चौधरी ग्रुपले सीजी ब्रुअरी प्रालिमा कात्तिक १ गते मजदुरले बोनसको बिषयलाई लिएर गरेको अराजक व्यवहारप्रति व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौधरी ग्रुप कर्पोरेटले एक विज्ञप्ति जारी गर्दै देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनीहरू न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरी कार्यरत मजदुरहरूले अनधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि निन्दनीय भएको बताएको छ । गैरकानूनी क्रियाकलापको समाधान कानून बमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी गराएको छ ।
'सी. जी. बु्रअरीले आफ्ना मजदुर÷कर्मचारीका लागि उत्कृष्ट सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको सबैलाई विदितै छ । सोही कारण विगतमा समग्र औद्योगिक सम्वन्ध विग्रिएको अवस्थामा समेत सी. जी. इन्डष्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरवीचको सौहाद्रपूर्ण वातावरण देशकै उदाहरणका रुपमा लिने गरिएको छ । सी जी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर÷कर्मचारीलाई विगत बर्षहरुमा छ महिनासम्मको बोनस वितरण गरेको थियो । तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भिर नकारात्मक असर सी जी बु्रअरीमा परेको छ ।' विज्ञप्तिमा भनिएको छ,' अघिल्लो बर्षको तुलनामा सी जी बु्रअरीका उत्पादनको विक्रिमा २५ प्रतिशतले ह्रास आएको छ । यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदुर कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ । तर, कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रुपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनिय छ । आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू शैह्य नहुने ब्यहोरा स्पष्ट रुपमा जानकारी गराईन्छ ।'
चौधरी ग्रुपले भनेको छ देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमता ८० प्रतिशतसम्मले गिरावट आएको तथ्याङ्क सार्वजनिक भएकै छन् । यसले देशको बिग्रदो औद्योगिक अवस्थाको चित्र सबैको सामु ल्याइदिएको छ । यस पृष्ठभुमिमा देशमा औद्योगिक सम्वन्ध खराब अवस्थातर्फ उन्मुख रहेको स्पष्ट हुन्छ र भविष्यमा देशमा औद्योगिक उत्पादनमा योगदान पु¥याएका उद्यमीहरू थप समस्यामा पर्नेछन् भन्ने पनि देखिन्छ ।
यस्तो परिस्थितीप्रति गम्भिर बन्न, औद्योगिक सम्वन्धलाई सुमधुर कायम राख्न, उश्रृंखल गतिविधिहरूलाई कानूनी दायरामा ल्याउन र कठिन परिस्थितीमा पनि उत्पादनलाई निरन्तरता दिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याईरहेका उद्यमीहरूको मनस्थितीलाई थप कमजोर हुनबाट जोगाउनका लागि सम्वन्धित निकायहरू गम्भिर बन्न जरूरी पनि चौधरी ग्रुपले भनेको छ । त्यसका साथै हतोत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन पनि ग्रुपले सम्वन्धित निकायहरुलाई ध्यानाकर्षण गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस