Like us!
Follow us!
Connect us!
Watch us!

आव २०७९/८० मा गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै

अर्थ संसार

विहीबार, १४ असार २०८०, १२ : ५२ मा प्रकाशित

आव २०७९/८० मा गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च भएको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७.५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

चालु आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा १७ अर्ब आठ करोड ९२ लाखमात्र बजेट खर्च भएको हो । असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी पुरानै समस्या हो । गण्डकीमा चालु आवको असारमा उल्लेख्यरूपमा खर्च बढेको छ । कार्यालयबाट एक दिनमै १० करोडसम्म निकासा भएको कार्यालयका लेखा अधिकृत लक्ष्मीकान्त शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार असारमा चालुगत खर्चभन्दा पुँजीगत खर्च बढ्ने गरेको छ । चालु वर्षका लागि विनियोजित बजेटमध्ये असार १२ गतेसम्म चालुतर्फ ६ अर्ब ८६ करोड २० लाख र पुँजीगततर्फ १० अर्ब २२ करोड ७१ लाख खर्च भएको तथ्याङ्क छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेशका ११ जिल्लामा अबको १८ दिनमा ९ अर्ब ८४ करोड २५ लाख अर्थात् ७० देखि ७५ प्रतिशत बजेट खर्च गर्ने अनुमान गरेको छ । 

सामान्यतः आर्थिक वर्षको बजेट २५ असारसम्म निकासा हुने चलन छ । केही समस्या भएमा निवेदनका आधारमा वा केन्द्रको मन्त्रिपरिषद्को निर्णयका आधारमा असार मसान्तसम्म रकम निकासा लिने पुरानै चलन हो । ‘हामीले अन्तिमसम्म ७० देखि ७५ प्रतिशतसम्म बजेट खर्च गर्न सकिन्छ कि भन्ने छ’, लेखा अधिकृत पौडेलले भने ।  

समग्रमा अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशको खर्च सन्तोषजनक रहेको उनको भनाइ छ । ‘बजेटको सिद्धान्तअनुुसार हाम्रो घाटा बजेट हो’, उनले भने, ‘हामीले यहाँ शतप्रतिशत खर्च गर्ने हो भने त हामी घाटामा गइन्छ, त्यसैले यो प्रतिशतको खर्च त्यति नराम्रो होइन ।’ सबैले पहिलो र दोस्रो चौमासिकमा खर्च नै नगर्ने र तेस्रो चौमासिकको पनि असारमै बजेट लिनुपर्छ भन्ने पुरानै प्रवृत्ति रहेको उनले सुनाए । 

बजेटमा देखिएको असारे विकास रोक्न कार्यालय, उपभोक्ता र निर्माण व्यावसायी मिलेर जानुपर्ने लेखा अधिकृत पौडेलको भनाइ थियो । “हाम्रोमा असारे विकास भन्ने शब्द धेरै चर्चामा छ, यसलाई न्यूनीकरण गर्न सबैले साथ दिन जरुरी छ”, उनले भने, ‘यसका लागि कार्यालय, उपभोक्ता र निर्माण व्यवसायीबीच समन्वय गरी समयअनुुुसार काम गर्ने÷गराउने गरे यो समस्यामा कमी आउँथ्यो होला ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको