Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, ११ : ५२ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

शुक्रबार मङ्सिर ८ गते देखि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी इस्स्युअर रेटिङ डबल बि माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । मुक्तिनाथ बैंकको साझेदार रहेको यस कम्पनीले सहायक कम्पनीका रुपमा मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी बैंक, मुक्तिनाथ आइटेक लिमिटेड तथा मुक्तिनाथ ट्रेडिङ कम्पनी सञ्चालन गर्दै आएको छ ।

कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १४ लाख कित्ता साधारण निष्कासन गर्न लागेको हो । यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, तीन प्रतिशतले हुन आउने ४२ हजार कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ७० हजार कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । त्यसपछि बाकिँ रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणमा जारी गर्न लागिएको हो । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ ७६.८१ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज ७६.८१ देखि २३०.४३ रुपैयाँसम्म हुनेछ । अपरिष्कृत विवरण अनुसार कम्पनीको २०७९/८० को नेटवर्थ ९०.३२ रुपैयाँ रहेको छ । यसैगरी कम्पनीको प्रक्षेपित नेटवर्थ २०८०/८१ मा १०१.१८ र २०८१/८२ मा १०७.३९ रहेको छ । कम्पनीको २०७९/८०को प्रतिसेयर आम्दानी ३.४८ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा ८.७३ र २०८१/८२ मा १४.३० रुपैयाँ रहेको छ । 

सेयर निष्कासनबाट उठेको पैसामध्येको १० करोड रुपैयाँ कम्पनीले चितवन, काठमाडौं, पोखरा र स्याङ्जामा कृषि सम्बन्धि उद्योगहरु (सिड, फर्टिलाइजर, फुड उद्योग,  मेसिनरी, नर्सरी, पशु आहार इत्यादी) स्थापनाको लागि जग्गा खरिद, उपकरणहरु खरीद र संरचनाहरु निर्माणको लागि खर्च गर्ने जनाएको छ । यसैगरी दुई करोड रुपैयाँँ कृषि सामाग्रीहरुको भण्डारण केन्द्र (वेयरहाउस) को स्थापना र संचालनको लागि तथा अर्को दुई करोड रुपैयाँँ कृषि अनुसन्धान सम्बन्धि फार्म उत्कृष्टता केन्द्रको स्तरोन्नति र परीक्षण सम्बन्धी ल्याबको स्थापनाको लागि खर्च हुने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको