Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले हटायो बैंक तथा वित्तीय संस्थाहरूको २० प्रतिशत लगानी बिक्री सीमा

अर्थ संसार

बुधबार, २२ असोज २०८२, २० : २९ मा प्रकाशित

राष्ट्र बैंकले हटायो बैंक तथा वित्तीय संस्थाहरूको २० प्रतिशत लगानी बिक्री सीमा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि लागू गरिएको प्राथमिक पूँजीको २० प्रतिशत बिक्री सीमा हटाउने निर्णय गरेको छ। राष्ट्र बैंकले असोज २०८२ मा जारी गरेको परिपत्र नं. ६ (क, ख, ग) मार्फत “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन/परिमार्जन गर्दै यो व्यवस्था पूर्ण रूपमा हटाएको हो।

पहिलेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीमध्ये एक आर्थिक वर्षमा अधिकतम प्राथमिक पूँजीको २० प्रतिशत बराबरको लगानी मात्र बिक्री गर्न पाउँथे। साथै, बिक्री गर्न सकिने लगानी पनि खरीद गरेको मितिले कम्तीमा एक वर्ष व्यतीत भएको हुनुपर्ने प्रावधान थियो।

तर, नयाँ संशोधनपछि अब यस्तो सीमा कायम रहने छैन। यस निर्णयसँगै बैंक तथा वित्तीय संस्थाहरूले बजार परिस्थिति र आफ्ना वित्तीय आवश्यकता अनुसार लगानी बिक्री गर्न सक्ने भएका छन्। तर सूचीकृत संगठित संस्थाको सेयर र डिबेञ्चर न्यूनतम ६ महिनाभन्दा बढी अवधिका लागि हुनु पर्नेछ। 

यसअघि यस्तो लगानीको न्यूनतम अवधि एक वर्ष तोकिएको थियो। राष्ट्र बैंकले उक्त अवधि घटाएर ६ महिना पुर्‍याएसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर र डिबेञ्चरमा तुलनात्मक रूपमा बढी लचिलोपन प्रदान गरेको छ। तर, निर्देशनमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि कुनै पनि किसिमको प्रबन्धमार्फत अल्पकालीन सेयर लगानी गर्न भने बैंक तथा वित्तीय संस्थाहरूलाई अनुमति हुनेछैन।

त्यसैगरी, धितोपत्र विनिमय बजारमा सूचीकृत नभएका संगठित संस्थामा गरिएको सेयर वा डिबञ्चर लगानी तीन वर्षभित्र सूचीकृत हुनुपर्नेछ। सो अवधिभित्र सूचीकृत नभएमा लगानी बराबरको रकम सञ्चित मुनाफाबाट खर्च गरी लगानी समायोजन कोषमा जम्मा गर्नुपर्ने व्यवस्था यथावत राखिएको छ। यस्तो कोषमा जम्मा भएको रकम सेयर वा डिबेञ्चर सूचीकृत नभएसम्म प्रयोग गर्न पाइने छैन।

तर, प्रचलित कानुनअनुसार सूचीकृत हुन नपर्ने संस्थामा इजाजतपत्रप्राप्त संस्थाको ५१ प्रतिशत वा सोभन्दा बढी लगानी रहेको अवस्थामा भने लगानी समायोजन कोष कायम गर्नुपर्ने छैन। साथै, कर्जा सूचना केन्द्र लिमिटेड, नेपाल क्लियरिङ हाउस, नेशनल बैंकिङ इन्स्टिच्युट, नेपाल स्टक एक्सचेन्ज र पूर्वाधार विकास बैंकमा गरिएको लगानीमा पनि यो व्यवस्था लागू हुने छैन।

यसबाहेक, नेपालमा भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानीमा प्रवर्द्धित Payment Switch सञ्चालन गर्ने कम्पनीमा गरिएको लगानीमा पनि लगानी समायोजन कोष कायम गर्न नपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको