नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी हाल मुलुककोे अर्थतन्त्रका अवस्थाबारे छलफल गरेका छन् । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको प्रतिनिधिमण्डलले स्वदेशी उत्पादनको प्रवर्द्धन तथा सरकारको राजस्व बढाउन चोरी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरेका हुन् ।
सीमा क्षेत्रमा हुने चोरी पैठारीले ठूलो मात्रामा राजस्व गुम्दै गएको र यसले स्वदेशी उद्योगीलाई समेत असर पारेको अग्रवालले बताए । त्यस्तै बजेटको सफल कार्यान्वयनका लागि समयमै पुँजीगत खर्च हुने वातावरण तयार गर्न पनि उनले प्रधानमन्त्री समक्ष आग्रह गरे । बजेट कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन अग्रवालले आग्रह गरे । बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेको उनको भनाइ छ ।
हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्सायी हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ परिसंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले आर्थिक तथा औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझावहरु प्राप्त भइरहेको बताउँदै अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसागको सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस