Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, ०९ : ५७ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

आइतबार फागुन १३ गते देखि सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले योजना प्रभावित, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणलाई निष्काशन खुला गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय अंकित ६० लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो । यसको ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयर बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा १३ बमोजिम बुक विल्डिङ्ग विधि मार्फत प्रथम चरणमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा नेपाल स्टक एक्सचेञ्ज लि.मा दर्ता (नविकरण समेत) भएका योग्य संस्थागत लगानीकर्ता कम्पनीहरुलाई बोलकबोल प्रणाली मार्फत बाँडफाँड गरिएको थियो । 

पहिलो चरणको सेयर बाँडफाँडमा योग्य संस्थागत लगानीकर्ताले ४०१ रुपैयाँको दरमा उक्त २४ कित्ता शेयर माग गरेपछि सोही मूल्य नै कट अफ मूल्य निर्धारण भएको थियो । निर्देशिकाको दफा (१४) मा सर्वसाधारणलाई धितोपत्र जारी गर्दा कट अफ मुल्यमा १० प्रतिशत छुट दिई निष्काशन गर्नुपर्ने व्यवस्था उल्लेख भए अनुसार कायम हुन आउने प्रति शेयर ३६०.९० रुपैयाँका दरमा सार्वजनिक निष्काशन गर्न लागिएको हो ।

संस्थागत लगानीकर्तालाई बाँडफाँड पछि बाकिँ ३६ लाख कित्ता साधारण शेयरमध्ये २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र कम्पनीको जारी पूँजीको २ प्रतिशत अर्थात नौ लाख तीस हजार कित्ता शेयर उद्योग तथा खानि उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

स्थानीयका लागि छुट्ट्याइएको २,४८,४७० कित्ता सेयरका लागि मात्र रितपूर्वक आवेदन प्राप्त भएकाले उक्त शेयरहरु माग गरे बमोजिम बाँडफाँड गरे पश्चात् बाँकी रहेको शेयर ६,८१,५३० कित्ता समेत सर्वसाधारणमा निष्काशन गरिने सेयर कित्तामा थप गरे पश्चात् ५ प्रतिशत अर्थात १,५४,२२७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुलाई र ५ प्रतिशत अर्थात १,५४,२२७ कित्ता साधारण सेयर कम्पनीका 
कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेका २७,७६,०७६ कित्ता सेयरहरु सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी इस्स्युअर रेटिङ ट्रीपल बि’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको समयमै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको रहेको संकेत गर्दछ । कम्पनीले पाल्पाको तिनाउँ गाउँपालिकामा ११.९४ वर्ग किलोमीटर क्षेत्रमा, गुल्मीको सुनपानीमा ९ वर्ग किलोमीटर क्षेत्रमा, पाल्पाकै निस्दी गाउँपालिकामा ५.९२९ वर्ग किलोमीटर क्षेत्रमा र धादिङ्ग जिल्ला बेनिघाट रोराङ गाउँपालिका स्थित कान्द्राङ्गगढीमा चुनढुङ्गा खानी उत्खनन अनुमति प्राप्त गरेको छ ।

कम्पनीले हाल रहेको ७५ प्रतिशत सिमेन्ट उत्पादन क्षमता आव २०८०/८१ मा बढाएर ८० र आव २०८१/८२ मा ८५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । यसैगरी क्लिंकर उत्पादन क्षमता हाल ८२ प्रतिशत रहेकोमा आव २०८०/८१ मा बढाएर ८६ र आव २०८१/८२ मा ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । कम्पनीले सिमेन्टको खाली बोरा, सिमेन्टको बोर्ड र आरएमसी प्लान्ट स्थापना गर्ने उद्देश्य पनि राखेको छ । कम्पनीले आयातमा हाल रहेको १० प्रतिशत हिस्सा २०८०/८१ मा बढाएर १५ र आव २०८१/८२ मा २० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।

कम्पनीले नागरिक लगानी कोष, ग्लोबल आएमई क्यापिटल, एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलसँग निष्कासन गर्न लागेको शतप्रतिशत सेयर प्रत्याभूति सेवा लिएको छ । अर्थात निष्कासित सेयर बिक्री नभएमा उल्लेखित कम्पनीले प्रत्याभूति गरेको शेयर ग्रहण गर्नुपर्नेछ । कम्पनीको २०७९/८० को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ १८५.३६ रुपैयाँ रहेको छ ।

कम्पनीको नेटवर्थ २०७९/८० मा १८५.३६ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८०/८१ मा २०७.२२ र २०८१/८२ मा २०४.३३ रहेको छ । कम्पनीको २०७९/८० को प्रतिसेयर आम्दानी ५.२८ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा १७.८२ र २०८१/८२ मा २२.११ रुपैयाँ रहेको छ । 

यस प्राथमिक निष्कासनको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आएमई क्यापिटल तथा सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । आइपिओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको