जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन् ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्कनेछन् ।
नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनेछन्। जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका सत्रमा छलफल हुने जनाइएको छ ।
त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइनेछन् । बैठकको अध्यक्षता भारतीय वित्तमन्त्री निर्मला सीतारमण र रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा. शक्तिकान्त दासले संयुक्तरुपमा गर्नेछन्।-रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस