Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोलाको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

अर्थ संसार

विहीबार, १८ असोज २०८०, ०९ : ५२ मा प्रकाशित

माथिल्लो मैलुङ खोलाको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

आज असोज १८ गते देखि माथिल्लो मैलुङ खोला लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो ।

उक्त हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङस् नेपालले ‘केयर एनपी डबल बी’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मोडरेट रिस्क रहेको संकेत गर्दछ । कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको मैलुङ खोलामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

उक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ रहेको छ भने कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.८६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.२९ वर्ष रहेको छ ।

कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ ९६.१४ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज पनि ९६.१४ देखि २८८.४२ रुपैयाँसम्म हुनेछ । कम्पनीको अपरिष्कृत नेटवर्थ २०७९/८० मा ९३.८५ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८०/८१ मा ९५.८८, २०८१/८२ मा १०४.१५ तथा २०८२/८३ मा १०४.२० रहेको छ ।

कम्पनीका लगानीकर्ताले लाभांशका लागि भने कम्तिमा आव २०८१/८२ कुर्नुपर्नेछ । कम्पनीको २०७९/८०को अपरिष्कृत प्रतिसेयर आम्दानी २.१९ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा ०.४९, २०८१/८२ मा ८.२३ तथा २०८२/८३ मा १०.०४ रुपैयाँ रहेको छ ।

आयोजनाले विसं २०६९/९/२० गतेदेखि विद्युत उत्पादन इजाजतपत्र लिएकोमा उक्त इजाजत २१०७/११/२७ सम्म कायम रहनेछ । यस हिसाबले कम्पनीको विद्युत उत्पादन अनुमति २७ वर्ष ६ महिना बाकिँ रहेको छ । कम्पनीले माथिल्लो मैलुङ खोलाको क्यास्केड आयोजना १३ मेगावाट क्षमताको मध्य मैलुङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पनि प्राप्त गरिसकेको छ भने १७ मेगावाट क्षमताको माथिल्लो मैलुङ ‘बी’ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न विद्युत उत्पादन अनुमतिका लागि आवेदन दिइसकेको छ ।

यस आयोजनामा सानिमामाई हाइड्रोपावर लिमिटेडको ३१.६७ प्रतिशत, सानिमा हाइड्रोपावर लिमिटेडको २१.०७ प्रतिशत, मेल्निया पावर लिमिटेडको ९.८७ प्रतिशत र सानिमा बैंकको ५ प्रतिशत संस्थापक सेयर लगानी रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको