टिट्वान्टी त्रिदेशीय क्रिकेट सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले सजिलै पराजित गरेको छ ।
मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङको निर्णय गरेको थियो । नेपालका करन केसीले टोलीलाई उत्कृष्ट सुरुवात दिलाउँदै इनिङको पहिलो बलमै हङकङका कप्तान निजाकत खानलाई बोल्ड आउट गराएका थिए । त्यसपछि इनिङ भरिनै नेपालले उत्कृष्ट बलिङ गर्दा हङकङ निर्धारित २० ओभर पनि नखेल्दै १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो । हङकङका लागि यसिम मुर्तजाले ३५ र जिसन अलिले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए । अविनाश बोहोरा र मौसम ढकालको भागमा पनि एक एक विकेट रह्यो । प्रतिउत्तरमा ९५ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १३.५ ओभरमै पूरा गर्यो ।
ब्याटिङतर्फ नेपालका आसिफ सेखले सर्वाधिक ४२ रन बनाउँदा रोहित पौडेलले २५ र गुल्सन झाले १४ रनको योगदान दिए । सिरिजको पहिलो खेलमा नेपालले युएईलाई हिजो सात विकेटले पराजित गरेको थियो ।
प्रतियोगितामा अब नेपालले आइतबार फेरि हङकङसँगै प्रतिस्पर्धा गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस