Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर : चार कम्पनीका आवेदन खुल्ला छन्, भोलिबाट ​​थप एक खुल्ने

अर्थ संसार

आइतबार, १७ भदौ २०८०, ०७ : ५१ मा प्रकाशित

हकप्रद सेयर : चार कम्पनीका आवेदन खुल्ला छन्, भोलिबाट ​​थप एक खुल्ने

अहिले बजारमा एकै पटक ४ कम्पनीका हकप्रद खुलेका छन भने एक कम्पनीको हकप्रद भोलि अर्थात भाद्र १८ बाट खुला हुदैँछ ।  अहिले अरुण काबेली पावर कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड , अपि पावर कम्पनी लिमिटेड र मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद खुला रहेको छ।  तेस्तै भाद्र १८ देखि अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद पनि खुल्दै छ। 

यी हकप्रदको विस्तृत जानकारी :

अरुण काबेली पावर कम्पनी लिमिटेड (१:१)
अरुण काबेली पावर कम्पनी लिमिटेडको हकप्रद सेयर भदौ ११ गते देखि खुला रहेको छ। कम्पनीले आफ्नो चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको थियो। जस अनुसार अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २५ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २४  गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । भदौ ८ गतेबाट निष्कासन गरिएको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको हकप्रदको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्दै छ। हकप्रद सेयर निष्काशनबाट संकलन भएको रकममा ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि १ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋण आंशिक तिर्न र १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ।

मल्टीपर्पस फाइनान्स लिमिटेड (१:०.३५)
मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि ३५ प्रतिशतको हकप्रद सेयर निष्काशन खुला गरेको छ ।अर्थात फाइनान्सको १०० कित्ता सेयर भएका लगानीकर्ताले ३५ कित्ता सेयरका लागि आवेदन दिन पाउने छन्। फाइनान्सको अहिलेको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ। ३५ प्रतिशतले उठने १५ करोड ८२ लाख रुपैयाँ बाँडफाँट पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन  भएको हो।हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । त्यसैले, साउन ११  गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।भदौ १० गतेबाट निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।हकप्रद सेयर निष्काशनबाट संकलन भएको २ करोड रुपैयाँ तरलता कायम गर्न नेपाल राष्ट्र बैंकमा मौज्दात कायम गर्न, ३ करोड ८२ लाख रुपैयाँ कर्जा तथा लगानी प्रवाह गर्न, २ करोड रुपैयाँ शाखा विस्तार गर्न र बाँकी ८ करोड सरकारी ऋणपत्र खरिद गर्न प्रयोग गर्नेछ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (१:०.५०)
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुलागरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको हो।  ​हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर साउन २५ देखि भदौ १३ गतेसम्म आवेदन दिन खुला रहनेछ। यस हकप्रदको बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। हकप्रद निष्काशनलै इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले  वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण हुने २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजना प्रबद्र्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ। तेस्तै हाइड्रोपावरले वागमती प्रदेशको दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ८ र ९ बीच भएर बहने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप २०६९ माघ ३ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

अपि पावर कम्पनी लिमिटेड (१:०.४०)
अपि पावर कम्पनी लिमिटेडले चौथो पटक हकप्रद निस्काशन गरेको छ । यस पटक  अपिले  ४० प्रतिशत हकप्रद सेयर निष्कासन हो ।  हकप्रद सेयर निष्काशन साउन ३१ गते बाट कम्पनीले १ : ०.४० को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यसअघि अपिले १:०.४७ , १:०.२९ र १:०.३९ हकप्रद निस्कासन गरिसकेको छ। कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १–१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ।कम्पनीले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट सम्पूर्ण परीक्षण पूरा भई उत्पादन सुरु गरेको छ।कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।साउन ३१ गते, बुधबारबाट निष्कासन गरिएको उक्त हकप्रद सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन पाइनेछ । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।  कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड (१:१)
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर भदौ १८ गतेदेखि खुला हुने भएको छ। कम्पनीले  १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले १ : १ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे ।कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि साउन २६ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । भदौ १८ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन पाइनेछ ।कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा  सनराइज क्यापिटल लिमिटेड र नागरिक लगानी काेषलाई नियुक्त गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको