Like us!
Follow us!
Connect us!
Watch us!

यी शर्त पूरा भए बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर धितो राखेर ऋण लिन सकिने

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, २१ : ११ मा प्रकाशित

यी शर्त पूरा भए बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर धितो राखेर ऋण लिन सकिने

नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन २०८० जारी गरेको छ । बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि एकिकृत निर्देशन २०८० जारी गरेको हो । राष्ट्र बैंकले जारी निर्देशिका मार्फत बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह गर्ने सम्बन्धमा राष्ट्र बैंकले राखेका शर्तहरु पुरा गरे  बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह गर्न सकिने भनेको छ। 

यस्ता छन् शर्त :

(क) संस्थापक सेयर धितो राखी कर्जा प्रवाह गर्दा आईपर्ने जोखिम नियन्त्रण एवम् व्यवस्थापन गर्ने आवश्यक उपायहरु अवलम्बन गर्नु पर्नेछ ।

(ख)इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको १ प्रतिशत भन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक/संस्थापक समूहका सेयरधनीहरूले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशत भन्दा बढी सेयर धितो राखी कर्जा लिन पाउने छैनन् । धितो रोक्का गरी अभिलेख राख्ने बैंक वा वित्तीय संस्थाले यस व्यवस्थाको पालना हुने गरी मात्र धितो रोक्का राख्नुपर्नेछ ।

(ग) कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको २ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीले यस बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको सेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न सक्नेछन् ।

(घ) उपबुँदा (ग) अनुसारको स्वीकृति माग गर्दा जुन संस्थाको सेयर धितो राखिने हो सो संस्थाले निजको सेयर स्वामित्व तथा धितो रहे नरहेको विवरण समेत पेश गरी स्वीकृति माग गर्नु पर्नेछ ।

(ङ) संस्थापक सेयरको धितोमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि सुरक्षण बापत राखिने सेयरको मूल्याङ्कन गर्दा साधारण सेयरको पछिल्लो १८० कार्य दिनको औसत मूल्यको बढीमा ५० प्रतिशत मूल्य वा संस्थापक सेयरको अन्तिम कारोबारको मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा मूल्य कायम गर्नु पर्नेछ । यसरी कायम गरिएको मूल्यको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा दिन सकिने छ । एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्याङ्कन गरी सो को आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन । तर, बजार मूल्य कम भई कर्जा असुरक्षित भएको अवस्थामा थप सुरक्षणको व्यवस्था गर्नु पर्नेछ ।

(च) संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो सेयरलाई गैर बैंकिङ्ग सम्पत्ति (Non-Banking Asset) मा लैजान पाईने छैन र यसरी धितोबन्धक राखिएको संस्थापक सेयर भुक्तानी अवधि नाघेको ६ महिनाभित्र प्रचलित कानुन र यस बैंकको निर्देशनको अधीनमा रही बिक्री गरी सक्नु पर्नेछ ।

(छ)संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो कर्जाको भुक्तानी अवधि किटान गर्नु पर्नेछ र त्यस्तो अवधि एक वर्ष भन्दा बढी हुने छैन ।

(ज)संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाइने छैन तर, ०.५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले सेयर धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा पर्ने छैन ।

(झ) संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह गर्दा असल कर्जा बाहेक अन्य अवस्थामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।

(ञ) तोकिएको भुक्तानी अवधिमा कर्जा चुक्ता नगरेमा संस्थापक / सञ्चालकलाई कालोसूचीमा समावेश गर्नुपर्ने कारण सहित ३५ दिनको सूचना दिई तत्पश्चात ७ दिनभित्र अनिवार्य रुपमा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नु पर्नेछ । सो सम्बन्धी व्यवस्था कर्जा प्रवाह गर्दा नै ऋणीलाई कर्जा सम्झौता (Loan Deed) मा उल्लेख गर्नु पर्नेछ ।

(ट)माथि (क) देखि (ञ) सम्म उल्लिखित व्यवस्थाहरु बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कर्जा नीति / विनियममा स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको