने भएको छ । यो प्रणालीसँगै केहि हदसम्म विचौलिया प्रवृतिको अन्त्य हुने देखिएको छ ।  

बालेन काठमाडौं बासीका मात्र होइन् विश्वभर रहेका नेपालीहरुको आशाका केन्द्र भएका छन् । चर्चा र आलोचनाका पर्याए बनेका छन् बालेन । एक वर्षमा बालेनको नेतृत्वमा महानगरले गरेको कामले थोरै आलोचना र धेरै प्रशंसा पाएको छ । सर्वसाधारणहरु काठमाडौंको मेयरमा बस्न लायक एकमात्र  पात्रको रुपमा मेयर साहलाई छान्ने गरेका छन् ।

देशलाई बनाउँछु भनेर सिंगो देशलाई चुनौती दिने बालेनले अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समेत चर्चा पाए । अमेरिकी पत्रिका ‘न्यू योर्क टाइम्स’ले उनको खुलेरै प्रशंसा गर्यो । यो कुनै काठमाडौंका मयेरका लागि निकै ठूलो सफलताका रुपमा रहेको छ । अझै कुनै क्षेत्रबाट काठमाडौं आउँदै गरेकाहरुले ‘यात्रा बालेनको सहर’सम्मको भनेर समाजिक सञ्जालमा लेख्न थालेका छन् । 

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँको नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ केहि समय अघि मेयर साहले आफ्नो सामाजिक सञ्जालमा लेखे । उनले सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेर केन्द्र सरकारलाई चुनौती दिए ।

सिंहदरबारको फोहोर नउठाउने मेयर साहको निर्णयलाई अदालती प्रक्रियामार्फत् केन्द्र सरकारले कमजोर बनाउने कोसिस गर्यो । अझै सिंहदरबार नै काठमाडौं सार्न भनेर मेयर साहले दिएको अभिव्यक्ति चर्चाको विषय बन्यो । उनी वर्तमान राजनीतिप्रति वितृष्णा देखिन्छन् । वर्तमान राजनीतिक व्यवस्था, नेताहरूको कार्यशैली र चरित्रमाथि उनी समाजिक सञ्जालमार्फत् प्रश्न सहित आक्रोश पोख्छन् । 

सामाजिक सञ्जालको टिप्पणी हेर्दा बालेन राजनीतिक दलहरुप्रति निकै आक्रोशित छन् । उनले सुधारका काममा बाधा गर्ने संघीय सरकारविरुद्ध आन्दोलन नै गरे । कुरा मात्रै गर्ने काम नगर्ने आफुले गरेको काम रोक्नेहरुले बोलाएको बैठकमा किन जानु भनेर बालेन प्रधानमन्त्रीले बोलाएको बैठकमा समेत जान छाडे । 

इच्छाशक्ति भए एउटा महानगरको मेयरले एक वर्षमा कति काम गर्न सक्छ, कस्ता योजना बनाउन सक्छ, कसरी काम गर्न सक्छ, जनतासम्म कसरी डेलिभरी दिन सक्छ, एक वर्षमा कति धेरै सुधार गर्न सक्छ भन्ने उदाहरण बनेका छन् बालेन । 

महानगरका अबका योजना ?

  • –दरबार हाईस्कूललाई अन्तर्राष्ट्रिय स्तरको नमुना विद्यालय बनाइने
  • –बस स्टपहरुमा परम्परागत शैलीको फल्चा बनाइने
  • –कर दाताको स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिइने
  • –एकिकृत एम्बुलेन्स सेवा गरिने
  • –संंकृति र जीवनशैलीबारे अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग अनुभव आदानप्रदान गरिने
  • –कम्पनि मार्फत घरभाडा लिनेदिने व्यवस्था गरिने
  • –हरेक आईतबार जनतसँग मेयर कार्यक्रम सञ्चलन गरिने
  • –महानगरले आफ्नै मार्ट खोल्ने कला क्षेत्रलाई प्रवर्धनका लागि डबलिहरुको पुनस्र्थापना र एमपी थिएटर निर्माण गरिने
  • –नेवारी पेयपदार्थलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गरिने  सार्वजनिक सवारी साधनमा जीपीएससहितको सीसीटीभी जडान गरिने
  • –खुलामञ्च छेउमा भूमिगत पार्किङ बनाईने
  • –महानगरको कार्यालय रहेको बागदरबारलाई पुर्ननिर्माण गरिने
  • –पानी पुनर्भरणका लागि सरकारी कार्यलयका खाली परिसरमा पोखरी र रिभर्स बोरिङ बनाइने
  • –महानगरका सेवलााई ‘होम डेलिभरी’को अवधारणामा लगिन
     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको