Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरलाई शेयर खरीद सापटीको अधिकार दिने तयारीमा बोर्ड

आइतबार, २९ असोज २०७४, ०८ : ०७ मा प्रकाशित

ब्रोकरलाई शेयर खरीद सापटीको अधिकार दिने तयारीमा बोर्ड

अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्ड पूँजीबजारलाई थप आधुनिक बनाउन र आम लगानीकर्तालाई प्रोत्साहित गर्न र ब्रोकर कम्पनीहरूले शेयर खरीद सापटी (मार्जिन लेण्डिङ) दिन पाउने व्यवस्था गर्न लागिपरेको छ ।

बोर्डले छिटोभन्दा छिटो ब्रोकरलाई मार्जिन लेण्डिङको अधिकार दिने गरी नीतिगत व्यवस्था गर्न लागेको बताएको छ ।

ग्राहकले खरीद गर्न चाहेको शेयरको कुल मूल्यको केही प्रतिशत मात्र रकम तिरेर शेयर खरीद गर्न पाउने व्यवस्थालाई मार्जिन लेण्डिङ वा मार्जिन ट्रेडिङ भनिन्छ । यसरी शेयर खरीद गर्दा मार्जिन (शुरूमा तिरेको रकम) बाहेकको रकम ब्रोकर कम्पनीले आफ्नो नाममा ग्राहकको दायित्व (सापटी) सृजना गरेर शेयर विक्रीकर्तालाई भुक्तानी गर्छ ।

यस्तो सापटीमा शेयर खरीद गर्न मिल्ने व्यवस्थामा ब्रोकर कम्पनीलाई कतिसम्म कार्यभार दिने र नियमनका कस्ता प्रावधान राख्ने भन्ने विषयमा बोर्डले शुक्रवार स्टक ब्रोकर्स एशोसिएशनसँग छलफल गरेको छ ।

छलफलमा बोर्डले ब्रोकर कम्पनीहरू ग्राहकलाई कति सुविदा दिन तयार र सक्षम छन् वा प्रस्तावित निर्देशिकामा कस्ता प्रावधान समेट्न चाहन्छन् भन्ने विषयमा सुझाव सङ्कलन गरेको बताइएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्कीले केही पहिले एक कार्यक्रममा ब्रोकरबाट मार्जिन लेण्डिङ सेवा सञ्चालन गर्ने कामको तयारी करीब अन्तिम चरणमा पुगेकोे बताएका थिए ।

पछिल्लो विकासको सन्दर्भमा जिज्ञासा राख्दा यस विषयमा छिटै टुङ्गोमा पुग्ने गरी तयारी भइरहेको उनले जानकारी दिए । ‘त्यसैका लागि सरोकारवालाहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने ।

मार्जिन लेण्डिङको व्यवस्थासँगै ब्रोकरको कार्यक्षेत्र पनि विस्तार हुनेछ । संशोधित धितोपत्र व्यवसायी नियमावली २०७४ ले ब्रोकर कम्पनीको चुक्तापूँजी १० गुणासम्म बढाएर कम्तीमा २ करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तो बाध्यात्मक व्यवस्था गरेपछि ब्रोकरहरूले भने डिलरसिप, मार्जिन लेण्डिङ र परामर्शदाताको काम समेत गर्न पाउने गरी कार्यक्षेत्र बढाउनुपर्ने माग गर्दै आएका थिए । यसरी ब्रोकरहरूले राखेको मागलाई बोर्डले केही हदसम्म सम्बोधन गर्न लागेको देखिन्छ ।

हालै मार्जिन लेण्डिङ ब्रोकरका लागि छिटै व्यवस्था गर्न गृहकार्य गरिरहेकाले उक्त माग शुरुआत गरेको देखिन्छ । शुक्रवारको छलफलमा सहभागी स्टक ब्रोकर्स सङ्घका अध्यक्ष प्रियराज रेग्मीका अनुसार बोर्ड यस विषयमा लागिपरेकाले छिटै नयाँ व्यवस्था आउने अपेक्षा गर्न सकिन्छ । छलफलमा ब्रोकरले आफ्नो सुझाव दिएको उनको भनाइ छ ।

प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएपछि यसले विशेष गरेर साना लगानीकर्ताहरूलाई थप प्रोत्साहन मिल्ने उनले बताए । ब्रोकरमार्फत मार्जिन लेण्डिङ सेवा शुरू भएमा बैङ्कमा कर्जा लिएर ब्रोकरमा कारोबार गर्न आउनुपर्ने जस्ता दोहोरो झन्झट हट्ने उनको भनाइ छ ।

‘शेयर खरीद र सापटीको काम ब्रोकरले गर्दा लगानीकर्ता झन्झटबाट मुक्त हुनेछन् भने समयको बचत तथा सहज हुनेछ,’ उनले भने, ‘यसबाहेक यस्तो व्यवस्थाले बजारलाई चलायमान बनाउँछ र तरलताको समस्यालाई केही कम गर्न सक्छ ।’ ममता थापा /काारोबारबाट

59e2c75dee43f.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको