Like us!
Follow us!
Connect us!
Watch us!

राजसंस्थासम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन

अर्थ संसार

सोमबार, २५ असार २०८०, ०८ : ३८ मा प्रकाशित

राजसंस्थासम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन

राप्रपा नेपालले राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ । 

आज बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो । उक्त बैठकले उपाध्यक्ष प्राडा विष्णुबहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो । 

समितिको सदस्यमा केशवराज श्रेष्ठ, वसन्तमानसिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्यसचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहनुभएको सो पार्टीले जनाएको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको राप्रपा नेपालले जनाएको छ । आजकै बैठकले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धनका लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णय गरेको छ ।

यसैगरी पार्टीसँग आबद्ध भ्रातृ सङ्गठनहरू राष्ट्रिय खेलकुद सङ्गठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान सङ्गठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्यसचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम सङ्गठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकबाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।

साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० साल भदौको दोस्रो हप्ता काठमाडौँमा बोलाउने निर्णय गरिएको प्रवक्ता वसन्तमानसिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको