माछापुच्छ्रे बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डीमा असोज १८ गते साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारण सभाले सामान्य प्रस्तावतर्फ आर्थिक वर्ष २०७९ ८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।
यसैगरी बैंकको सहायक कम्पनीहरु “माछापुच्छ्रे क्यापिटल लिमिटेड” र “माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड” को आर्थिक वर्ष २०७९ / ८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्न निर्णय गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८० ८१ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐन २०६३ को दफा १११ (१) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (१) र ६३ (३) मा भएको व्यवस्था बमोजिम जि.पि राजवाहक एन्ड कम्पनीलाई प्रस्ताव बमोजिम रु २०,००,०००/- (मुल्य अभिबृद्धि कर तथा अन्य खर्च बाहेक) पारिश्रमिक दिने गरी आर्थिक वर्ष २०८० ८१ को लागि बैंकको बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि सर्वसम्मतिबाट पारित गरिएको छ । संचालक समितिले प्रस्ताव गरे बमोजिम रु.७,१८,००,०८९ (चुक्ता पूँजीको ०.७० प्रतिशत) नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्न स्वीकृत गर्ने निर्णय गरिएको छ ।
साधारणसभामा विशेष प्रस्तावतर्फ संचालक समितिले प्रस्ताव गरे बमोजिम रु. १,३६,४२,०१,६९२ (चुक्ता पूँजीको १३.३० प्रतिशत) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्रको दफा ५(ख) र (ग) संशोधन गर्ने निर्णय गरिएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्न / गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजिशन) गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कनको लागि मूल्याङ्कनकर्ता नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस