Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको नाममा साविकको युनियन लाइफका प्रमोटरले उडाए निर्देशिकाको खुलेआम धज्जी, किन दिइयो उन्मुक्ति ?

अर्थ संसार

बुधबार, २७ असार २०८०, १३ : ५५ मा प्रकाशित

हिमालयन लाइफको नाममा  साविकको युनियन लाइफका प्रमोटरले उडाए निर्देशिकाको खुलेआम धज्जी, किन दिइयो उन्मुक्ति ?

३ वटा कम्पनी १:१:१ अनुपातमा मर्ज भएर जन्मिएको नयाँ कम्पनी हो 'हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड' । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भएर यही वैशाख २६ गतेदेखि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू भएको थियो ।

आज हामी यहाँ साविकको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा केन्द्रित हुनेछौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७८ साल असार २४ गतेदेखि असार २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।  उक्त आईपीओको बाँडफाँड असार ३१ गते गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका थिए । 

वि.सं २०७८ साल साउन १७ गते, आइतबार युनियन लाइफको २ करोड १५ लाख कित्ता आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुन सक्ने गरी सूचिकृत भएको थियो । साउन १८ गते प्रतिकित्ता ३४२ रूपैयाँमा दोश्रो बजारमा कम्पनीको पहिलो कारोबार भएको थियो ।

यसरी कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएर कारोबार सुरू भएको २ वर्ष नपुग्दै कम्पनी मर्जरमा गयो ।

लकिङ अवधिमा सेयर परिवर्तन, करोडौँको सेयर बिक्री : निर्देशिकाको धज्जी उडाइयो

कानुन अनुसार कुनै पनि कम्पनीको सेयर बाँडफाँड भएको ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न पाइँदैन । ३ वर्षसम्म संस्थापक सेयरको लकिङ अवधि राखिनेछ ।

बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ अनुसारबीमकको संस्थापक सेयरधनीले बीमक दर्ता प्रमाणपत्र प्राप्त भएको मितिले कम्तीमा पाँच वर्षसम्म त्यस्तो सेयर बिक्री नामसारी गर्न, धितोबन्धक राखी ऋण लिन वा हक हस्तान्तरण गर्न वा सेयर समूह परिवर्तन गर्न गराउन पाउने छैनन् । तर, बीमकको सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न भई विशेष परिस्थिति श्रृजना हुन आएमा वा संस्थापक शेयरधनी संस्थालाई अन्य वित्तीय संस्थाले आफूमा गाभेमा वा प्राप्ति गरेमा वा शेयरधनीको मृत्यु भई हकवालामा नामसारी भइ जाने भएमा समितिको पूर्व स्वीकृति लिई नामसारी गर्न सक्नेछन् ।

निर्देशिका अनुसार मर्जरको सन्दर्भमा प्राधिकरणबाट स्वीकृति लिई नामसारी गर्न सक्नेछन् तर सेयर बिक्री गर्न भने पाइँदैन ।

No description available.

यता युनियन लाइफको कुरा गर्ने हो भने नियामकको स्वीकृति अनुसार यही वैशाख १० गते संस्थापक समूहको ४४ लाख ५१ हजार ४ सय २४ दशमलव ५० कित्ता सेयर सर्वसाधारण समूहमा परिवर्तन गरियो ।

नयाँ बनेको हिमालयन लाइफको पछिल्लो कारोबार नियाल्दा संस्थापक सेयरधनीले नियतवश सेयर परिवर्तन गराएर करोडौँको सेयर बेचेका छर्लङ्गै देख्न सकिन्छ । 

पछिल्ला केही साताको कम्पनीको फ्लोरसीट हेर्दा शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको करोडौँको सेयर बेचेका छन् । उनले २ साताको अवधिमा झण्डै २८ करोडको सेयर बेचेका छन् । अग्रवालसँग साविकको युनियन लाइफ इन्स्योरेन्सको १९ दशमलव ९३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँको संस्थापक सेयर रहेको थियो ।

नियामकको उन्मुक्ति

नामसारी गरे पनि बेच्न भने नपाइने सेयर बिक्री भइरहँदा पनि नियामकले भने उन्मुक्ति दिइरहेको छ । नियामकले नियम विपरित भएको कारोबार नदेखेको हो वा देखेर पनि आँखा चिम्लिएको हो यो नियामकलाई नै थाहा होला । तर यस्ता कारोबारले बजारलाई भने प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ र पारिरहेको छ पनि ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको