Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्प प्रभावितलाई पोखरा महानगरले ५० लाख बराबरको सहायता दिने, सहायता सामाग्री बोकेको ट्रक त्यसतर्फ प्रस्थान

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १० : ५६ मा प्रकाशित

भूकम्प प्रभावितलाई पोखरा महानगरले ५० लाख बराबरको सहायता दिने, सहायता सामाग्री बोकेको ट्रक त्यसतर्फ प्रस्थान

पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गरेको छ ।

मानवीय सहायताका लागि उक्त सहयोग रकम घोषणा गरिएको महानगरका मेयर धनराज आचार्यले जनाएका छन् । “जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठुलो जनधनको क्षति पुगेको छ, प्रमुख आचार्यले भने, यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन, यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ, यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका लागि रु.५० लाख बराबरको सहायता घोषणा गर्दछु ।” प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि सहयोग गर्न प्रमुख आचार्यले आह्वान गरे । 

उनका अनुसार सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको १ महिनाको पारिश्रमिकबाट सोधभर्ना हुने गरी व्यवस्थापन गरिनेछ । साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने अपुग रकम महानगरपालिकाको विपद्कोषबाट व्यवस्थापन गरिनेछ । 

उनका अनुसार पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रक सहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधान र वडा नं.७ का वडा अध्यक्ष राम मोहन आचार्य नेतृत्वको टोलीमा महानगरको जनस्वास्थ्य अधिकृत फूलदेव तिमिल्सीना, मेडिकल अधिकृत डा.तिलकमान सिंह भण्डारी, जनस्वास्थ्य निरीक्षकहरू लोकराज आचार्य र धर्मराज चौलागाई र सिनियर अहेव कुश्मराज सुवेदी रहेका छन् । 

यस्तै नगर प्रहरी नायव निरीक्षक सन्त बहादुर के.सीको नेतृत्वमा नगर प्रहरी जवानहरू रामचन्द्र वि.क, भुवन थापा, कमल परियार, गणेश पौडेल, टिका प्रसाद रिमाल, गङ्गाप्रसाद आचार्य र नर बहादुर गायक उद्धारका कार्यका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीमा सञ्चारकर्मी विश्व सुवेदी र सरोज अधिकारी पनि सहभागी छन् । टोलीलाई महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीराज तिम्सिना, र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य लगायतले बिदाइ गरेका थिए । उपप्रमुख गुरुङले टोलीलाई जिम्मेवार पूर्वक प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा खट्न निर्देशन दिइन् । 

उद्धारका लागि आवश्यक सामाग्रीहरू लिएर गएको टोलीले स्थानीय अधिकारीहरूको समन्वयमा प्राथमिक उपचार सहित उद्धार र राहत व्यवस्थापनका कार्यहरू गर्नेछ । पहिलो चरणको राहत सामाग्रीमा लत्ताकपडा, ब्ल्याङ्केट, त्रिपाल र खाद्य सामाग्रीहरू लगायत पठाइएको महानगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिए ।

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको