Like us!
Follow us!
Connect us!
Watch us!

बालेनकै शैलीमा उत्रिइन् रेनु दाहाल, अवैध संरचना हटाउन सुरु

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १६ : १७ मा प्रकाशित

बालेनकै शैलीमा उत्रिइन् रेनु दाहाल, अवैध संरचना हटाउन सुरु

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । 

यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन् । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन् । 

महानगरभित्र २९  वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिइन् । विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमाङ्कन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो । महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरिएको छ । नारायणी नदी किनारमा रहेका अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको थियो । 

महानगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अवैध संरचनाको व्यवस्थापन समिति गठन गरेको छ । सोही समितिले सबै वडामा काम गर्ने उनले बताए। सरकारी जग्गामा व्यवसाय, सङ्घसंस्था रहेको तथ्याङ्क सङ्कलनको काम सकिएको महानगरले जनाएको छ ।

यस क्रममा पुगी खोला र केरुङ्गा खोला किनारमा बनेका मापदण्ड विपरीतका संरचनालाई हटाइने योजनामा महानगरको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले यो अभियान निरन्तर रहने उपप्रमुख चित्रसेन अधिकारीले बताए । 

उनले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने बताउँदै  नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने कार्य सम्पूर्ण महानगरवासीको साथ सहयोग अपेक्षा गरे ।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको