Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीले पुनः खोल्यो ललिता निवास प्रकरणको फाइल: थप पाँच पक्राउ

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १५ : ५१ मा प्रकाशित

प्रहरीले पुनः खोल्यो ललिता निवास प्रकरणको फाइल: थप पाँच पक्राउ

ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई आज पक्राउ गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँबेर कडायतले पक्राउ पर्नेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपालीसहित धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की छन् । 

सिआइवीले कीर्ते गरेको कसुरमा उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ । सोही प्रकरणमा आज बिहान भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । गुरुङसँगै आज उक्त प्रकरणमा छ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीनसय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । पछिल्लो चरणमा भने सिआइवीले अनुसन्धान तीव्र पारेको थियो ।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ । सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत कीर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको