Like us!
Follow us!
Connect us!
Watch us!

पोहोर साल मौद्रिक नीतिमार्फत लगानीकर्ता 'फकाएको' राष्ट्र बैंकले यसपाली के गर्ला ?

बसन्त पाण्डे

शनिबार, ०६ साउन २०८०, २० : ११ मा प्रकाशित

पोहोर साल मौद्रिक नीतिमार्फत लगानीकर्ता 'फकाएको' राष्ट्र बैंकले यसपाली के गर्ला ?

ठ्याक्कै १ वर्षअघि आजकै दिन राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो। त्यो दिन अर्थसंसारको आठौँ वार्षिकोत्सव पनि थियो। राष्ट्र बैंकले कस्तो मौद्रिक नीति ल्याउला भन्ने चासो सर्वत्र थियो। विशेषगरी सेयर बजारका सन्दर्भमा कस्तो नीति आउला, सेयर धितोकर्जाको ४/१२ करोड र १५०% जोखिमभारको नीतिमा केहि परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरामा सबैको विशेष चासो थियो। अर्थसंसारको वार्षिकोत्सव भएकाले केहि दिनअघि देखि नै हामी निकै व्यस्त थियौं। बजारमा मौद्रिक नीति यस्तो आउँछ, उस्तो आउँछ ; १२ करोडको सीमा हट्दै छ, जोखिम भार १००% मै झर्दैछ जस्ता हल्लाहरु फैलिएका थिए। सबैजना आशावादी थिए मौद्रिक नीतिप्रति। मौद्रिक नीति कस्तो आउला भन्ने बारेमा केहि लेख्नुपर्यो भन्ने मेसेजहरुले इनबक्स भरिएको अवस्था थियो।   
 
वार्षिकोत्सवको अवसरमा दिलशोभा श्रेष्ठले संचालन गरेको आमाघरमा जाने र अर्थसंसारका तर्फबाट केहि सहयोग गर्ने भन्ने कार्यक्रम थियो। सोहि दिन लगानीकर्ता छोटेलाल रौनियारकी धर्मपत्नी गायत्री म्यामको जन्मदिन परेको रहेछ। उहाँहरु पनि हामीसंग जोडिनुभयो। लगानीकर्ता डेनिस प्रजापति पनि जोडिनुभयो। १२ बजिसकेको थियो। हामी हतारमा थियौं। त्यहिबेला एउटा स्रोतबाट मलाई मेसेज आयो : 'राष्ट्र बैंकले सेयर लगानीकर्तालाई फकाउने गरी मौद्रिक नीति ल्याउँदैछ '। 

एउटा ड्राफ्ट त मैले तयार गरिसकेको थिएँ। मौद्रिक नीति यस्तो आउन सक्छ भन्ने हिसाबले। त्यो मेसेजले मलाई क्लियर बनाईदियो। 

नेप्से परिसूचक ३२२७ को बिन्दुबाट खसेर १८०७ मा आएर त्यतिबेला २०५० को आसपासमा थियो। बजार निकै खसिसकेको, राष्ट्र बैंकको नीतिकै कारण बजार खसेको भन्दै आन्दोलन र अनसनका कार्यक्रमहरु समेत भईसकेको, सेयर बजारप्रति नरम बन्नैपर्ने चौतर्फी दवावमा राष्ट्र बैंक थियो। यस्तो अवस्थामा राष्ट्र बैंक लगानीकर्ताहरुलाई फकाउन चाहन्थ्यो। सेयर बजारप्रति धेरै उदार नीति नलिने तर केहि गरेजस्तो देखाउने उसको रणनीति रहेको कुरा विश्वस्त स्रोतबाट आएको त्यो जानकारीले पुष्टि गर्यो।  

त्यसपछि अर्थसंसार विशेष अन्तर्गत हामीले एउटा फिचर स्टोरी प्रकाशित गर्यौं। हतार हतार प्रकाशन गरिएको सो स्टोरीको शिर्षक थियो : 'अरुलाई कस्दै लगानीकर्तालाई फकाउँदै राष्ट्र बैंक'।  

साँझ मौद्रिक नीति सार्वजनिक भयो। राष्ट्र बैंकले एउटा बैंकबाट ४ करोडमात्रै र समग्र बैंकिंग प्रणालीबाट १२ करोडसम्म मार्जिनकर्जा लिन पाईने व्यवस्थामा संशोधन गर्दै एउटै बैंकबाट १२ करोडसम्म लिन पाईने व्यवस्था ल्यायो।  २५ लाखसम्मको मार्जिन कर्जाको जोखिमभार १००% मा झारियो। उता ३% मा रहेको सीआरआर लाई भने ४% बनाउने नीति लियो। त्यस्तै नीतिगत दर र बैंकदर भने बढायो। यसरी राष्ट्र बैंकले बजारमा जाने पैसाको फ्लोलाई कस्दै सेयर लगानीकर्तालाई भने फकाउने नीति साच्चिकै लियो।  

आज अर्थसंसारको नवौं वार्षिकोत्सव। पोहोर आजकै दिन मौद्रिक नीति सार्वजनिक भएको थियो अहिले आउने हप्ता सार्वजनिक गर्ने योजना राष्ट्र बैंकले बनाएको छ। पोहोर २०५० को बिन्दुमा रहेको नेप्से परिसूचक अहिले २१६० को आसपासमा छ। यसबिचमा थुप्रै नयाँ कम्पनीहरु नेप्सेमा सुचिकृत भए। थुप्रै कम्पनीहरुको बोनस सेयर र हकप्रद सेयर समेत सुचिकृत भईसकेका छन्। यो अर्थमा बजार पोहोर सालको आजकै अवस्थामा छ भन्दा फरक नपर्ला। जसरी पोहोर यो बेला कस्तो मौद्रिक नीति आऊला भन्ने कौतुहलता थियो अहिले पनि ठ्याक्कै त्यस्तै छ। पोहोर सेयर लगानीकर्तालाई फकाएको राष्ट्र बैंक के यसपटक सेयर बजारप्रति उदार बन्ला त ? यो सर्वाधिक कौतुहलताको विषय बनेको छ।  

के गर्ला राष्ट्र बैंकले यसपटक ? 

पोहोर साल यतिबेला तरलता संकट चरम अवस्थामा थियो। अधिकांश बैंकहरुको सीडी रेसियो ९०% को आसपासमा थियो। ब्याजदर बढ्दो क्रममा थियो। राष्ट्र बैंकले बैंक रेट र पोलिसी रेट बढाईदिएपछि र सीआरआर ३% बाट बढाएर ४% पुर्याएपछि झन् ब्याजदर बढ्दै गयो। 
अहिले अवस्था अलि फरक छ। बैंकमा पैसा थुप्रिएको छ। अधिकांश बैंकहरु थप कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छन् तर कर्जाको माग छैन। राष्ट्र बैंकका गभर्नरले केहि दिनअघि अर्थसमितिले बोलाएको बैठकमा भनेका थिए : अहिले ब्याजदरको व्यवस्थापन गर्न निकै गाह्रो छ। निजि क्षेत्रमा कर्जा प्रवाह हुनसकेको छैन। हामीले बारम्बार ठूलो मात्रामा रिभर्स रिपो जारी गर्दा पनि अन्तरबैंकिंग ब्याजदर निकै न्यून बिन्दुमा आईरहेको छ।  

आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रमा खासै कर्जा प्रवाह हुन सकेन। निजी क्षेत्रमा जाने कर्जा बढाउनुपर्ने वाध्यता पनि राष्ट्र बैंकलाई छ। आम नागरिकको क्रयशक्ति एकदमै घटेको छ जसका कारण बजारमा माग छैन। डिमाण्ड साईडलाई बलियो बनाउनुपर्ने अवस्था पनि छ। सरकारले ६% को आर्थिक वृद्धिको लक्ष्य राखेको छ। त्यसलाई सहयोग हुने नीति लिनुपर्नेछ। फेरी यता मुद्रास्फीति ६.५% को बिन्दुभन्दा तल राख्नुपर्ने दवाव पनि छदै छ। ब्याजदरलाई अब थप बढ्न दिनुहुँदैन भन्ने अर्को ठूलो आवाज सडक र सदन सबैतिरबाट गुन्जीरहेकै छ। विदेशी मुद्राको संचिति व्हात्तै घटेर परेको प्रेसर राष्ट्र बैंकले विर्सिएको छैन। फेरी अर्कोतर्फ आयातमा प्रतिबन्ध लगाउँदा राजस्व आम्दानी स्वात्तै घटेर ऋणमाथि ऋण थप्न सरकार बाध्य भईरहेको तथ्य झन् खतरनाक छ। सेयर बजार घटेर न्यून बिन्दुमा आएको र घरजग्गाको कारोबार सुस्ताउँदा समग्र अर्थतन्त्रमै दवाव परेको र यी दुई क्षेत्रहरुमा कन्फ़िडेन्स बढाउनुपर्छ भन्ने माग समग्र निजी क्षेत्रको छ। यी सबै कुराहरुलाई समेटेर मुद्रास्फीतिलाई वाञ्छनिय सीमाभित्र राख्दै अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने चुनौती यतिबेला राष्ट्र बैंकसामु छ।  

'राष्ट्र बैंकले बुझेको कुरा के हो भने, यतिबेला गतिशील बन्दै गईरहेको सेयर बजारमा यदि केहि नीतिमात्रै परिवर्तन गरिदिने हो भने सेयर बजार चलायमान हुन्छ। बजार बूम हुन्छ। जस्तै सेयर धितोकर्जाको सिमालाई १२ करोडबाट केहि बढाईदिने, सेयर धितोकर्जाको जोखिमभारलाई १५०% बाट घटाईदिने हो भने बजार बढ्छ। राष्ट्र बैंकभित्रै पनि दुईवटा धारहरु छन्। राष्ट्र बैंकको उच्च व्यवस्थापनका केहि सदस्यहरु यतिबेला एक लेभलमा सेयर बजार बढ्दा राम्रै हुन्छ भन्ने पक्षमा छन् भने अर्काथरी सेयर बजारको बारेमा अब राष्ट्र बैंकले प्रत्यक्ष रुपमा केहि बोल्नुहुदैन भन्ने पक्षमा छन्। 'हामी नबोल्ने' भन्ने पक्षको धारणा के छ भने यतिबेला अन्य क्षेत्रमा अवसर छैन, सेयर बजारप्रति राष्ट्र बैंक नरम भईदियो भने बैंकिंग च्यानलको सबै पैसा सेयर बजारमा जान्छ, सेयर बजार बूम हुन्छ। सेयरमा पैसा कमाएपछि मान्छेहरुको क्रयशक्ति व्हात्तै बढ्छ। क्रयशक्ति धेरै बढ्यो भने वस्तु तथा सामानको माग धेरै बढ्छ। त्यसले आयातलाई प्रोत्साहित गर्छ र फेरी मुद्रा संचिति घट्छ।  यसरी हामी फेरी समस्याकै चक्रमा पर्छौं। त्यस्तै सेयर बजारप्रति राष्ट्र बैंक नरम बन्नुपर्छ भन्ने सदस्यहरुको धारणा चाहिँ अहिलेको अवस्थामा अन्य क्षेत्र चलायमान हुने अवस्था छैन। सेयर बजार बढ्यो भने ठूला व्यापारीहरुलाई सेयर बजारमा फसेको पैसा निकाल्ने वातावरण बन्छ। अनि त्यो पैसाले उनीहरुले बैंकको कर्जा तिर्छन, आफ्नो व्यापार, व्यवसाय, उद्योगमा सो पैसा लगाउँछन्, जसले अहिलेका समस्याहरु समाधान हुन्छ। अहिले बैंकले कर्जा प्रवाह गर्न नसकिरहेको अवस्थामा केहि पैसा सेयर बजारमा गएपनि के फरक पर्छ र भन्ने धारणा त्यो समूहको छ।', राष्ट्र बैंक स्रोत बताउँछ।  

'अब के गर्ने र कस्तो नीति लिने भन्ने गभर्नरकै हातमा छ। गभर्नर साब  सबैको कुरा सुनेजस्तो गर्ने र अन्त्यमा आफ्नै किसिमको निर्णय लिने प्रवित्तिको हुनुहुन्छ', स्रोतको दावी छ।  

राष्ट्र बैंक यतिबेला सेयर बजारप्रति लचिलो हुनुपर्ने धारणा निजी क्षेत्र, अर्थशास्त्री लगायत सबैको रहेको छ। तर गभर्नरले केहि समयअघि एक सार्वजनिक कार्यक्रममा अब मार्जिन कर्जा बैंकबाट होइन ब्रोकरबाट जानुपर्छ, त्यसको व्यवस्था गर्न राष्ट्र बैंकले सहयोग गर्छ भनिसकेका छन्। यसबाट सेयर धितोकर्जाको सिमामा केहि परिवर्तन गर्ने मनसाय उनको छैन भन्ने स्पष्ट हुन्छ। तर जोखिमभारको कुरामा भने ब्रोकरमार्फत मार्जिन कर्जा प्रवाह हुँदा पनि ब्रोकरहरुलाई फ़ाइनान्सिङ्ग गर्ने काम त फेरी पनि बैंकहरुकै हो। त्यसमा जोखिमभार तोक्ने दायित्व त राष्ट्र बैंककै हो। अहिले जम्मा १२ करोडको सिमा रहेका कारण केहि हदसम्म जोखिमभार घटाए पनि राम्रै हुन्छ, सेयर धितोकर्जा पनि केहि त बढोस् न भन्ने नीति राष्ट्र बैंकले लिनसक्ने देखिएको छ। ब्याजदर कोरिडोर लगायतका कुराहरुमा राष्ट्रबैंकले अहिले नै नीति परिवर्तन नगर्न सक्ने र केहि मेजर परिवर्तनहरु गर्नुपर्ने देखियो भने अर्धवार्षिक समिक्षामार्फत गर्नसक्ने सम्भावना प्रबल छ।  

हुन त यतिबेला सेयर बजारका लगानीकर्ताहरुले मौद्रिक नीतिबाट खासै अपेक्षा गरेको देखिदैन। यत्ति हो कि राष्ट्र बैंकले केहि राम्रो नगरेपनि नराम्रो नीति चाहिं केहि नलियोस्। राष्ट्र बैंक केहि नरम भईदियो भने त्यो लगानीकर्ताका लागि 'सरप्राइज' हुनेछ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको